पहिचानवादीहरुको मोर्चाको भेलाले उपेन्द्र र अशोकलाई नस्वीकार्ने « Yalambar Times
१२ असार २०८१, मंगलवार

पहिचानवादीहरुको मोर्चाको भेलाले उपेन्द्र र अशोकलाई नस्वीकार्ने


यलम्वर टाइम्स
३० जेष्ठ २०८१, बुधबार १३:०८

चारआली । झापाको चारआलीमा भएको पहिचानवादीहरुको मोर्चाको भेलाले उपेन्द्र र अशोक राईको नेतृत्वबाट आदिवासी जनजातिले पहिचान प्राप्त गर्न नसक्ने निष्कर्ष निकालेका छन् ।

कार्यक्रममा पहिचानवादी नेता तथा संघीय समाजवादी नेपालका केन्द्रीय सदस्य नित्यानन्द ताजपुरीयाले यतिका वर्ष उपेन्द्र र अशोक राईले आदिवासी जनजातिहरुलाई अलमलाएर दुःख दिएको हुँदा अब पहिचानवादीको मोर्चाको छुट्टै राजनीतिक संगठन आवश्यक भएको बताए ।

पहिचानवादी मोर्चाका नेता गंगा शेर्पा राईले संघीय समाजवादी नेपालमा हामी आवद्ध भएर ठूला नेताहरुmलाई विश्वास गरेको कारण हरेक क्षेत्रमा हामी पछि परेको निष्कर्ष त्यस दलसँग आवद्ध पहिचानवादी बुद्धिजीविहरुलाई ठहर्याएको हुँदा छुट्टै पहिचानवादी दलको आवश्यक भएको जोड दिए ।

कार्यक्रममा पहिचानवादी मोर्चाका केन्द्रीय नेता केदार धिमालले हामीसँग जनमुक्ति, कुमार लिङ्देन आवद्ध पार्टी, सञ्जुहाङ सम्बद्ध कार्यकर्ता र अन्य ठूला दलका पहिचानवादी नेताहरु बीच छलफल भइरहेको बताए ।

नेता धिमालले छिट्टै पहिचानवादी दलको आवश्यकता र राजनीतिक घोषणापत्र कार्यकर्ताहरुमाझ ल्याउने बताए ।

कालीबहादुर खेवाङको सभापतित्वमा भएको कार्यक्रममा भरतकुमार श्रेष्ठ, सर्मिला आङ्दाम्बे, बुद्धिजीवि देशु वनेम, टेकबहादुर खजुम, पत्रकार दिपीन राई लगायतले अबको पहिचानवादी दल झुण्डमा मात्र परिणत नभइ समग्र आदिवासीहरुको मुटु बनेर आउनुपर्ने बताए ।

कार्यक्रममा पुष्पा बोखिम, बिरेन मेचे, कोपिला लावती, जीतबहादुर राई, रत्न श्रेष्ठ, कर्ण राजवंशी लगायतले विभिन्न सुझाव राखेका थिए ।