फाल्गुनन्द सभागृह नाम हटाएकोमा आपत्ति « Yalambar Times
८ जेष्ठ २०८१, मंगलवार

फाल्गुनन्द सभागृह नाम हटाएकोमा आपत्ति


यलम्वर टाइम्स
१७ कार्तिक २०७९, बिहीबार ११:१७

दमक । महागुरु फाल्गुनन्द सभागृहलाई हटाइ दमक सभागृह नामाकरण गरि काम अगाडि बढाएको भन्दै किरात धर्म तथा साहित्य उत्थान संघ केन्द्रीय समितिले दमक नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

२०७३ जेठ २८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको उक्त सभागृह पछिल्लो पटक दमक सभागृह भनी टेन्डर आह्वान गरि काम अगाडि बढाएकोमा साहित्य उत्थान संघले महान विभूति महागुरु फाल्गुनन्दको नामबाट शिलान्यास भएको सभागृहलाई नमेट्न ज्ञापनपत्र बुझाउँदै आग्रह गरेका छन् । ज्ञापनपत्र दमकका नगर प्रमुख रामकुमार थापालाई बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख थापाले विभूतिको नाममा शिलान्यास गरिएको कार्यलाई नाम परिवर्तन गर्नु सरासर गलत भएको बताउँदै यसलाई सच्याएर अगाडि बढाउने बताए ।

साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्र थेगिमका अनुसार नगर प्रमुख थापाले आफू निर्वाचित भएर आउनु अगाडि नै युवराज दाहालबाट नाम परिवर्तन गरि अगाडि बढाइएको हुनाले प्रक्रिया पुर्याएर फाल्गुनन्द सभागृहको नाम अगाडि बढाउने आवश्वास दिइएको छ ।

दमक–९ मा निर्माण हुँदै गरेको सभागृहमा नाम परिवर्तन हुनु धर्म गुरु आत्मानन्द लिङ्देन ज्यूको गम्भीर ध्यानाकर्षण हुनुका साथै विश्वभरि छरिएर रहेका महागुरु फाल्गुनन्दका भक्त अनुयायीहरुमा गहिरो भावनात्मक चोट पुगेको छ । यस निर्णय उपर हाम्रो घोर आपत्ति रहेको हुनाले नसच्याए यसमा पर्ने आपत्ति र परिणाम जिम्मेवार पक्षले लिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउँदा मोरङका रामभक्त कुरुम्बाङ, झापाका लक्ष्मी योङहाङ, सुनसरीका बुद्धि थाङ्देन लगायतको उपस्थिति रहेको थियो ।