नगरको १७१ घरको संरक्षण यायोक्खाले गर्छः अध्यक्ष क्या. मानबहादुर « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

नगरको १७१ घरको संरक्षण यायोक्खाले गर्छः अध्यक्ष क्या. मानबहादुर


यलम्वर टाइम्स
२० फाल्गुन २०७४, आईतवार १२:२४

अर्जुनधारा । किरात राई यायोक्खा नगर कमिटी अर्जुनधाराले क्यान्सर पीडित सदस्य राजेन्द्र चाम्लिङ राईको उपचारार्थ ३१ हजार ८ सय ६० रुपैयाँ सहयोग प्रदान गरेको छ ।

आईतबार अर्जुनधारा–४ रातेखाल स्थित चाम्लिङको निवासमै पुगेर सहयोग रकम प्रदान गरेका हुन् । सहयोग रकम पीडितकी श्रीमती इन्द्रदेवी चाम्लिङ राईलाई प्रदान गर्दै यायोक्खा अध्यक्ष क्या. मानबहादुर राईले यायोक्खा राई जातिको हक अधिकार प्राप्तिका लागि मात्र नभई प्रत्येक राईहरुको दुःख, सुखमा साथ दिने सहयात्री भएको बताए । नगरभित्र बसोबास गरेका सम्पूर्ण राई जातिहरुको अभिभावक संस्थाको रुपमा किरात राई यायोक्खा भएको बताउँदै अध्यक्ष राईले भने –‘नगरभित्रका १७१ घरपरिवार रहेका राई जातिको संरक्षण यायोक्खाले गर्छ ।’

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वरिष्ट पत्रकार दिपीन राईले नगरभरी छरिएर रहेका राईहरुलाई भावनात्मक रुपमा एकअर्कामा जोड्दै सहयोग प्रदान गर्नु सहरनीय भएको बताए । यायोक्खाका उपाध्यक्ष क्या. शिवकुमार राईले सम्पूर्ण सदस्यहरुबाट संकलन भएको रकम सहयोग स्वरुप हस्तान्तरण गरिएको बताए । उनले नगरभरी छरिएर रहेका सम्पूर्ण राई बन्धुहरु यायोक्खामा आवद्ध हुन आग्रह गर्दै एकअर्काको दुःख, सुखमा सरिक हुनुपर्ने बताए ।

विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएको किरात राई यायोक्खा अर्जुनधाराले यस अघि पनि मृगौला पीडित भुपिन राई, क्यान्सर पीडित स्मारिका राई, मौलाधन राई, भिमा राई लगायतलाई आर्थिक सहयोग प्रदान गरेको सचिव सरिता राईले बताइन् ।

चार महिना अघि घाँटीको क्यान्सरबाट ग्रसित चाम्लिङ काठमाण्डौको क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका छन् । उनका ३ छोरा, ३ छोरी रहेका छन् ।

त्यस्तै मृगौला खराब भई उपचार गर्दै आएका गोलधाप प्रारम्भिक समितिका आनन्द राईलाई फागुन २५ गते गोलधाप प्रासमार्फत रु. १० हजार प्रदान गर्ने भएको सचिव राईले जानकारी दिइन् ।

रकम हस्तान्तरणमा स्थानीयवासीका साथै यायोक्खाका  सदस्य क्या. आसनबहादुर राई, नारायण चाम्लिङ राई, सोमा राई, मणिकुमार राई लगायतको उपस्थिति रहेको थियो ।