बाटोमा भेटेको सालक प्रहरीलाई जिम्मा « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

बाटोमा भेटेको सालक प्रहरीलाई जिम्मा


यलम्वर टाइम्स
२४ जेष्ठ २०७४, बुधबार ०८:०१

salak– सन्देश सुब्बा

पाँचथर / विश्वमै लोपोन्मुख जङ्गली जनावरको सूचिमा रहेको सालकको लुकिछिपि चोरी शिकारी गर्ने क्रम बढ्दो अवस्थामा रहेको बेला पाँचथरका एक युवाले भने बाटोमा भेटेको सालक प्रहरीलाई खबर गरी जिम्मा दिएका छन् ।

जिल्लाको फालेलुङ गाउँपालिका–५, लुङमादिनका सन्दिप थाम्सुहाङले सोमबार साँझ बाटोमा भेटेको सालक प्रहरीलाई खबर गरी मंगलबार जिम्मा दिएका हुन् । सदरमुकाम फिदिमदेखि घर फर्किने क्रममा साँझ छ बजेतिर थाम्सुहाङले फालेलुङ गाउँपालिका–७, थोक्पनमा उक्त सालक भेटेका थिए ।

मानिस देखेपछि गोलो बनेर बाटोमै बसेको सालकलाई थाम्सुहाङले घरमा लगि प्राङ्बुङ प्रहरी चौकीमा खबर गरी जिम्मा दिएका हुन् । भाले जातको उक्त सालकलाई जिल्ला वन कार्यालय पाँचथर सँग परामर्श गरी जङ्गलमा छोड्ने वा के गर्ने भन्नेबारे निर्णय हुने प्रहरी चौकी प्राङबुङका असइ बल बहादुर श्रेष्ठले बताए ।

विश्वबाटै लोप भएर जान लागेको सालकको संरक्षण होस भने आफूले प्रहरीलाई खबर गरी जिम्मा दिएको थाम्सुहाङले बताए । सालकको खपटा महंगो मूल्यमा लुकिछिपि ब्यापारीले खरिद गर्ने गरेका कारण पूर्वी पहाडमा सालकको चोरी शिकारी गर्ने क्रम बढ्दो छ ।