प्रेम राईलाई छुटाउन प्रधानमन्त्रिबाट ३० लाख « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

प्रेम राईलाई छुटाउन प्रधानमन्त्रिबाट ३० लाख


यलम्वर टाइम्स
२१ बैशाख २०७५, शुक्रबार ०६:०६

झापा । २ वर्ष देखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् ।

यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उनी २ वर्षदेखि बन्दी जीवन बिताईरहेका छन् ।

एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बेलुका आफूलाई भेट्न आइपुगेको राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेल प्रेमबहादुरको जेल मुक्तिका लागि साउदी सरकारसँग कुरा गर्ने बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वको अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक रहेको बताए । नेपाली नागरिक विदेशिने तरिका डर लाग्दो रहेको प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्री ओलीले भने, –‘अरु देशका नागरिक फरक तरिकाले विदेश जान्छन् । हामी जस्तो प्रकारले विदेश गएका छौं, त्यो डरलाग्दो छ । गरिबी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं । अज्ञानता र सोझोपनको शिकार हुन्छौं र झन् दुःख पाउँछौं ।’

नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिबी हटाउन आफ्नो नेतृत्वमा सरकार बनेको प्रधानमन्त्री ओलीले बताए ।

‘हाम्रो राष्ट्रको ढुकुटीको अवस्था त्यति राम्रो छैन, तर अब हामीले हाम्रै देशमा उत्पादन बढाउनु छ, उद्योग खोल्नुछ, यहिँ रोजगारी सिर्जना गर्नुछ । त्यसका लागि यो सरकार बनेको हो,’ प्रधानमन्त्री ओलीले भने ।

विदेशमा बन्दी जीवन बिताइरहेका नेपालीको उद्धारका लागि सहयोग संकलन गरेकामा इन्द्रेणी सांगीतिक कार्यक्रमको टोलीलाई प्रधानमन्त्री ओलीले प्रशंसा सहित धन्यवाद दिएका थिए ।

‘हरेकलाई सुखमा होइन दुःखमा साथ चाहिने हो, दुःखमा परेका नेपालीलाई सहयोग गर्न लिएको अग्रसरताप्रति म धन्यवाद दिन्छु, यस्तो काममा म र अहिलेको सरकार साथमा छ,’–प्रधानमन्त्री ओलीले भने ।

कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कंडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली रुपैयाँ चाहिने र अहिलेसम्म ७१ लाख रुपैयाँ संकलन भइसकेको बताए ।