गाउँपालिकाको संख्या बढाउँन माँग « Yalambar Times
३ जेष्ठ २०८१, बिहीबार

गाउँपालिकाको संख्या बढाउँन माँग


यलम्वर टाइम्स
१९ श्रावण २०७३, बुधबार ११:३८

पाँचथर / जिल्लाका नागरिक समाजका प्रतिनिधि र पत्रकारहरुले गाउँपालिकाको संख्या बढाउँनुपर्ने धारणा राखेका छन् ।

स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले बुधबार फिदिममा आयोजना गरेको नागरिक समाज र पत्रकारहरु सँगको परामर्श कार्यक्रममा अधिकांशले यस्तो धारणा राखेका हुन् । जनसंख्यालाई आधार मान्दा पनि पाँचथरमा ७ वटा सम्म स्थानीय तह बनाउँन सकिने र त्यसो गर्दा सेवा प्रवाह समेत प्रभावकारी हुने पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष मित्र प्रसाद काफ्लेले बताए ।

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले तयार पारेको कार्यसर्त तथा कार्यविधिमा पाँचथरमा ५ वटा स्थानीय तह बनाउँने उल्लेख छ । तर जिल्लामा स्थानीय तह पुनर्संरचनाका लागि यो संख्या कम हुने परामर्शमा सहभागि कृष्ण बाँस्कोटाले बताए । त्यस्तै जिल्लाको भौगोलिक अवस्थालाई हेर्दा पनि स्थानीय तहको संख्या ७ नै उपयुक्त देखिने बुद्धिजीवि दीलेन्द्र कुरुम्बाङले बताए ।

कार्यक्रममा उठेका सवालहरुको जवाफ दिंदै स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमलाले संकलित राय, सुझावलाई आयोगमा पठाउँने प्रतिबद्धता व्यक्त गरे । यसअघि नै जिल्लास्थित राजनीतिक दलहरुले पनि स्थानीय तहको संख्या बढाउँन प्राविधिक समितिलाई सुझाब दिएका थिए ।

एक नगरपालिका सहित ३८ गाउँ विकास समिति रहेको पाँचथर जिल्लाको कूल जनसंख्या २०६८ सालको जनगणना अनुसार १ लाख ९१ हजार ८ सय १७ रहेको छ ।