प्रदेश १: मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त, माओवादी सरकारमा नजाने « Yalambar Times
१७ बैशाख २०८१, सोमबार

प्रदेश १: मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त, माओवादी सरकारमा नजाने


यलम्वर टाइम्स
२५ पुष २०७९, सोमबार ०८:५३

विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । 

प्रदेशसभाका लागि झापा ५ ‘क’ बाट निर्वाचित बनेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तिका लागि समर्थन दिएका थिए ।

प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुई तिहाइ सदस्य ६० जनाको समर्थनमा कार्कीको दावी पेश भएको थियो । सोहीअनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रदेशसभाका लागि एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ सांसद गरी ६० जना सांसदको समर्थन थियो ।

प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख परर्शुराम खापुङले आईतबार साँझ ५ बजेसम्मको समय दिएका थिए । मुख्यमन्त्री कार्कीको शपथ सोमबार हुने प्रमुखको कार्यालयले जनाएको छ ।

यसैबीच केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र प्रदेश १ सरकारमा तत्कालै सहभागी नहुने जनाएको छ ।

माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संघमा भएको निर्णयले प्रदेशमा पार्टी अपमानित भएको बताउँदै आलोपालोबारे लिखित सहमति नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताए । 

सरकारलाई दिएको समर्थन भने यथावत् रहने माओवादीले जनाएको छ । माओवादी केन्द्रले एमालेसँग आधा आधा कार्यकाल हुनुपर्ने बताउँदै आएको छ ।