अब कसको नेतृत्वमा बन्ला सरकार ? « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

अब कसको नेतृत्वमा बन्ला सरकार ?


यलम्वर टाइम्स
१६ मंसिर २०७९, शुक्रबार १०:३०

अर्जुनधारा । निर्वाचनको अन्तिम परिणाम आउनलाई केही दिनमात्र बाँकी रहँदा अब राष्ट्रको प्रधानमन्त्री को बन्ने हुन् भन्ने चर्चा चुलिएको छ ।

मंसीर ४ को परिणामले दलसँगसँगै स्वतन्त्र उम्मेद्वारहरुको पक्षमा पनि मत झरेको हुँदा बहुमत एक दललाई हुने सम्भावना टरेर गएको देखिन्छ । वर्षौदेखि राज गर्दै आएका ठूला दलहरुलाई सजग र सचेत दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी उदय भएका छन् ।

बहुमत प्राप्त कम्युनिष्ट घटक दललाई काम गर्ने प्रशस्त माध्यम हुँदाहुँदै बिचैमा दलमा देखिएको अहंकारवादका कारण तीन टुक्रा हुन पुग्यो ।

अन्तोतगत्वा नेकपा एमाले मंसीर ४ को चुनाव पछाडी प्रत्यक्षमा ५० सिट काट्न नसक्दा कार्यकर्तामा नैराश्यता पैदा भएको छ । कम्युनिष्ट भित्रकै अर्का दल नेकपा माओवादी र नेकपा समाजवादी पनि २० सिट कटाउन नसक्दा पुर्पुरोमा हात राखेर सोच्न बाहेक अर्को विकल्प देखिएन । यद्यपी तीन वटै कम्युनिष्ट घटकका सचेत कार्यकर्ताहरु निराश हुन बाहेक अर्को विकल्प रहेन ।

मलेसियामा ९० पार गरेका जोसिला नेता मोहम्मद माथिरले परिवर्तनको सन्देश यसरी दिन सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुँदाहुँदै पनि दलभित्र व्यक्ति हाबी भएपछि कम्युनिष्ट खुम्चिनु बाहेक अर्को नतिजा यो निर्वाचनले देखाउन सकेन ।

नेपाली कांग्रेसले नेतृत्व गरेको गठबन्धनभित्र पनि त्यस्तै तुसारापन देखापर्यो । इमान्दार कार्यकर्ता र इमान्दार नेतृत्व भएको ठाउँमा गठबन्धन सफल भएको निर्वाचनको परिणामले देखाएको छ । तर, गठबन्धनभित्रमै कार्यकर्ता तितरबितर भएको कारण धेरै ठाउँमा एमाले तथा स्वतन्त्र उम्मेद्वारले दाउ मारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले सबै दलहरुलाई सचेत गराउनका लागि निर्वाचनको परिणामबाट घण्टी बजाइसकेका छन् । उनी पनि राष्ट्रलाई हाँक्न सक्ने सन्देश परिणाम आउँदै गर्दा चितवनबाट कुर्लिएका छन् ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार, कमिशन तन्त्र र नातावादका कारण दलहरु बढारिदै गएको सन्देश दिँदै अग्रस्थानमा उभिएका छन् । हिन्दू राष्ट्र, समानुपातिक प्रतिनिधित्व उनको प्रस्तावले धेरै हिन्दू धर्मावलम्बीहरु लिङ्देनको भरोसामा देश गए उभो लाग्ने आशा लिएका छन् ।

पछिल्लो पुस्ताका युवा नेता गगन थापा पनि सबैलाई सन्तुलन मिलाएर राष्ट्र हाँक्ने विचार व्यक्त गर्दै आएका छन् । उनको यो विजयी राष्ट्र निर्माणका लागि हो भनी विजय गराएको उनका मतदाताहरुले पोखेका छन् ।

अब को हुने हुन् प्रधानमन्त्री ? नेपाली कांग्रेसको नेतृत्वमा भएको गठबन्धन कायम रहिरहने हो भने गठबन्धनभित्रैबाट प्रधानमन्त्री आउनमा प्रमुख शेरबहादुर देउवा देखिनेछन् । दोस्रो पुस्तामा जाने हो भने गगन थापाको नाम अगाडि छ ।

नेकपा एमाले, राप्रपा र जसपाको नेतृत्वबाट सांसद संख्या गठबन्धनभन्दा बढी देखियो भने प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली नै अग्रपंक्तिमा देखिन्छन् ।

समग्र नेपाली जनताको जनभावना र दक्षिणपन्थीको आशिर्वाद बर्सिने हो भने राष्ट्रिय स्वतन्त्र दलका अध्यक्ष रबि लामिछानेको नाम पनि आउन सक्छ । तर, नेकपा एमालेले रबि र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनलाई काखी न च्यापि अगाडि बढ्न सक्ने अवस्था देखिन्न ।

त्यसैले पनि राप्रपाका राजेन्द्र लिङ्देन राष्ट्र हाक्न सक्ने एउटा शक्ति भएको कारण उनको नाम पनि प्रधानमन्त्री हुनेमा सिधै अनुमान गर्न सकिनेछ ।

देश आर्थिक रुपमा अत्यन्तै दर्दनाक अवस्थामा पुगेको छ । महंगी र भ्रष्टाचारले देशलाई कंगाल बनाइरहेको अवस्थालाई उकास्न रास्वपा र राप्रपाको नारा मुख्य एजेण्डा रहेको छ । यसै एजेण्डालाई ति दुई दलले सदन सडकमा घन्काए जनताको साथ अझै रहने देखिन्छ ।