एमालेको नक्कली राष्ट्रवादले गरिबी, सुकुम्बासी, निमुखाको समस्या हल नहुने नेता कार्कीको आरोप « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

एमालेको नक्कली राष्ट्रवादले गरिबी, सुकुम्बासी, निमुखाको समस्या हल नहुने नेता कार्कीको आरोप


यलम्वर टाइम्स
२७ आश्विन २०७९, बिहीबार १०:४०

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका केन्द्रीय सचिव राम कार्की (पार्थ) ले नेकपा एमालेले नक्कली राष्ट्रवाद जनतासामु बेचिरहेको आरोप लगाएका छन् ।

लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन परिचालन मूल समिति २ नं. क्षेत्रीय समितिको आयोजनामा बिर्तामोडमा सम्पन्न उम्मेद्वार परिचयात्मक कार्यक्रम एवम् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता कार्कीले एमालेको नक्कली राष्ट्रवादमा गरिबी, सुकुम्बासी, निमुखा जनताको समस्या सम्बोधन नहुने दावी गरे ।

‘भोकमरी, अपहेलना, हिंसाबाट मुक्ति, गरिबीको अन्त्य र स्वतन्त्रताको संरक्षण नै प्रजातन्त्र हो’–कार्कीले विचार नमिल्ने दलहरुबीच भएको गठबन्धनको पृष्ठभूमी औल्याउँदै भने, ‘जनआन्दोलनबाट प्राप्त उपलब्धी र संविधानलाई समाप्त पार्ने षडयन्त्र एमालेबाट भएपछि पार्टी एकता तोड्दै नेपाली कांग्रेससहितका राजनीतिक मुद्दा मिल्ने दलहरुबीच गठबन्धन भएको हो ।’

यी उपलब्धीहरुको रक्षा र प्रजातन्त्र फैलाउँदै गणतन्त्रको उपलब्धी घर–घरसम्म पु¥याउने मुख्य दायित्व पूरा गर्न निर्वाचनमार्फत गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउन कार्कीले जनतासमक्ष आग्रह गरे ।

नेपाली राजनीतिमा सि.के. प्रसाईको राजनीतिक आदर्शको समेत चर्चा गरेका कार्कीले भने, ‘२ सय बढी विगाह जग्गा र सम्पूर्ण सम्पत्तिको मोह नराखी सि.के. प्रसाईले प्रजातान्त्रिक समाजवादी विचारका प्रवर्तक वी.पी. कोइरालालाई सघाउनुभयो । अत्यन्तै सामान्य जीवनशैलीमा रमाउने सि.के.को आदर्शलाई पछ्याउन अहिलेका राजनीतिकर्मीहरु असफल छन् ।’

राजनीतिक दलका नेता कार्यकर्तामा विलाशी जीवनशैली र उच्च महत्वाकांक्षा देखिन थालेको उनको टिप्पणी थियो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले बहुमत प्राप्त गरेर पनि देशमा पाँचबर्ष शासन चलाउन नसक्ने र अस्थिरतालाई प्रश्रय दिनेका विरुद्ध गठबन्धन भएको बताउँदै अस्थिरताको अन्त्य जनमतमार्फत नै गर्न जनतालाई आह्वान गरिन् ।

झापा क्षेत्र नं. २ का प्रत्यासी उम्मेद्वार हरिकुमार रानाले राजनीतिक ब्यवस्था र विधि परिवर्तनका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्दै गरिबी, अभाव, महंगी नियन्त्रण, लोपोन्मुख एवम् अल्पसंख्यक वर्गको संरक्षण, संस्कार र संस्कृतिको संवद्र्धनलाई प्राथमिकतामा राखेर कार्य गर्ने प्रतिबद्धता जनाए ।

जनमतको सम्मान गर्दै यस क्षेत्रका जनताको शिर निहुरिने कुनै काम नगर्ने प्रतिबद्धता मन्तब्य राख्दै रानाले गठबन्धनका उम्मेद्वारलाई प्रतिनिधिसभा, प्रदेशसभा र जिल्ला एवम् देशभर जिताउन अपिल गरे ।

कार्यक्रममा झापा क्षेत्र नं.२ प्रदेश ‘क’ का उम्मेद्वार पुष्प पोखरेलले एमालेले जनआन्दोलनबाट प्राप्त उपलब्धीको निसानी संविधानलाई दरबारिया शक्तिलाई बुझाउने षडयन्त्र गरेपछि विद्रोह गर्नुपरेको धारणा राखे ।

झापा क्षेत्र नं.२ प्रदेश ‘ख’ का उम्मेद्वार खगेन्द्र मैनालीले सामाजिक रुपान्तरण र समृद्धिका मुद्दा सम्बोधन गर्न गठबन्धन दलले योग्य उम्मेद्वार उठाएको बताउँदै गठबन्धनका सबै उम्मेद्वारलाई जिताउन अपिल गरे ।

निर्वाचन परिचालन मूल समितिका संयोजक सुधिरकुमार शिवाकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा माओवादीका पोलिटब्युरो सदस्य धर्मशिला चापागाई, नेकपा एसका पोलिटब्युरो सदस्य भाष्कर काफ्ले लगायतले मन्तब्य राखे ।

मन्तब्य राख्ने अधिकांश बक्ताहरुले गठबन्धन दलबाट उठाइएका उम्मेद्वारहरु निष्कलंक, नैतिक र युवा जोशजाँगरले पूर्ण रहेको बताउँदै जिताएर जनसेवा गर्ने अवसर दिन जनतासमक्ष आह्वान गरेका थिए ।

निर्वाचन परिचालन मूल समितिका सहसंयोजक कृष्ण हुमागाईले स्वागत गरेको कार्यक्रममा तीर्थ सिग्देलले प्रचार–प्रचारको कार्यतालिका प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन सचिव सीपी कडरियाले गरेका थिए । निर्वाचन परिचालन मूल समितिले वडा एवम् टोल स्तरमा निर्वाचन प्रचार–प्रसारको कार्यकतालिका तय गरेको छ ।