झापामा तीनवर्षमा दुईहजार भन्दा बढी लाइसेन्समा प्वाल, घटेनन् मापसे गरेर सवारी चालाउनेहरु « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

झापामा तीनवर्षमा दुईहजार भन्दा बढी लाइसेन्समा प्वाल, घटेनन् मापसे गरेर सवारी चालाउनेहरु


यलम्वर टाइम्स
२३ श्रावण २०७४, सोमबार ०५:३४

लक्ष्मी उप्रेती

झापा / जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बितेको तीन आर्थिक वर्षमा २ हजार भन्दाबढी सवारी चलाउने चालकको चालक अनुमती पत्र (लाइसेन्स) मा प्वाल पारेको छ ।

आर्थिक वर्ष २०७१/०७२ देखि मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकको अनुमती पत्र (लाइसेन्स) मा प्वाल पार्ने अभियान शुरु गरेको थियो । प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयको निर्देशनमा देशभरका ट्राफिक प्रहरी कार्यालय, अस्थायी प्रहरी पोष्टले ब्रेथलाईजर मेशीनको माध्यमबाट चालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्दै आएका छन् । मादक पदार्थ सेवन गरी सवारी चलाएर पटक पटक चेकजाँचमा परी चालक अनुमती पत्र (लाइसेन्स) मा ५ वटासम्म प्वाल परे उक्त चालक अनुमती पत्र (लाइसेन्स) स्वतः रद्ध हुने प्रहरीले जनाएको छ ।

तर, तीन वर्षको अवधिमा तीनवटासम्म प्वाल पारिएको थियो । मापसेकै कारण कसैको पनि चालक अनुमती पत्र (लाइसेन्स) रद्ध नभएको कार्यालयको भनाई छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कक्षा समेत दिने गरिएको छ । लाइसेन्समा प्वाल पारेको अभिलेख कार्यालयमा राखिने त्यसको जानकारी सम्बन्धित यातायात व्यवस्था कार्यालयलाई समेत गराउने गरिएको छ ।
कार्यालयका ट्राफिक प्रहरी सहायक निरीक्षक यामकुमार खड्काका अनुसार तीनवर्षमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३ हजार १ सय ९६ जना चालक कारवाहीमा परेका थिए । ती मध्ये २ हजार ४ सय ९६ जना चालकको चालक अनुमती पत्र (लाइसेन्स) मा प्वाल पारिएको छ । सो वापत कार्यालयले ३१ लाख ९६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कारवाहीमा परेका सातसय चालकको चालक अनुमती पत्र (लाइसेन्स) नभएका कारण जरिवाना गरेको थियो । जरिवाना वापत ७ लाख रुपैयाँ राजस्व जम्मा भएको कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी भर्खरै बितेको आर्थिकवर्ष २०७३/०७४ मा १ हजार ४ सय ५० जना मापसे गरी सवारी चलाउने चालक कारवाहीमा परेको तथ्याङ्क प्रहरीसँग छ । उनीहरुबाट १४ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सवैभन्दा कम आर्थिक वर्ष २०७२/०७३ मा ८ सय ४३ जना कारवाहीमा पर्दा ८ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको प्रहरी सहायक निरीक्षक खड्काले बताए । अभियान शुरु गरिएको वर्ष २०७२/०७३ मा ९ सय ३ जना कारवाहीमा परेका थिए । उनीहरुलाई कारवाही गर्दा ९ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । कारवाहीमा पर्नेमा सवैभन्दा बढी मोटरसाइकल चालक रहेका छन् । विशेषगरि रातको समयमा चालकहरु कारवाहीमा पर्ने गरेका छन् ।

चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएमा तत्काल सवारी साधन, उसको चालक अनुमती पत्र नियन्त्रणमा लिएर कारवाही स्वरुप एक हजार रुपैयाँ जरिवाना प्रहरीले गर्दै आएको छ । कार्यालय श्रोतका अनुसार प्रहरीले चेकिङ गर्ने क्रममा मापसे गरी सवारी चलाए अवस्था हेरेर नियन्त्रणमा लिएर हिरासतमा राख्नु परे राख्ने, थोरै खाएर गन्तव्य सम्म पुग्न सक्ने भए सवारी साधनका आवशयक कागजात नियन्त्रणमा लिएर उपस्थित हुने शर्तमा छाड्ने, कार्यालयमा उपस्थित भएपछि जरिवाना स्वरुप एकहजार रुपैयाँ तथा चालक अनुमती पत्र (लाइसेन्स) मा एउटा प्वाल पार्ने गरेको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने गरेका कारण जिल्लामा दुर्घटना बढेपछि प्रहरी प्रधान कार्यालय ट्राफिक निर्देशनालयको निर्देशनमा देशभरका ट्राफिक प्रहरी कार्यालय, अस्थायी प्रहरी पोष्टले ब्रेथलाईजर मेशीनको माध्यमबाट चालकले मादक पदार्थ सेवन गरे नगरेको जाँच गर्दै अभियान शुरु गरेको थियो ।

चालकमा परिपक्कता नहुनु, तीव्र गतिमा सवारी चलाउनु, क्षमताभन्दा बढी यात्रु बोक्नु अनि मादक पदार्थ सेवन गरी सवारी चलाउनु नै दुर्घटनाका कारण भएको प्रहरीको भनाई छ । ब्रेथलाईजरले मादक पदार्थ सेवन गरी सवारी चलाएको पत्ता लागेपछि शुरुमा जरिवाना स्वरुप एकहजार रुपैयाँमात्र लिने गरिएको भएपनि यो अभियान शुरु भएपछि जरिवाना सहित प्वालनै पारेर लाईसेन्सनै रद्ध हुने भएपछि यसमा दुर्घटनामा कमि आउने अपेक्षा प्रहरीको थियो । तर, हरेक वर्ष कारवाहीमा पर्नेको संख्या बढिरहेको छ ।

विशेषगरि रातको समयमा मादक पदार्थ सेवन गरी सवारी चलाउदा अत्यधिकरुपमा दुर्घटना हुने भएकाले प्रहरीले यसलाई कम गर्न समेत यस्तो अभियान शुरु गरेको थियो । प्रहरीले अहिले मुख्य राजमार्ग तथा ग्रामिण सडकमा समेत छड्के चेकजाँचलाई तीव्र पारेको छ ।