‘अर्जुनधारामा डेंगु भित्रन नदिऔं’ « Yalambar Times
२९ बैशाख २०८१, शनिबार

‘अर्जुनधारामा डेंगु भित्रन नदिऔं’


यलम्वर टाइम्स
९ जेष्ठ २०७५, बुधबार १३:२५

अर्जुनधारा । नगर प्रमुख हरिकुमार रानाले अर्जुनधारा क्षेत्रमा डेंगु रोग सम्बन्धि सचेतना गराउँदै यस क्षेत्रमा डेंगु भित्रन नदिन सबै क्षेत्रबाट पहल गरिनुपर्ने बताएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाले डेंगु रोग नियन्त्रण गर्ने उद्देश्यका साथ अर्जुनधारा नगरपालिकामा सरोकारवालाहरुसँग अभिमुखिकरण गर्ने क्रममा प्रमुख रानाले नियन्त्रण गर्न कसरी सकिन्छ त्यसतर्फ नगरको ध्यान जाने बताए ।

डेंगु रोग प्रभावित क्षेत्रको रुपमा रहेको अर्जुनधारा नगरपालिकामा रोग नियन्त्रण र रोकथाम गर्न अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको थियो । सन् २००६ मा पहिलोपल्ट नेपालमा देखा परेको डेंगु सन् २०१२ मा झापामा देखा परेको थियो ।

२०१२ मा देखा पर्दा ७७ जनामा डेंगुको संक्रमण भेटिएको थियो । तर, जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क हेर्ने हो भने यसको प्रभाव वर्षेनी बढ्दै गएको देखिन्छ । सन् २०१३ मा २०२ जना डेंगु रोग देखा परेको थियो भने २०१४ मा केही घटेर १३ जना र ०१५ मा ८ जनामा झरेको तथ्याङ्कले देखाउँछ । तथापी ०१६ मा उक्त तथ्याङ्क बढेर ४२० र ०१७ मा ५३५ जनामा डेंगुको संक्रमण रहेको छ ।

नगर प्रमुख रानाको सभापतित्वमा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालयका भेक्टोर कन्ट्रोलर अधिकृत जीवन चम्लगाईले डेंगु रोक एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट लाग्ने बताए ।

कार्यक्रममा सहजीकरण गर्दै अधिकृत चम्लगाईले अत्याधिक ज्वरो आउनु, आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्नु, शरीर कटकटी दुख्नु डेंगुको लक्षण भएको बताउँदै रोग जटिल बन्दै गए शरीरमा बिमिरा आउने रक्तश्राव हुने बताए ।

कार्यक्रममा ‘डेंगु रोगबाट बच्ने थुप्रै उपायहरु छन् । तर, यसबाट बच्ने सबैभन्दा राम्रो उपाय यसको लार्भा खोजेर नष्ट गर्नु नै हो ।’ – अधिकृत चम्लगाईले बताए । कार्यक्रममा प्राथमिक स्वास्थ्य चौकी शनिश्चरेकी प्रमुख डा. सुशिलाकुमारी यादवले रोग लाग्नुभन्दा लाग्न नदिनु नै उपयुक्त हुने बताउँदै समयमै सबैलाई सचेत गराउनु पर्ने बताइन् ।

उनले स्वास्थ्यकर्मीहरुको मात्र एकोहोरो पहलमा डेंगु रोग नियन्त्रण नहुने बताउँदै जनप्रनिधि, स्थानीय बृद्धिजीवि, राजनीतिक दल, स्थानीय संघसंस्था, सञ्चारकर्मी पनि लाग्नुपर्ने बताइन् ।

नगरपालिकाका स्वास्थ्य संयोजक मुकुन्द बस्नेतले स्वागत गरेको कार्यक्रममा आयोजकले डेंगु रोगबाट बच्न रोगी भएको स्थानमा खोजी, प्रचारप्रसार, सञ्चार अभियान र सरोकारवालासँग छलफललाई अघि बढाइएको बताएको छ ।

अभिमुखि कार्यक्रम जिल्लाका अन्य प्रभावित क्षेत्र मेचीनगर, बिर्तामोड, दमक लगायतका ठाउँमा पनि सञ्चालन गरिरहेको अर्का भक्टोर कन्ट्रोलर अधिकृत वेदप्रसाद घिमिरेले बताए ।