पहिचान पक्षधरहरु एकजुट हुन आह्वान « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

पहिचान पक्षधरहरु एकजुट हुन आह्वान


यलम्वर टाइम्स
२० पुष २०७९, बुधबार १३:२४

सुरुङ्गा । राष्ट्रिय जनमुक्ति पार्टीले पहिचान पक्षधरहरु एक जुट हुन आह्वान गर्दै माघ ६ गते पार्टीको ३२ औं स्थानीय दिवस अधिराज्यभरि मनाउने निर्णय गरेको छ ।

निर्वाचनपछि पार्टी संघीय परिषदको समिक्षात्मक बैठकमा अबको विकल्प पहिचान पक्षधरको एकता हो । आफू खुशी छुट्टाछुट्टै उभिएर पहिचानको गीत गाउने दिन सकिएको समेत निचोड निकालेको छ ।

पहिचानको आन्दोलनमा कुद्दा कुद्दै विकासमा समेत धक्का लागेको हुँदा जनताले पहिचान र विकासका कार्यहरु सँगसँगै लौजान सके जनताले विश्वास गर्ने थिए तर पहिचानभन्दै विकासलाई बेवास्ता गर्दा पहिचानवादीको हालत यो अवस्थामा आएको निचोड निकालिएको थियो ।

पार्टी केन्द्रीय कार्यालय महाराजगञ्जमा भएको बैठकमा अध्यक्ष केपी पालुङ्वाले एकताको लागि सबै दलसँग पार्टीले खुला राख्ने सन्देश दिँदै आउने माघ ६ गते पार्टी स्थापित भएका जिल्ला नगर, प्रदेश सबैले ३२ औं स्थापना दिवस मनाउन पनि आह्वान गरेका थिए ।

यसरी नै पार्टी जिल्ला समिति झापाले पनि सुरुङ्गामा समिक्षात्मक बैठक बस्दै एक अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा पार्टी महासचिव पदम जवेगुले संगठनलाई तिब्र नबनाएसम्म जनमुक्ति अगाडि बढ्न नसक्ने बताए ।

उपमहासचिव विष्णु थाङ्देनले नतिजाले पार्टीलाई धरासायी बनाएको हुँदा विकल्पसहित पहिचानवादीहरु जुट्नुपर्ने विचार राखे ।

केन्द्रीय सचिव गजेन्द्र आङ्बोहाङले दक्षिण र उत्तरी ध्रुबले पहिचान पक्षलाई पाखा लगाउन खेलेको भूमिका आदिवासी जनजातिका लागि राम्रो सन्देश नभएको बताए ।

पार्टी जिल्ला अध्यक्ष भवानी सेलिङको सभापतित्वमा भएको समिक्षात्मक कार्यक्रममा संघीय परिषद सदस्य तथा महिला नेतृ मीना पन्धाक, प्रदेश १ का अध्यक्ष पर्शुराम मगर, सचिव कृष्ण थेवे लगायतले आ–आफ्नो विचार राखेका थिए ।