बुद्धशान्तिमा साकेला थान उद्घाटन गर्दै उधौली पर्व सम्पन्न « Yalambar Times
१२ बैशाख २०८१, बुधबार

बुद्धशान्तिमा साकेला थान उद्घाटन गर्दै उधौली पर्व सम्पन्न


यलम्वर टाइम्स
११ पुष २०८०, बुधबार ११:३४

बुधबारे । किरात राई यायोक्खा बुद्धशान्तिले साकेला थान उद्घाटन गर्दै उधौली पर्व धुमधामसँग मनाएको छ ।

बुद्धशान्ति वडा नम्बर १, २ र ३ यायोक्खा संयुक्त समितिले साकेला थान उद्घाटनसँगै पितृलाई सम्झदै उधौली पर्व मनाएको हो ।

यायोक्खा अध्यक्ष हरि राईको सभापत्तित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि किरात राई यायोक्खा जिल्ला सदस्य गौरीमान चाम्लिङ राईको रहेका थिए ।

प्रमुख अतिथि चाम्लिङ राईले आफ्नो संस्कार संस्कृतिको जर्गेना गर्दै दरसन्तानलाई हस्तान्तरण गर्दै जानु दायित्व भएको बताए । उनले वर्तमान समयमा आधुनिकताको नाममा मौलिक परम्परा हराउँदै गईरहेको बताउँदै आफ्नो संस्कृति, सभ्यताको संरक्षण गर्नु र विकास गर्दै जानु प्रत्येक किराँतीको कर्तव्य भएको बताए ।

सञ्चारकर्मी भारती राईले अन्नबाली पाकेपछि आफ्नो इष्टदेवलाई चढाउँदै खानको लागि अनुमति माग्न र पाकेको बाली भित्र्याउँदाको खुशीयालीमा पितृ पुकार्दै साकेला नाचेर उधौली पर्व मनाउने परम्परा रहीआएको बताइन् ।

कार्यक्रममा बुद्धशान्तिमा वडा नं. ३ का वडा सदस्य तिलक रिजाल, आदर्श सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष खगेन्द्र आचार्य, बुद्धशान्ति ४ प्रारम्भीक समितिका प्रिजल राई, अर्जुनधारा नगर समितिका सल्लाहकार शिबकुमार राई लगायतले उधौली पर्वको शुभकामना दिएका थिए ।

सयुक्त समितिका उपाध्यक्ष युवराज राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका सचिव पदम राईले गरेका थिए ।

यस्तै अर्जुनधारा–१ स्थित मदनपुर खेलमैदानमा पनि चासोक तङ्नाम (उभौली पर्व) विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ ।

तीन दिनसम्म भएको चासोक विशेष कार्यक्रममा पहिलो दिन किरात संस्कृति सम्बन्धि नगरस्तरीय मावि हाजिरीजवाफ प्रतियोगिता, दोस्रो दिन भेट्रान फुटबल प्रतियोगिता र अन्तिम दिन विविध सांगीतक कार्यक्रम गरिएको खगेन्द्र लिङ्देनले बताए ।