धमाधम बन्दै हलुवागढ कालीखोला सिमसार « Yalambar Times
३१ बैशाख २०८१, सोमबार

धमाधम बन्दै हलुवागढ कालीखोला सिमसार


यलम्वर टाइम्स
६ चैत्र २०७४, मंगलवार ०८:००

अर्जुनधारा । अर्जुनधारा–१ स्थित हलुवागढ कालीखोला सिमसार क्षेत्रको निर्माण कार्य धमाधम भइरहेको छ । शनिश्चरे बजारदेखि करिब १० किलोमिटर उत्तरमा अवस्थित सिमसार क्षेत्र निर्माणका लागि दुई वटा ठुला पोखरी तयारी अवस्थामा छन् ।

६ हेक्टर क्षेत्रफलमध्ये डेढ हेक्टरमा पोखरीको क्षेत्रफल रहने हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर तामाङले जानकारी दिए । वन समितिको मातहतमा उक्त सिमसारको निर्माण कार्य भइरहेको हो ।

पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको सिमसारमा व्यावसायिकरुपमा माछापालन पनि गर्ने योजना रहेको छ । ‘ठुलो पोखरीमा सिमसार निर्माणसँगै बोटिङको योजना छ’, अध्यक्ष तामाङले भने, ‘माथिल्लो पोखरीमा चाहिँ व्यावसायिक माछापालन गरिनेछ ।’ पोखरीको गहिराइ करिब ८ फिट हुने बताइएको छ ।

जामुनखाडी वनलाई हेरेर चुरे क्षेत्रमा निर्माण कार्य थालनी गरेको हलुवागढले आउँदो असोज महिनामा उद्घाटन गर्ने सोच बनाएको छ । पोखरीको बीच भागमा दुई ठुला ‘आइल्याण्ड’को निर्माण सम्पन्न भएको छ । ‘बीच भागको आइल्याण्डसम्म जानका लागि बोटिङको प्रयोग गरिनेछ भने अर्को आइल्याण्डमा जान झोलुङ्गे पुल बनाइनेछ’, अध्यक्ष तामाङले भने ।

उनका अनुसार दोस्रो आइल्याण्डमा काली नागको पूजाआजा गरिनेछ । पहिलो आइल्याण्डमा भने गार्डेनको रुपमा प्रयोग हुनेछ । त्यस्तै, पोखरीको वारिपारी गर्नका लागि बीच भागमा ‘इन्द्रेणी’ आकारमा पुल निर्माण गर्ने समितिको योजना छ ।

सामुदायिक वनलाई रुख काटेर बेच्ने गरेको आरोप छ । यही आरोपलाई चिर्न पनि पर्यटकीय क्षेत्रको रुपमा हलुवागढ सामुदायिक वनले विकास गर्न लागेको बताइएको छ । ‘रुख काटेर स्रोत जुटाउने हाम्रो उद्देश्य पटक्कै होइन’, अध्यक्ष तामाङले भने, ‘वन क्षेत्रको संरक्षण र पर्यटनको विकासका लागि हामीले लगानी गरेका हौँ ।’

बढी तस्करी हुने वन क्षेत्रमा सिमसार निर्माणसँगै वनको संरक्षण हुने समितिको विश्वास छ । सिमसार क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा सञ्चालनमा आएपछि समितिको आम्दानीको स्रोत बन्ने उनीहरुको भनाइ छ ।

योजना सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सिमसार क्षेत्रको बृहत योजना पूरा हुन पाँच वर्ष लाग्ने बताइएको छ । ‘एक वर्षभित्रमा सिमसार क्षेत्र सञ्चालनमा ल्याउँछौँ’, अध्यक्ष तामाङले प्रतिवद्धता जनाए ।

सिमसार क्षेत्रको निर्माणका लागि जिल्ला भूसंरक्षण कार्यालय झापाले १० लाख रुपैयाँ विनियोजन गरिसकेको छ भने अर्जुनधारा नगरपालिकाले छ लाख रुपैयाँ बजेट पास गरेको बताइएको छ ।

करिब ४५ लाख रुपैयाँ खर्च भइसकेको सिमसार क्षेत्रमा थप ३५ लाख वन समितिले व्यहोर्ने छ । आवश्यक खर्च जुटाउने कार्य पनि भइरहेको छ ।

पर्यटकको सुरक्षाका लागि अस्थायी प्रहरी विट राख्ने तयारीमा रहेको उनले जानकारी दिए । यसका लागि इलाम जिल्लाको छिमेकी सामुदायिक वन समूह शान्ति र वर्फल्याङसँग पहल भइरहेको छ ।

यहाँ पिकनिक खान आउने समूहका लागि पोखरी वरिपरि स्थान सुरक्षित गरिएको छ । पोखरीको वरिपरी १३ सय मिटर लामो सडकको ट्रयाक निर्माण भइसकेको छ ।

सिमसार क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि खानेपानी, सडकजस्ता आधारभूत आवश्यकता तयार गरिएको छ भने कार्यालय भवन, वन्यजन्तु राख्ने स्थान, मठमन्दिरका लागि योजना बनिरहेको छ ।