जनमुक्तिको ३८ बुँदे प्रतिवद्धतालाई माङसेबुङवासीबाट स्वागत « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

जनमुक्तिको ३८ बुँदे प्रतिवद्धतालाई माङसेबुङवासीबाट स्वागत


यलम्वर टाइम्स
१२ कार्तिक २०७४, आईतवार ११:४२

लारुम्बा । राष्ट्रिय जनमुक्ति पार्टीले इलामको लारुम्बा स्थित माङसेबुङलाई जनमुक्ति पार्टीको उद्गम स्थलोको रुपमा लिँदै ३८ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको छ ।

आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि राष्ट्र निर्माणको लागि माङसेबुङको भालुटार माविमा वृहत आमसभाको आयोजना गर्दै उक्त प्रतिवद्धता पत्र आज सार्वजनिक गरेको हो ।

प्रतिवद्धता पत्र मुस्लिम नेता डा. हाजी, खस नेता शिव आचार्य, पार्टी केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, अनुगमन विभाग प्रमुख रामबहादुर तुम्बाहाम्फे, पार्टी वरिष्ठ उपाध्यक्ष चन्द्र खापुङ, यामबहादुर बुढाथोकी, महिला नेतृ कमला थापा, मीना पन्धाक, तामासालिङ नेता मानध्वोज व्लोन, थारु नेता राजवंशी चौधरी, धिमाल नेता मोहन धिमाल लगायतले उक्त प्रतिवद्धता पत्र मास अगाडि सार्वजनिक गरेका थिए ।

प्रतिवद्धता पत्र सार्वजनिक सभालाई उद्घाटन गर्दै पार्टी केन्द्रीय अध्यक्ष केपी पालुङ्वाले प्रतिनिधि सभाको लागि इलाम क्षेत्र नं. २ बाट आफ्नो उम्मेद्वारी दिएको सार्वजनिक गरेका थिए । प्रमुख अतिथि समेत रहेका अध्यक्ष पालुङ्वाले यस क्षेत्रबाट पटक–पटक विजय भएर गएका सांसद लगायत नेताहरुले किराँत धर्म स्थल लारुम्बा आउँने बाटो समेत बनाउन नसकेको हुँदा आफू विजय भएमा पहिलो प्राथमिकता चारै दिशाबाट लारुम्बा आउने बाटो निर्माणमा ध्यान जाने बताए ।

उनले मुन्धुम विश्वविद्यालय निर्माण गरी किराँत धर्मावलम्बीहरुको पवित्र देवस्थल र किराँत इतिहास स्थल निर्माण गरेर जाने प्रतिवद्धता जाहेर गरे । पालुङ्वाले किराँत धर्म स्थललाई विश्व सम्पदा सूचिमा कायम गर्दै गुरु आत्मनन्दले चाल्नुभएको मार्गलाई अन्य ठाउँमा पु¥याउँने समेत बताए ।

विभिन्न मौलिक झाँकी र नृत्यका साथ भएको सभामा ३८ बुँदे प्रतिवद्धतापत्र पार्टी महासचिव केशव सूर्यवंशीले पढेर सुनाउँदा उपस्थित जनमानसले तालिले स्वागत गरेका थिए । घोषणा पत्रमा भ्रष्टचारीलाई संवैधानिक रुपमै देशद्रोही घोषणा गर्ने, गम्भीर प्रकृतिको भ्रष्टचार गर्नेलाई जन्मकैद र उनको सम्पती राष्ट्रियकरण गरिने, गरिबीको रेखामुनी रहेकालाई स्वास्थ्य बीमा, बेरोजगार सुरक्षा युवा कोष, धर्मनिरपेक्षलाई व्यवहारिकता, आदिवासी जनजाति, खस आर्य, दलित, मधेसी मुस्लीम क्लस्टर र महिलाको लैङ्गिक प्रतिनिधित्व हुने गरी ५ सदस्य राष्ट्रपति मण्डल र प्रत्येक निर्वाचित कार्यकारी प्रधानमन्त्रि रहने व्यवस्था र पहिचनमा आधारित पूर्ण संघीयताको सुनिश्चिताको लागि कार्य गरिने, जल, जंगल, जमिन, खानी र पानीको उपयोग गर्दा त्यस क्षेत्रका स्थानीय जनताको अग्रअधिकारलाई प्राथामिकता राखिने, पर्यटन, खेलकुद, सञ्चार नीतिलाई महत्वका साथ उच्च स्थानमा राखिने, औद्योगिक, कलकारखाना, अस्पताल, शैक्षिक र पर्यटकीय क्षेत्र बन्द हड्ताल मुक्त क्षेत्र हुने जस्ता प्रतिवद्धता सार्वजनिक गरेका हुन् ।

आमसभा हुनु अघि किराँत देवस्थल रहेको पाँच किलोमिटरको रिङरोड, च्याब्रुङ, ढोल झ्याम्टा बजाउँदै परिक्रमा गरिएको थियो । परिक्रममा ७० वर्षसम्मका वृद्धहरुको उपस्थिति थियो । परिक्रममा पछि सभामा परिणत भएको आमसभालाई किराँत गुरु आत्मनन्द लिङ्देनले शुभकामना पत्र पठाई जनमुक्ति पार्टीको विचार नेपाली जनता र आदिवासी जनजाति, अल्पसंख्यकहरुका लागि सुहाउँदो भएको हुँदा यस पार्टीको उन्नतिको कामना गरेका थिए ।

यसरी नै किराँत धर्म साहित्य उत्थान संघ केन्द्रीय समितिले शुभकामना प्रदान गर्दै पार्टीको विचार आदिवासीको हक हितको लागि उत्तम भएको हुँदा उन्नतिको लागि शुभकामना पठाएका थिए । कार्यक्रममा गुरुका निजी कानूनी सल्लाहकार एनएस फागोले लारुम्बालाई नजिकबाट हेरेर यसको उन्नतिमा टेवा पु¥याइदिन आग्रह गरेका थिए ।

पार्टी वरिष्ठ उपाध्यक्ष तथा लिम्बूवान इन्चार्ज चन्द्र खापुङहाङले राष्ट्रिय र राष्ट्रियताप्रति बफादार भएर सबै जनताको मुक्तिको लागि वैकल्पिक शक्ति जनमुक्ति पार्टी भएको हुँदा यसलाई आत्मसाथ गरी सहयोग गर्न आग्रह गरेका थिए । उनले किराँत धर्मस्थल जनमुक्तिको उद्गम स्थल भएको बताए । लिम्वूवान अध्यक्ष एवी पन्धाकको स्वागत मन्तव्य रहेको कार्यक्रममा जिल्ला अध्यक्षको तर्फबाट सन्तवीर लामा, प्रवास समितिको तर्फबाट कमला थापा लगायतले मन्तव्य राखेका थिए ।

आमसभामा जनमुक्ति पार्टीबाट स्थानीय निर्वाचनमा विजयी भएका अध्यक्ष लगायत सदस्यहरुको वृहत उपस्थिति रहेको थियो । प्रतिवद्धता पत्र सार्वजनिक गर्न सबै जिल्लाका अग्रज नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन पार्टी सचिव बलदीप राईले गरेका थिए ।