१६ वटा साना सिमा स्तम्भ गायब « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

१६ वटा साना सिमा स्तम्भ गायब


यलम्वर टाइम्स
१२ जेष्ठ २०७५, शनिबार १२:१२

 

याङवरक गाउँपालिका–२, तिम्बुङ पोखरीमा रहेको पाँचथर अन्तर्गतको पहिलो ३५ नम्बर पिलर । (फोटो सौजन्य: जिल्ला प्रहरी कार्यालय पाँचथर)

[सन्देश सुब्बा]

पाँचथर । नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत पाँचथरतर्फको १६ वटा साना सीमा स्तम्भ गायब भएका छन् ।

पाँचथर प्रहरीले गरेको सीमा स्तम्भ अवलोकनको क्रममा सो परिणामका साना सीमा स्तम्भ नभेटिएको जनाइएको छ ।

उत्तरपूर्वी पाँचथरको याङवरक गाउँपालिका १ र २ त्यस्तै फालेलुङ गाउँपलिकाको ३, ४ र ७ नम्बर वडा भारतको सिक्किम र पश्चिम बंगाल राज्यसँग सीमाना जोडिएको छ ।

पाँचथर अन्तर्गतको ४४.३८ किलोमिटर सीमा क्षेत्रमा जम्मा ११३ वटा सीमा स्तम्भ (पिलर) रहेका छन् । जसमध्ये १०३ साना सीमा स्तम्भमा १६ वटा गायब भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरिक्षक बामदेव गौतमले बताए ।

१६ दिन लगाएर गरिएको अवलोकनमा १०३ साना सीमा स्तम्भ मध्ये ८७ मात्र फेला परेको गौतमको भनाई छ ।

त्यसमा पनि १२ वटा सीमा स्तम्भको निशाना नै पत्ता नलागेको, चार वटाको भने स्तम्भ राखिएको स्थानसम्म फेला पारिएको अवलोकन टोलीमा संलग्न प्रहरी जवान चन्द्रबहादुर चौहानले बताए ।

अन्य नौ वटा जंगे (ठूला) र एउटा मझौला सीमा स्तम्भ भने सबै फेला परेको चौहानले बताए । यद्यपी फेला परेका सबै सीमा स्तम्भहरु मर्मत सम्भार गर्नुपर्ने अवस्थामा रहेको अवलोकन टोलिमा संलग्न अर्का प्रहरी जवान काजीमान लिम्बूले बताए ।

उनका अनुसार मानिस र घरपालुवा जनावर पुग्न गाह्रो हुने दुर्गम स्थानका सीमा स्तम्भ सामान्य राम्रै अवस्थामा भेटिएका छन् । सडक पुगेको, चौरी गाईको चरन क्षेत्र र पर्यटकहरुको अवागमन बढी हुने स्थानका सीमा स्तम्भ हराएका र जीर्ण अवस्थामा रहेका छन् ।

सीमा क्षेत्रसँगै रहेको पर्यटकीयस्थल फालोट क्षेत्रमा अन्तरिक तथा बाह्य पर्यटकहरुको अवागमन बढी हुने गर्दछ । घुम्न आउँने कतिपय मानिस सीमा स्तम्भमा चढ्ने, पिलरलाई हल्लाउँने गर्नाले त्यो क्षेत्रका स्तम्भहरु गायब भएको र जीर्ण अवस्थामा रहेको याङवरक गाउँपालिका–१, च्याङथापुका मंगलबहादुर बेघा बताउँछन् ।

त्यस्तै चर्ने क्रममा चौरी गाईहरु रगटिने कारणले पनि स्तम्भ जीर्ण बन्न पुगेको पाइएको प्रहरीको भनाई छ । अवलोकन टोलीमा रहेका प्रहरी जवान चौहाने भने– ‘जीर्ण अवस्थामा रहेका कतिपय स्तम्भहरुमा हामीले चौरी गाई रगटिएको निशाना र चौरी गाईको रौंहरु भेटेका थियौं ।’

सीमा स्तम्भको दश गज वरपर दुबै पक्षले कुनै संरचना निर्माण गर्न नहुने भए पनि भारतीय पक्षबाट सीमा स्तम्भ नै धरापमा पर्ने गरी सडक निर्माण गरिंदा कतिपय स्तम्भ जोखिममा समेत परेका छन् । याङवरक गाउँपालिका–२, को तिम्बुङ पोखरीदेखि फालेलुङ गाउँपालिका–७, को सन्दकपुर आहाल छेउसम्मको पाँचथर जिल्ला अन्तर्गतको सीमा क्षेत्रमा ३५ नम्बरदेखि ५७/२ नम्बरसम्मका सीमा स्तम्भ (पिलर) रहेका छन् ।

कार्यालयको आन्तरिक अभिलेखलाई चुस्तदुरुस्त राख्न पाँचथर प्रहरीले केही दिन अघि १६ दिन लगाएर सीमा क्षेत्र तथा सीमा स्तम्भहरुको अवलोकन गरेको प्रहरी नायव उपरिक्षक गौतमले बताए ।

भारतीय पक्षबाट नियमित रुपमा सीमा क्षेत्रको अनुगमन भए पनि नेपाल पक्षबाट भने आक्कल–झुक्कल मात्र अनुगमन हुने गरेको छ ।