नेम्वाङ आशिर्वाद माग्न गुरु कहाँ पुगे तर पहिलाको जस्तो सजिलो छैन « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

नेम्वाङ आशिर्वाद माग्न गुरु कहाँ पुगे तर पहिलाको जस्तो सजिलो छैन


यलम्वर टाइम्स
२६ आश्विन २०७९, बुधबार १३:३८

इलाम । हरेक निर्वाचनमा इलामलाई विशेष महत्वका साथ हेरिँदै आएको छ । इलामबाटै सुवासचन्द्र नेम्वाङ २ पटक सभामुख र झलनाथ खनाल प्रधानमन्त्री हुने मौका पाए ।

झलनाथ खनाल इलाम क्षेत्र नं. २ मा पर्ने इलाम नपा–१ साखेजुङका हुन् भने सोही नपा–७ सुन्तलाबारीका नेम्वाङ । खनाल २०४८ सालदेखि इलाम क्षेत्र नं १ बाट चुनाव लड्छन् ।

२०५६ सालदेखि संघीय निर्वाचनमा सहभागी नेम्वाङ अपराजित नेता हुन् । सूर्य चिह्नबाट विजयी हुँदै आएका २ हेभिवेटको नियति योपटक फेरिएको छ ।

नेम्वाङ सूर्य चिह्नबाटै चुनावी मैदानमा होमिदा खनाल भने कलम चिह्नका उम्मेदवार हुन् । एउटै मोर्चामा हिँडेका उनीहरू हाल प्रतिस्पर्धी दलबाट उम्मेदवार छन् ।

सदाझैँ निर्वाचन मनोनयनका लागि गृह जिल्लामा रहँदा सुवास नेम्वाङ योपटक पनि माङसेवुङ गापामा रहेको किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको आश्रममा पुगे । गुरुको आशीर्वाद थाप्दै उनी चुनाव केन्द्रित गतिविधिमा सक्रिय छन् ।

इलामको निर्वाचन क्षेत्र नं. २ को परिणाममा गुरुको आशीर्वादले अर्थ राख्ने विश्वास गरिन्छ । यो वर्ष मनोनयनको अघिल्लो दिन गुरु निजी आश्रम लारुम्बा पुगेर नेम्वाङले किरात धर्मगुरु गुरुआमा बसेको ठाउँ, पोक बसेको ठाउँ र किरातको पवित्र केन्द्र माङसेबुङ रहेको भन्दै फकाउन समेत भ्याए ।

एमालेबाट प्रदेशसभाका लागि इलाम क्षेत्र नं २ को (क) का उम्मेदवार गणेश बराल र क्षेत्र २ (ख) का उम्मेदवार प्रदेश १ का पूर्व भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री राम रानालाई साथ लिएर नेम्वाङ लारुम्बा पुगे । एमाले उम्मेदवारले माङगेन्ना शिर उठाए । माङगेन्ना गरे शिर उचो हुने र शिर नढल्ने धार्मिक विश्वास छ ।

सधैँका झैँ नेम्वाङले गुरुसामु महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा र धर्म निरपेक्ष घोषणा गर्न एमालेको ठूलो भूमिका रहेको चर्चा गरे ।

धर्म निरपेक्ष घोषणा गर्न आफ्नो अहम् भूमिका रहेको बताउँदै नेम्वाङले किरात मुन्दुम विश्वविद्यालय स्थापना गर्न पार्टीले खेल्ने भूमिकामा छलफल भइरहेको र यो विषयमा निर्वाचन घोषणापत्रमा समेत छापिएर आउने उनले दाबी गरे ।

अघिल्लो निर्वाचनमा सहजै विजयी नेम्वाङलाई योपटक केही सकस देखिन्छ । वाम लोकतान्त्रिक गठबन्धनको भन्दा कम मत भएका कारण नेम्वाङको जित्ने आधार भनेको गुरुको आशीर्वाद र लिम्बू जातिको मत नै हो । नेम्वाङ गुरु अनुयायीहरूको मतका कारण यसअघिका निर्वाचनमा सहजै विजयी भएका थिए ।

यो पटक पनि गुरुकृपा रहनेमा उनी ढुक्क छन् तर नेम्वाङका लागि यो चुनाव चुनौतीपूर्ण देखिन्छ । एकातिर गठबन्धनको भार र स्थानीय चुनावमा टिकट वितरणमा भेदभाव भएको भन्दै पार्टीभित्रै असन्तुष्टि बढेको छ ।

२३ वर्षसम्म इलाम–२ बाट जित्दै आए पनि विकास निर्माणको काम नगरेको भन्दै मतदातामा असन्तुष्टि छ ।

विशेषगरी राँके–रवि सडक नबनेकामा स्थानीय बासिन्दा असन्तुष्ट छन् । यो सडक केही समयअघि एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए । यो सडक इलामका ठूला ‘प्रोजेक्ट’मध्येको यो एक हो ।

उक्त सडक खण्ड धनकुटा, इलाम र पाँचथरको सिमानामा पनि पर्छ तर काम पूरा भएको छैन । अहिले बाटोको स्थिति झन् खराब छ । यसलाई लिएर मतदातामा असन्तुष्टि बढेको हो ।

गत असोज ११ गते इलाममा अगुवा कार्यकर्ता भेलामा नेम्वाङले गुनासो गरेका थिए । आफू २०५६ सालमा निर्वाचन लड्दा इलामको २ नम्बर क्षेत्रमा एउटा बिजुलीको बल्ब नभएको र अहिले साथीभाइले हिलोमा गाडी भासिएको फोटो छाप्ने गरेको उनको भनाइ थियो ।

उनले भने, ‘२०५६ सालदेखि अहिलेसम्म १० वर्ष जनयुद्ध कटाइदिनुस् । त्यो १० वर्ष गाउँघरका दिदीबहिनी दाजुभाइले तपाईंहरू नआउनुस्, हामी दुःख सहन्छौँ भन्नुभयो र हामी १० वर्ष गाउँमा जान सकेनौँ । अहिले उहाँहरू समेत हिलाम्मे बाटोमा गाडी डुबेको फोटो शेयर गरिरहनुभएको छ ।’

नेम्वाङको निर्वाचन क्षेत्रमा पर्ने राँके–रवि सडक खण्डमा असोज सकिनै लाग्दा पनि हिलाम्मे सडकबाट गाडी धकेल्दै दमकसम्म पुग्नुपर्ने बाध्यता छ । पुवाखोला तरेपछि छिटपुट क्षेत्रमा मात्र कालोपत्रे देखिन्छ ।

यस्तै लोकतान्त्रिक बाम एकताका कारण पनि यस पटक नेम्वाङलाई नतिजा निकाल्न गाह्रो हुनेछ । सानो दल भए पनि आफ्नो बलियो उपस्थित जनाउँदै आएको राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाको उम्मेद्वारीले पनि नेम्वाङलाई असहज हुने देखिन्छ ।

इलाम क्षेत्र नं. २ अन्तर्गत पर्ने माङ्सेबुङ गाउँपालिकामा जनमुक्तिको राम्रो पक्कड देखिन्छ । यसअघि भएको स्थानीय चुनावमा माङ्सेबुङ–५ मा जनमुक्तिको सेट नै विजयी बनेको थियो ।