जनमुक्तिले झापामा प्रचार, परिचालन र अनुगमन समिति बनायो « Yalambar Times
२१ बैशाख २०८१, शुक्रबार

जनमुक्तिले झापामा प्रचार, परिचालन र अनुगमन समिति बनायो


यलम्वर टाइम्स
२७ आश्विन २०७९, बिहीबार ११:४२

सुरुङ्गा । राष्ट्रिय जनमुक्ति पार्टीले झापामा एक हजार एक प्रचार समिति र प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन र अनुगमन समिति निर्माण गरेको छ ।

गठबन्धनसँगै एमाले इतर बीचको चुनावी युद्धलाई परास्त गर्न र जनताको घरआँगनमा पहिचान र अधिकारको मुद्दा पुर्याउन प्रचार समिति गठन गरिएको हो ।

प्रचार समितिको संयोजकमा सञ्चार राई रहेका छन् भने सहसंयोजकमा राज खम्बू रहेका छन् ।

विहीबार पार्टी कार्यालय सुरुङ्गामा पार्टीका महासचिव पदम जवेगुले नक्कली राष्ट्रवाद, नश्लीयत चरित्रको सत्ता सञ्चालकबाट देश नउठने अवस्थामा पुगेको हुँदा देशको रक्षा र जनताको सुरक्षामा जनमुक्ति जुटेको बताए ।

उनले अबको निर्वाचन भ्रष्टाचारी र पहिचान विरोधीलाई तह लगाउने अस्त्र भएको बताउँदै समग्र देशबासी र मुलुकको हितका लागि जनमुक्तिका उम्मेद्वार घर चिन्ह लिएर अगाडि बढेको बताए ।

पार्टी जिल्ला अध्यक्ष भवानी सेलिङको सभापतित्वमा भएको उम्मेद्वारसहितको भेलाले झापा जिल्लाभरि प्रचार समिति निर्माण गरेको सचिव पदम सुब्बाले जानकारी दिए ।

त्यसरी नै निर्वाचन परिचालन समिति पनि निर्माण भएको बताइएको छ । परिचालन समितिमा क्षेत्र नं. १ का उम्मेद्वार चित्रहाङ जवेगु संयोजक रहेका छन् भने देव योङ्या सहसंयोजक चुनिएका छन् ।

यसरी नै क्षेत्र नं. २ मा उम्मेद्वार पर्शुराम मगर संयोजक रहेका छन् भने खड्ग चेम्जोङ सहसंयोजक रहेका छन् ।

यसरी क्षेत्र नं. ३ मा उम्मेद्वार गजेन्द्र आङ्बोहाङ संयोजक र यामबहादुर लिम्बू सहसंयोजक रहेका छन् ।

त्यस्तै क्षेत्र नं. ४ मा जितहाङ ताप्मादेन संयोजक रहेका छन् भने सहसंयोजक दिलिप नेम्वाङ रहेका छन् ।

क्षेत्र नं. ५ मा उम्मेद्वार पदम जवेगु संयोजक रहेका छन् भने चन्द्रबहादुर जिमी निर्वाचन परिचालन समितिको सहसंयोजक रहेका छन् ।

बैठकले भवानी सेलिङको संयोजकत्वमा अनुगमन समिति समेत गठन गरेको छ । अनुगमन समितिमा संघीय सदस्य, प्रदेश पदाधिकारी र जिल्लाका पदाधिकारी रहेको पनि जानकारी दिएका छन् ।

भेलाले ५ सदस्य प्रतिवद्धता पत्र तयार गर्ने गरि प्रदेश सचिव कृष्णकुमार थेवेको संयोजकत्वमा एक समिति निर्माण गरेको छ ।

कार्यक्रममा समानुपातिकका उम्मेद्वार मीना पन्धाक, क्षेत्र नं. ३ का उम्मेद्वार गजेन्द्र आङ्बोहाङ, क्षेत्र नं. ४ का उम्मेद्वार विनोद ताप्मादेन, जिल्ला उपसचिव भुपाल राना, पार्वती माङ्मु, अर्जुनधाराका अध्यक्ष राज खम्बू, कनकाईका अध्यक्ष डगमाया मगरले चुनावी रणनीतिका विषयमा आ–आफ्नो विचार राखेका थिए ।