अर्जुनधाराको बजेट ८५ करोड ५९ लाख विनियोजन « Yalambar Times
१३ असार २०८१, बुधबार

अर्जुनधाराको बजेट ८५ करोड ५९ लाख विनियोजन


यलम्वर टाइम्स
१२ असार २०८१, मंगलवार ०८:५०

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाको १५ औं नियमित अधिवेशनमा उपप्रमुख खड्गमाया पराजुलीले अगामी आर्थिक वर्ष २०८१–८२ का लागि ८५ करोड ५९ लाख १० हजार बराबरको बजेट प्रस्तुत गरेकी छिन् ।

सोमबारदेखि सुरु भएको नगरसभाको अधिवेशनमा उपप्रमुख पराजुलीले आर्थिक वर्ष ०८१–८२ को वार्षिक बजेट, नीति तथा कार्यक्रमका बारेमा जानकारी गराउँदै सो बजेट प्रस्तुत गरेकी हुन् ।

उनले समपुरक कोषका लागि रु २ करोड ५० लाख, साझेदारी कार्यक्रमका लागि एक करोड ८० लाख र वडा समितिले छनौट गरेका वडास्तरीय कार्यक्रमका लागि रु ९ करोड ९० लाख विनियोजन गरिएको बताइन् ।

वडालाई विनियोजन गरिएको बजेट भाग गरी हेर्ने हो भने प्रत्येक वडामा आगामी आर्थिक वर्षका लागि रु. ९० लाख रुपैयाँ पर्न आउँछ ।

त्यस्तै समपुरक कोष, साझेदारी कोष, प्रस्तावनामा आधारित कार्यक्रम, विपद् व्यवस्थापन कोष, संघसंस्था प्रवद्र्धन कार्यक्रम तथा जहाँ अभर त्यहा नगर कार्यक्रम सञ्चालनका लागि रु २ करोड १५ लाख विनियोजना गरिएको छ ।

शिक्षा, स्वास्थ्य, आयुर्वेद, सामाजिक विकासका अन्य क्षेत्रहरुमा कार्यक्रम सञ्चालनका लागि रु ५ करोड ९३ लाख, आर्थिक विकासका क्षेत्रहरु कृषि, पशुपाल तथा पर्यटन क्षेत्रको विकासका लागि रु २ करोड ५ लाख, वन, वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रमका लागि रु एक करोड ५० लाख, सुशासन तथा संस्थागत विकासका लागि रु ७० लाख र भूमि व्यवस्थापन सम्बन्धि कार्यक्रमका लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सभाले नगरपालिकाको आन्तरिक प्रशासनिक खर्च तथा सेवा व्यवस्थापनका लागि भने रु १२ करोड ५५ लाख विनियोजन गरिएको छ ।

उपप्रमुख पराजुलीद्वारा प्रस्तुत बजेटको स्रोत व्यवस्थापनको लागि नेपाल सरकारबाट सर्शत कार्यक्रम वापत रु ३८ करोड १२ लाख ८० हजार प्राप्त हुने उल्लेख छ ।

यस्तै वित्तीय हस्तान्तरण अन्तर्गत रु १७ करोड ५ लाख, विशेष अनुदानतर्फ ७० लाख, समपुरक अनुदानतर्फ रु एक करोड ४० लाख र राजश्व बाँडफाँड वापत रु १२ करोड ९५ लाख प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण स्वरुप रु एक करोड ९ लाख १८ हजार, सवारी कर बाँडफाँड वापत रु एक करोड ६६ लाख ५० हजार, मालपोत रजिष्टे«शन बाँडफाँड वापत रु ४ करोड ५० लाख प्राप्त हुने अनुमान छ ।

सर्शत अनुदानतर्फ २ करोड ३० लाख ६२ हजार रुपैयाँ, समपुरक अनुदानतर्फ एक करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोछ भने नगरपालिकाबाट ८ करोड ५० लाख रुपैयाँ आन्तरिक आय संकलन गरिने लक्ष्य लिइएको छ ।

नगर प्रमुख बलदेवसिंह गोम्देनको सभापतित्वमा सुरु भएको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडाध्यक्षहरु तथा जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नगर अधिवेशनको अर्को बैठक असार १७ गते बस्ने गरी स्थगित गरिएको छ ।