पहिचानवादीहरुको घुर्मी सन्देश « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

पहिचानवादीहरुको घुर्मी सन्देश


यलम्वर टाइम्स
१६ मंसिर २०८०, शनिबार ०३:१९

उदयपुर । कोशी नाम खारेज गरी पहिचानको आधारमा नाम राख्न माग गर्दै आएको प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले उदयपुरको घुर्मीदेखि पाँचथर चिवाभन्ज्याङसम्म पहिचानवादी जागरण अभियान सुरु गरेको छ ।

‘घुर्मी–चिवाभन्ज्याङ पहिचानवादी जागरण–२०८०’ भनी नामाङ्कन गरिएको अभियान कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनलाई सशक्त बनाउनका लागि सुरु गरिएको हो ।

अभियान अनुरुप नै आगामी मंसिर २५ गते विभिन्न १८ स्थानमा सांस्कृतिक साहित्यिक कार्यक्रमसहितको कोणसभा गरिने छ भने मंसिर २६ र २७ गते मध्य पहाडी लोकमार्ग अन्तर्गत उदयपुरको घुर्मीदेखि खोटाङको दिक्तेल हुँदै चिवाभन्ज्याङसम्मको सडक बन्द गरिने घोषणा समेत गरेका छन् ।

पहिचान आन्दोलनको विरुद्धमा बोल्नेहरुलाई सो क्षेत्रमा कुनै पनि हालतमा हिँड्न नदिने पहिचानको लागि युवाका केन्द्रिय संयोजक तथा किराँत राई यायोक्खाका महासचिव समेत रहेका भिम राईले यलम्वर टाइम्सलाई बताए ।

राईका अनुसार किराँत प्रदेशमा नश्लियत चरित्र भएका जो कोही पहिचान विरोधी गतिविधि गर्छ भने त्यो अमान्य रहने बताए । ‘कुनै पार्टीलाई छेक्ने हाम्रो रणनीति होइन,’ राईले भने, ‘तर हाम्रो आन्दोलनको विरुद्धमा बोल्नेहरुलाई चाहिँ जुनसुकै पार्टीको भए पनि हामी छिर्न र हिंड्न दिँदैनौँ ।’

संघर्ष समितिले कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सांसदहरुलाई विरोध गर्ने पहिले नै घोषणा गरिएको थियो ।

संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा घुर्मीदेखि ओखलढुंगा हुँदै सोलुसम्मको सडकलाई ‘बलबहादुर राई मार्ग’ पनि घोषणा गरिएको थियो ।

पूर्वमाओवादी नेता गोपाल किराँतीले अनुहार र जात आदिवासी जनजाति भएर ब्राम्हण चरित्रको व्यहोरा देखाउँछ भने पहिचान पक्षलाई त्यो मान्य नहुने बताए ।

जनता समाजवादी पार्टीको किराँत राष्ट्रिय समिति अध्यक्ष रमेश राई, नेकपा एकीकृत समाजवादीका नेता कृष्ण चोङबाङ, किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, किराँत राई यायोक्खाका उपाध्यक्ष राकेश राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निकी शेर्पा, पशुपतिनाथ मन्दिरको पहिलो नेपाली भट्ट डा. विष्णु दाहाल लगायतले लोकतान्त्रिक गणतान्त्रिक देशमा पहिचानको उच्च सम्मानसँगै राष्ट्रले चाहेको मागलाई सम्बोधन नगरि हिंड्दा लोकतन्त्र सफल नहुने बताएका थिए ।

पहिलो पटक घुर्मीमा पहिचानवादीहरु उपस्थित हुन आउँदा साथमा चामल, सातु, मकै, भटमास, खानेकुरा बोकेर सहभागि भएका थिए ।