सुविधायुक्त बन्दैछ शनिश्चरे बहुमुखी क्याम्पस « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

सुविधायुक्त बन्दैछ शनिश्चरे बहुमुखी क्याम्पस


यलम्वर टाइम्स
१९ जेष्ठ २०७५, शनिबार ०२:०६

अर्जुनधारा । झापा उत्तरी क्षेत्रकै शैक्षिक प्रतिष्ठानको रुपमा स्थापित हुनाका लागि शनिश्चरे बहुमुखि क्याम्पस सुविधायुक्त बन्दै आएको छ ।
उक्त क्याम्पस अर्जुनधारा–७ मा पर्छ ।

‘क्याम्पस स्थापना हुँदै गर्दा दाताले सहयोग प्रदान गर्ने आश्वासन दिएपछि चाँडै नै क्याम्पस राम्रोसँग सञ्चालन हुन्छ भन्ने आशा बोकेका थियौं, तर हुन सकेन । ढिलै भए पनि निराश भएको मन पुनः पलाएर आएको छ ।’ क्याम्पस पढाउँदै आएका कृष्ण थापाले भने ।

थापा यस अघि सहायक क्याम्पस प्रमुख भएर काम गरेका थिए । उनी क्याम्पसमा आउँदा मुस्किलले ५०÷६० जना विद्यार्थी थिए । भवन थिएन । प्राध्यापकहरुलाई खुवाउने तलब कतैबाट जुटेको थिएन । तर अहिले भने ती सबै वातावरण मिल्दै आएको छ । पक्की भवन छ । छात्रछात्राका लागि शौच गर्ने ठाउँ छ । खुल्ला मैदान छ । निर्माण कार्य निरन्तर अगाडि बढिरहेको छ । त्यसैले आशा जागेर आएको थापा बताउँछन् ।

क्याम्पस सञ्चालन समितिका उपाध्यक्ष हेमराज खरेलका अनुसार –विद्यार्थी बोक्न दुई वटा गाडी सञ्चालनमा आएको छ । ति गाडीहरु जुकेखाडी, सिस्ने, खुदुनाबारी, होक्से, कालिस्थान, सेतीपानी हुँदै सालबारीसम्म कुद्ने गर्छ । त्यसैले पनि हाल विद्यार्थीको सख्या २ सय ७६ पुगेको छ । विद्यार्थी मैत्री भवन बनेको पनि छ । अब चाँडै नै ई–लाइब्रेरीको व्यवस्थापनमा जुट्ने छौं ।

क्याम्पस प्रमुख मोहन ओलीका अनुसार क्याम्पसको प्रगतिलाई देखेर सहयोग गर्छौ भन्ने दाताहरुको मन फिरेको छ । अब उहाँहरुकोमा हामी पुग्छौं । क्याम्पसको भवन बनाउन सहयोग गर्नुहुने विश्वविद्यालय अनुदान आयोग, पूर्वाधार क्षेत्र विकास कोष र लक्षित वर्ग आदिवासी जनजाति अर्जुनधारालाई धन्यवाद दिन बिर्सिदैनौं ।

क्याम्पसमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट व्यवस्थापन र शिक्षा संकायमा अध्यापन गराइने र २० जनाभन्दा बढीलाई छात्रवृद्धि प्रदान गरिएको हुँदा क्याम्पसको स्तर बढाएर लाने अध्यक्ष सरोज ओलीले बताए ।