अर्जुनधारामा सरकारी बैंक छैन, कारोबार गर्न अर्को नगरपालिका धाउनुपर्ने « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

अर्जुनधारामा सरकारी बैंक छैन, कारोबार गर्न अर्को नगरपालिका धाउनुपर्ने


यलम्वर टाइम्स
२१ श्रावण २०७४, शनिबार ०३:३५

लक्ष्मी उप्रेती

शनिश्चरे क्षेत्रमा पहिलो पटक नेपाल बैंक बसेको घर देखाउँदै ज्येष्ठ नागरिक नगेन्द्र

अर्जुनधारा / पूर्वकै सबैभन्दा पुरानो र चर्चित बजार झापाको शनिश्चरेमा एउटा पनि सरकारी बैंक नहुँदा स्थानीय उद्योगी व्यवसायी र सरकारी विद्यालयबाट हुने आर्थिक कारोबार गर्न छिमेकी नगरपालिका बिर्तामोड धाउनु परेको छ ।

साविक शनिअर्जुन नगरपालिकामा अहिले खुदुनाबारी गाविस समेत समायोजन गरी घोषणा गरिएको अर्जुनधारा नगरपालिकाको मुटु हो शनिश्चरे बजार । शनिबार बाहेक अन्य दिन शनिश्चरे बजारमा सबैखाले वस्तुको दैनिक ५० देखि ६० लाख रुपैयाँसम्मको कारोवार हुने गर्छ । प्रत्येक साताको शनिबार यहाँ हाट लाग्ने गर्दछ । हाटका दिन झण्डै १ करोड रुपैयाँसम्मको कारोवार हुने गर्छ । यसमा २५ देखि ३५ प्रतिशत व्यवसायीलाई सरकारी बैंकको नै आवश्यक पर्छ ।

शुरुमा शनिश्चरे बजारमा नेपाल राष्ट्र बैंक थियो । सशस्त्र माओवादी द्वन्द्वका बखत विस्थापित भएको उक्त बैंक पनि अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन । ‘शुरुमा सरकारी बैंकको नाममा एउटा मात्र नेपाल बैंक थियो । ज्येष्ठ नागरिक मिलन समाजका उपाध्यक्ष नरेन्द्र तिम्सीनाले भने –‘उक्त बैंक पनि सशस्त्र माओवादी द्वन्द्वका बखत शनिश्चरे बजारबाट हटाईयो अहिलेसम्म पुनः स्थापना हुन सकेको छैन ।’ झापाको पुरानो बजार र मुख्य व्यापारिक केन्द्रकै रुपमा नाम चलेको शनिश्चरे हाल अर्जुनधारा नगरपालिकामा आर्थिक कारोबार प्रचुर मात्रामा हुने भएको हुँदा यहाँ वाणिज्य बैंक अति आवश्यक देखिएको यहाँका उद्योगी व्यवसायीहरु बताउँछन् ।

नेपाल राष्ट्र बैंकको शाखा मात्र हुँदा यहाँका उद्योगी व्यवसायीहरुलाई केही भए पनि राहत मिलेको थियो । तर, एउटा भएको सरकारी बैंक पनि विस्थापित भएपछि यहाँका उद्योगी व्यवसायीहरुले अनावश्यक झण्झट व्यहोर्नु परेको छ । विशेष गरी सरकारी अड्डा अदालत र कार्यालयसँग सम्बन्धित आर्थिक कारोवार गर्नुपर्दा स्थानीयले सास्ती पाउने गरेका छन् । ‘विस्थापित भएको बैंकलाई पुनःस्थापित गर्न हामीले धेरै पहल गरेका थियौ, अर्जुनधारा उद्योग बाणिज्य संघका अध्यक्ष बसन्त सोमानीले भने –‘तर, हाम्रो कुरा सुनुवाई भएन बैंकले आफ्नो जग्गा तथा भवनसमेत बिक्री गर्यो अनि जनतालाई पछि सरकारको कुनै नीति बने पुनः बैंक स्थापना गर्ने जवाफ दिईयो ।’

सरकारी बैंक हुँदा यो क्षेत्रको पहिचाननै अलग हुने उनको विश्वास छ । शनिबार बाहेक अन्य दिन शनिश्चरे बजारमा सबैखाले वस्तुको दैनिक ५० देखि ६० लाख रुपैयाँको कारोवार हुने सोमानी बताउँछन् । उनी भन्छन् –‘प्रत्येक साताको शनिबार यहाँ हाट लाग्ने गर्दछ । हाटका दिन १ करोड रुपैयाँसम्मको कारोवार हुन्छ । यसमा २५ देखि ३५ प्रतिशत व्यवसायीलाई सरकारी बैंकको नै आवश्यक पर्छ त्यसका लागि उनीहरुले कि त बिर्तामोड कि त भद्रपुर पुग्नै पर्ने हुन्छ । नगरका राजनीतिक दल, विभिन्न संघ संस्थाले प्रतिनिधि मुलक ढंगले बैंक सञ्चालनका लागि सम्बन्धित निकायमा पुगेको नेपाली काँग्रेस झापाका सभापति उद्घव थापाले बताए । ‘हामी पटक–पटक सर्वपक्षिय रुपमा आफ्नो क्षेत्रमा बैंक माग्दै सरकारी ढोकासम्म पुग्यौ अर्जुनधारा नगरपालिकाका स्थायी बासिन्दासमेत रहेका थापाले भने –‘तर, सरकारी बैंकहरु आउने कुरामा सम्बन्धित पक्षले ध्यानै दिएन ।

सरकारी बैंक नभए पनि यस क्षेत्रमा सञ्चालनमा रहेका निजी बैंक, सहकारी संस्थाले स्थानीयलाई सेवा दिईरहेका छन् यसले यहाँका उद्योगी व्यवसायीलाई राहत मिलेको छ । शनिश्चरेमा अहिले निजी एक्सेल डेभलपमेन्ट बैंक लि, मितेरी डेभलपमेन्ट बैंकको शाखा र दुई दर्जन सहकारी संस्था सञ्चालनमा रहेका छन् । केहीले यिनै संस्थासँग वित्तीय कारोवार गरीरहेका छन् । तर, सरकारी कारोवार गर्नुपर्ने अवस्था सिर्जना भए शनिश्चरेदेखि ५ किलो मिटर टाढा बिर्तामोड पुग्नुपर्ने बाध्यता रहेको मेरो रेडियोका प्रबनधक कुमार भट्टराई बताउँछन् ।

विशेषगरी सरकारी टेण्डर ठेक्कालगायतका काममा व्यवसायीले सरकारी बैंक खोज्ने गरेका छन् । जिल्लामै सबैभन्दा बढी रुपैयाँमा ठेक्का लाग्ने बिरीङ खोलासमेत यसै नगरमा पर्छ । एकजना ठेकदारका अनुसार उक्त खोला वर्षेनी तीन करोड रुपैयाँभन्दा बढीमा ठेक्का लाग्छ यसको सरकारी प्रक्रिया पुर्याउन हामीले कि बिर्तामोड कि भद्रपुर पुग्नै पर्छ । यसकारण पनि यहाँका उद्योगी व्यवसायीहरुले सरकारी आर्थिक कारोवारका लागि बिर्तामोड र भद्रपुर धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न पनि अर्जुनधारा नगरपालिकाक्षेत्रमा सरकारी बैंक अति जरुरी भएको भट्टराई बताउँछन् । ‘नगरपालिकाभित्र एउटा पनि सरकारी बैंक नहुँनु भनेको दुःखद पक्ष हो, भट्टराईले भने –‘कुनै बेला अर्जुनधारा निक्कै औद्योगिक क्षेत्र थियो, ठुल्ठुला राइस मिलहरु थिए । अहिले फेरि दिनानु दिन औद्योगिक क्षेत्रतर्फ उन्मुख हुँदैछ ।

यो नगरपालिका धार्मिक एवम् पर्यटकीय क्षेत्र पनि हो, कम्यूनिष्टहरुको मक्का मदिना पनि यहि नगरलाई मानिन्छ तर, यस्तो ठाउँमा एउटा पनि सरकारी बैक नहुँनु भनेको यहाँका उद्योगी व्यवसायीहरुका लागि कति चित्त नबुझ्ने कुरा हो ।अहिले यस नगरमा जुस, पानी, होलोरिङ ब्लक, चिया फ्याक्ट्रीलगायतका उद्योगहरु सञ्चालनमा छन् । धेरैले व्यवसायीक रुपमा सुपारी खेती समेत गरेका छन् । सामुदायिक वनमात्र सातवटा छन् । एउटा वनले करिब १ करोड रुपैयाँको कारोवार गर्छ । सरकारी र निजी विद्यालयसमेत उत्तिकै छन् ।

वन र विद्यालय समेतले सरकारी आर्थिक कारोवार गर्नुपरे भद्रपुर या बिर्तामोड पुग्नुपर्ने बाध्यता छ । झापाको शनिश्चरे क्षेत्रका धेरैजना मन्त्री र सांसदहरु बनेका छन् । तर, यहाँ सरकारी बैंक स्थापना गर्न कसैले पनि चासो नदेखाएको स्थानीयको भनाई छ । झापाको सातवटा निर्वाचन क्षेत्रमध्ये ४ नम्बर क्षेत्रमा पर्ने शनिश्चरे बजार भर्नका लागि झापालीमात्र होईन छिमेकी पूर्वी पहाडी जिल्ला इलाम, पाँचथरलगायतका व्यपारीसमेत आउने गरेका छन् ।

२ सय ५० स्थानीय तहमा बैंक स्थापना हुँदै गर्दा झापामा कनकाई नगरपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका भने ‘क’ वर्गका वाणिज्य बैंकका शाखाहरु खुल्ने भएका छन् । हालसम्ममा वाणिज्य बैंक नपुगेको ४ सय १२ मध्ये २ सय ५० तहमा तत्काल शाखा खोल्न बैंकहरु तयार रहेका छन् । एकजना बैंक सञ्चालकका अनुसार ७ सय ४४ स्थानीय तहमध्ये ३ सय ३२ स्थानमा मात्रै ‘क’ वर्गका बैंक छन् ।

नयाँ शाखा खोल्दा समेत १ सय ६२ स्थानीय तहमध्ये वाणिज्य बैंकका शाखा बिहिन हुने छन् । नेपाल बैंकर्स संघले ४६ नगरपालिका र २ सय ४ गाउँपालिकामा वाणिज्य बैंकका शाखा खोल्न नेपाल राष्ट्र बैंकलाई प्रस्ताव गरेको छ ।