माङसेबुङलाई लुम्बिनी जस्तै बनाउन सकिन्छः मन्त्री किराँती « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

माङसेबुङलाई लुम्बिनी जस्तै बनाउन सकिन्छः मन्त्री किराँती


यलम्वर टाइम्स
२० मंसिर २०८०, बुधबार ०९:३७

माङसेबुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुनद किराँतीले किराँत धर्मावलम्बीहरुको पवित्र स्थल माङसेबुङलाई गौतम बुद्धको जन्मस्थल लुम्बिनी जस्तै सांस्कृतिक पर्यटकीय क्षेत्र बनाउन सकिने बताएका छन् ।

गुरु आत्मानन्द लिङ्देनको ७० औं जन्मोत्सवको अवसरमा माङसेबुङ पुगेका मन्त्री किराँतीले शुभकामना दिदैं माङको बास भएको यस क्षेत्र धार्मिक पर्यटकीयस्थलको रुपमा विकास हुँदै आएको बताउँदै लुम्बिनी जस्तै बनाउन सकिने सम्भावना रहेको बताए ।

उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका मन्त्री किराँतीले नेपाली माटो अनुसारको पर्यटन विकासमा जोड दिए ।

‘नेपाल धार्मिक र सांस्कृतिक पर्यटनको दृष्टिले विशिष्ट छ । विशिष्टताको आधारमा पर्यटन विकास गर्नुपर्छ’, उनले भने, ‘माङसेबुङ नेपालको एकमात्र शाकाहारी क्षेत्र हो । यसलाई शाकाहारी क्षेत्रको रुपमा पर्यटन प्रवर्द्धन गर्नसके देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउन सकिन्छ ।’

माङसेबुङवासीले पेश गरेको मागपत्रलाई सम्बोधन गर्दै मन्त्री किराँतीले माङसेबुङ क्षेत्रलाई सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सरकारका तर्फबाट प्रयास गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा शुभकामना आदानप्रदान, धर्मगुरुद्वारा प्रवचन तथा साँस्कृतिक कार्यक्रम गरिएको थियो ।