मदनपुरमा पौष ८ गतेदेखि १० गतेसम्म चासोक तङ्नाम भव्य मनाइने « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

मदनपुरमा पौष ८ गतेदेखि १० गतेसम्म चासोक तङ्नाम भव्य मनाइने


यलम्वर टाइम्स
७ पुष २०८०, शनिबार ०५:१७

अर्जुनधारा । अर्जुनधारामा यस वर्ष पनि चासोक तङ्नाम (उभौली पर्व) भव्य रुपमा मनाइने भएको छ ।

अर्जुनधारा नगर क्षेत्रका किराँत समुदायले राष्ट्रिय चाडको रुपमा मनाउँदै आएको चासोक तङनाम तीन दिने महोत्सवको रुपमा भव्य मनाउन लागिएको हो ।

चासोक तङनाम (उधौली पर्व) व्यवस्थापन समिति अर्जुनधाराको बैठकले पौष ८ गतेदेखि १० गतेसम्म वडा नम्बर १ स्थित मदनपुर खेलमैदानमा पूजाआजा, खेलकुद तथा सांस्कृतिक झाँकीसहित चासोक तङनाम मनाउने तयारी गरेको हो ।

चासोक तङ्नामलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमिति समेत निर्माण गरिएको छ । आयोजक समितिको बैठकले राजेश जवेगुको संयोजकत्वमा आर्थिक संकलन उपसमिति, लक्ष्मीप्रसाद इङनामको संयोजकत्वमा पूजा सञ्चालन समिति, मोहन सुब्बाको संयोजकत्वमा मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन उपसमिति निर्माण गरिएको छ भने अतिथि सत्कार तथा खाद्यान्न व्यवस्थापन समितिको संयोजकमा हाङसुरुम्बा रहेका छन् ।

सदा २ दिनमा कार्यक्रम सम्पन्न गरे पनि यस वर्ष थप आकर्षक कार्यक्रमहरु गर्दै चासोकलाई भव्य रुपमा मनाउन लागिएको आयोजक समितिले जनाएको छ ।

समितिका सचिव खगेन्द्र लिङ्देनका अनुसार पहिलो दिन मंसीर ८ गते बिहान टाङटिङ खोलामा सम्पूर्ण किराँतीहरु भेला भई सामूहिक रुपमा गालीश्राप बगाउने पूजाआजाको तयारी गरिएको छ भने दिउँसो मौलिक सांस्कृतिक विषयमा माध्यमिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको छ ।

यस्तै दोस्रो दिन ९ गते बिहान मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगिता, अपराह्न ४ बजेपछि धान नाच, माङलाङ, केलाङ, साकेलासहित सांस्कृतिक कार्यक्रम र तेस्रो दिन १० गते आदिवासी जनजातिको सांस्कृतिक धरोहरको रुपमा रहेको जातीय झाँकीहरुको प्रदर्शन, मौलिक खेलकुद तथा पुरस्कार वितरण र शुभकामना आदान प्रदानको कार्यक्रम राखिएको समितिका अध्यक्ष राजेश जबेगुले बताए ।

उनका अनुसार कार्यक्रम अवधिभर जातीय परिकारहरु याङबेन, वाचिपा, ढिडोलगायतका स्टलहरु रहने छ । समितिका अध्यक्ष जवेगुको अध्यक्षतामा सम्पन्न बैठकमा वडा नं. १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, पदम कन्दङ्वा, किरात राई यायोक्खा अर्जुनधाराका अध्यक्ष विजय राई लगायतको उपस्थिति रहेको थियो ।

यसरी नै झापाको शिवसताक्षीमा पनि चासोक तङ्नाम भव्यताका साथ मनाइने भएको छ । किराँत थाक्थुङ चुम्लुङ शिवसताक्षी नगरपालिका वडा नं. १, २, ३ र ८ नम्बरकोे संयुक्त आयोजनामा फुलबारी खेल मैदानमा चासोक तङ्नाम पर्व मनाइने जनाइएको छ । मंसीर ५ गतेबाट ७ दिनसम्म चासोक तङ्नाम पर्व सहित सांस्कृतिक मेलाको समेत आयोजना गरिएको कार्यक्रम संयोजक शिव शेर्माले जानकारी दिए ।

उनले सँधै झै यस वर्ष अलि बृहत रुपमा कार्यक्रमको आयोजना गरिएको बताए । सांस्कृति कार्यक्रममा लिम्बु जातिका भेषभुषा प्रदर्शनी, जातिय नृत्य, स्थानीय कलाकार र राष्ट्रिय स्तरका कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।

त्यस्तै कायक्रम सम्पन्न गर्न १२ लाख लाग्ने अनुमान गरिएको आयोजक समितिका सचिव दुर्गा चेम्जोङ्गले जानकारी दिए । स्थानीय संघ संस्था र सहयोगी दाताहरुको रकमबाट कार्यक्रम सम्पन्न गर्ने उनले बताए । कार्यक्रमबाट संकलिन रकमबाट चासोक पुजा गर्ने स्थानलाई व्यवस्थित गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।