तीन बर्षकी छोरी च्यापेर न्याय खोज्दै जमुना « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

तीन बर्षकी छोरी च्यापेर न्याय खोज्दै जमुना


यलम्वर टाइम्स
१० जेष्ठ २०७५, बिहीबार ०२:५४

अर्जुनधारा । मोरङको पथरीशनिश्चरे–५ की एक किशोरी जबरजस्ती करणीबाट जन्मिएकी ३ वर्षीय छोरी काखमा च्यापेर न्यायको खोजिमा भौतारिरहेकी छिन् ।

उनलाई महिला तथा बालबालिका केन्द्र बिराटनगरकी महिला संयोजक गीता कट्टेलले बुधबार इलाका प्रहरी कार्यालय पथरीमा पुगेर श्रीमानसँग नाता प्रमाणित गराई घरमा बिना रोकटोक बस्ने वातावरण मिलाई दिन पहल गरेकी छिन् ।

१३ वर्षको उमेरमा पथरीशनिश्चरे–५ का छिमेकी अर्जुन धिमालले जबरजस्ती गर्दा ति किशोरी गर्भवती भएकी थिइन् । धिमालले करणी भएको कुरा सार्वजनिक भए मारिदिने धम्की दिएपछि किशोरीले केही समयसम्म वास्तविकता लुकाएकी थिइन् । तर, सत्य लुक्दैन भने जस्तै ६ महिनापछि किशोरी गर्भवती भएको समाजमा हल्ला चल्यो ।

त्यसपछि किशोरीको गर्भपतन गराउन सबै जना पथरी, दमक र इटहरी लगायतका स्वास्थ्य केन्द्रमा पुगे । तर गर्भवती किशोरीको उमेर १३ वर्ष मात्र भएकोले गर्भपतन सम्भव भएन ।

समाजमा अप्ठ्यारो परे पछि अर्जुन पक्षकाले समाजका केही अगुवा र नातेदारको उपस्थितिमा किशोरीलाई जिम्मा लिए । तर, केटा पक्षले अर्जुनलाई छुटाएर झापाको बिर्तामोडमा बस्ने बन्दोबस्त मिलाई दिए ।

३ महिना पछि छोरी जन्मिन । छोरी जन्मिएपछि किशोरी पनि परिवार सहित झापा बस्न थालिन । तर , किशोरीले न श्रीमानको माया पाईन न त परिवारको साथ पाउन सकिन । दैनिक कुटपिट यातना र धम्की खेपेकी किशोरी रगत पछे भएर पुनः माइत फर्किन । २ वर्षयता माइतमा बस्दै आएकी किशोरीसँग न त बिवाह दर्ता छ, न बच्चाको जन्म दर्ता छ । नागरिकता लिने उमेर नपुगेकोले नागरिकता पनि छैन ।

महिला तथा बालबालिका केन्द्र बिराटनगरकी महिला संयोजक गीता कट्टेलले किशोरीलाई पुनस्र्थापना गर्न सहयोग पुर्याएकी छिन् । कट्टेलले भनिन् –‘किशोरीलाई न्याय दिनका लागि कानूनी बाटोको खोजि गरिरहेका छौ । जसरी पनि उनलाई न्याय दिलाउने छौं ।’

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले भने –‘पीडितको उजुरीका आधारमा न्यायको बाटो खोल्ने प्रक्रिया सुरु भइसकेको छ ।’ केटालाई पक्राउ गरेर ल्याई छलफल गरी कानुनी कार्वाही अगाडी बढाउने प्रहरी निरीक्षक श्रेष्ठको बताए । किशोरी भने केटासँग नाता प्रमाणित गरी भयरहीत वातावरणमा बस्न पाउनु पर्ने बताउँदै आएकी छिन् ।

पूर्वेली न्यूजबाट