किराँत धर्मगुरु लिङदेनको ७० औं जन्मोत्सव सम्पन्न « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

किराँत धर्मगुरु लिङदेनको ७० औं जन्मोत्सव सम्पन्न


यलम्वर टाइम्स
२० मंसिर २०८०, बुधबार ०९:२९

माङसेबुङ । किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको ७० औं जन्मोत्सव विभिन्न कार्यक्रम साथ मनाईएको छ ।

किराँत धर्मावलम्बीहरुको आस्थाको केन्द्र इलामको माङसेबुङ गाउँपालिका–५ स्थित माङसेबुङमा विभिन्न कार्यक्रम गरी लिङदेनको ७० औं जन्मोत्सव मनाइएको हो ।

जन्मोत्सवको अवसरमा आत्मानन्द कप खेदकुद प्रतियोयोगिता, सावायेहाङ नोमाङगेन्ना सेवा, नाहेन लाक्मा र विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको गरिएको छ ।

८ देखि १७ मंसिरसम्म आत्मानन्द कप खेदकुद प्रतियोयोगिता संचालन गरिएको थियो । आत्मा–पवित्र खेलकुद विकास समितिको आयोजनामा संचालित खेलकूदमा फुटबल, भलिबल, म्याराथुन, धनुषाकाँण, छेलोलगायतका खेल सञ्चालन गरिएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुनद किरातीले धर्मगुरु लिङदेनको जन्मोत्सव समारोह उद्घाटन गरेका थिए ।

कार्यक्रममा सांस्कृतिक विभाग संयोजक किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोले स्वागत नृत्य प्रस्तुत गरेको थियो भने कार्यक्रममा मालाङ, थेबालाङ, धाननाच (याःलाङ), केलाङ (च्याब्रङ नाच), साकेला, येबालाङ, पालाम, ख्याली, हाक्पारे समेत प्रस्तुत गरिएको थियो ।

साँस्कृतिक कार्यक्रममा माङसेबुङ इक्लाको फाइनल अडिसन संचालन गरिएको थियो । माङसबेुङ इक्लाको उपाधि दिनेश योङहाङले जितेका छन् । उनले नगद ४० हजार रुपैयाँ प्राप्त गरेका छन् । कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुती रहेको थियो ।

किरात चोत्लुङ मुहिङगुम आङसी माङगेन्ना सेवा समितिको आयोजनामा अध्यक्ष केहरसिंह योङहाङको अध्यक्षतामा भएको थियो ।

माङसेबुङ गाउँपालिका–२ (साबिक इभाङ–५) चुक्चिनाम्बा अगौटेबारीमा २०११ मंसिर १८ गते जन्मिएका आत्मानन्द लिङदेनले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको अधुरो कार्यलाई पूर्णता दिने भन्दै धार्मिक, साँस्कृतिक तथा सामाजिक रुपान्तरणमा अभियान चलाइरहेका छन् ।

उनलाई सत्य, शान्ति र अहिंसाका उपासकका रुपमा किरात धर्मावलम्बीहरुले मान्ने गरेका छन् ।