असहायहरुको गाँस, बासको लागि पहल गर्छुः सांसद मगर « Yalambar Times
१४ बैशाख २०८१, शुक्रबार

असहायहरुको गाँस, बासको लागि पहल गर्छुः सांसद मगर


यलम्वर टाइम्स
१० पुष २०७९, आईतवार १०:२१

सालबारी । गत मंसीर ४ गते सम्पन्न चुनावबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पहिलो झापा आएकी हजारौंकी आमा इन्दिरा राना मगरले पत्रकारहरुसँग भेटघाट गरेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेकी मगरले भेटघाटका क्रममा आफूलाई मत जाहेर गरेर सांसद बनाउनुहुने सम्पूर्ण नागरिकलाई धन्याद ज्ञापन गरेकी छिन् ।

कार्यक्रममा बोल्दै मगरले सामाजिक न्याय र मानव अधिकार रक्षाका लागि आफू राजनीतिकमा आएको बताइन् ।

उनले न्याय र मानवअधिकारका विषयमा देखिएका जटिल विषयवस्तुहरुमा सरकार समक्ष पटक–पटक लभी एडभोकेसी गर्दा पनि आवाज सुनुवाई नहुँदा संसदमै पुगेर कार्यान्वयनमा पहल गर्न राजनीतिमा होमिएको बताइन् ।

उनले अगाडि भनिन्, ‘सामाजिक कार्य पनि राजनीतिसँगै जोडिएको हुन्छ, अब राजनीतिसँगै सामाजिक कार्यलाई थप सशक्त भएर अगाडि बढाउनेछु ।’

बन्दी सहायता नेपालकी संस्थापक अध्यक्ष समेत रहेकी प्रतिनिधिसभा सदस्य मगरले असाहय बालबालिका तथा वृद्धहरुको गाँस, बास र कपासको ग्यारेन्टी राज्यले गर्नुपर्ने बताउँदै त्यसका लागि आफूले पहल गर्ने बताइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका झापा अध्यक्ष उमेश खरेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सञ्चारकर्मी रन्जित परियारले गरेका थिए ।