‘आदिवासीको चिहानमाथि मदन भण्डारी रंगशाला बनाउन नहुने’ « Yalambar Times
३१ बैशाख २०८१, सोमबार

‘आदिवासीको चिहानमाथि मदन भण्डारी रंगशाला बनाउन नहुने’


यलम्वर टाइम्स
२ असार २०७५, शनिबार ०३:२३

दमक । आदिवासी रंगशालाको नाम परिवर्तन गर्न नहुने भन्दै उक्त स्थानको लागि बजेट विनियोजन गर्न प्रतिष्ठानले माग गरेको छ ।

कमल गाउँपालिका–५ (साविक लखनपुर गाविस–१) स्थित निर्माणधिन अवस्थामा रहेको आदिवासी रंगशालाको नाममा आर्थिक वर्ष २०७५/०७६ को बजेटमा कमल गाउँपालिका–५ (साविक लखनपुर गाविस–१) स्थित निर्माणधिन अवस्थामा रहेको आदिवासी रंगशालाको नाममा कुनै पनि बजेट नछुटिएको तर रातो किताबमा मदन भण्डारी राष्ट्रिय रंगशाला लखनपुरको नाममा २ करोड बजेट छुटिएपछि आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले शुक्रबार पत्रकार सम्मेलन गर्दै छुट्टिएको उक्त २ करोड आदिवासी रंगशाला निर्माणका लागि हुनुपर्ने माग गरेका छन् ।

पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले भने –‘आदिवासीहरुको त्यस क्षेत्रमा रहेको ७ सय ४५ चिहान हटाएर दिवांगतहरुको सम्मान र सम्झनामा अन्तराष्ट्रिय स्तरको ‘आदिवासी रंगशाला’ निर्माण गर्ने सहमति अनुसार उक्त ठाउँमा रहेको चिहान भत्काइएको थियो ।

भत्काइएको स्थानमा रंगशाला निर्माण कार्य सुरु गरि सरकारले आर्थिक वर्ष २०६७/०७८ देखि २०७१/०७२ सम्म आदिवासी रंगशालाकै नाममा बजेट बिनियोजन भई प्रारम्भिक कार्य समेत सुरु गरि सक्दा आ.व. २०७२/०७३ देखि रंगशालाको नामनै परिवर्तन गर्ने प्रयास भयो ।’ उनका अनुसार पुनः मदन भण्डारी राष्ट्रिय रंगशाला लखनपुरकै नाममा बजेट बिनियोजन गराइएकोमा प्रतिष्ठानको आपत्ति रहेको छ । अध्यक्ष हुकुमसिंहले भने आदिवासीको चिहानमाथि मदन भण्डारी रंगशाला बनाउन हुँदैन । यदि हाम्रो आग्रहलाई वेवास्ता गरी मदन भण्डारीकै नाममा निर्माण कार्य सुरु गर्न खोजे उक्त कार्यको जस्तुसुकै प्रतिवाद गर्न तयार रहेको पत्रकार सम्मेलनमा जनाए ।

जारी विज्ञप्तिमा भनिएको छ –मदन भण्डारी राष्ट्रिय रंगशाला बनाउने सरकारको दुष्प्रयास हो भने यो कुरामा आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठान समिति, आदिवासी समुदायलाई साथै सरोकारवाला पक्षलाई मान्य नहुने जानकारी गराउँदै तत्काल सो कार्य सच्याई आदिवासी रंगशालाकै नाममा बजेट बिनियोजन गर्नका लागि सरकारसँग जोडदार माग गरेको छ ।

आदिवासी रंगशाला निर्माणको सुरुवात

झापा जिल्ला कमल गाउँपालिका–५ (साविक लखनपुर गाविस–१) स्थित रतुवामाई वृक्षरोपण क्षेत्र भित्र पर्ने शसस्त्र प्रहरी बल पाथिभरा गणको दक्षिण, पूर्व पश्चिम लोकमार्गको उत्तर, गेउरिया खोला पश्चिम र लखनपुर खानेपानि तथा सरसफाई उपभोक्ता समितिको कार्यालयको पूर्व चार किल्ला भित्र पर्ने करिब ३२ विगाह भू–भाग परापूर्व कालदेखि आदिवासी समुदायले समाधिस्थल (चिहान) को रुपमा प्रयोग गर्दै आएका थिए । तर, सो क्षेत्रमा शसस्त्र प्रहरी बल पाथिभरा गण स्थापनापछि आदिवासी समुदायलाई समाधिस्थलमा रोक लगाइयो ।
समाधिस्थलमा रोक लगाइएपछि आदिवासी समुदायले विरोध गर्यो ।

आदिवासीको विरोधपछि समाधिका लागि पुरानो समाधिस्थलको पूर्व क्षेत्रमा ठाउँ तोकियो र २०६६ पौष १ गते तत्कालिन गणपति गणेश ठाडा मगरको अगुवाईमा त्यस क्षेत्रमा रहेका ७ सय ४५ चिहान हटाएर दिवंगतहरुको सम्मान र सम्झनामा अन्तराष्ट्रिय स्तरको “आदिवासी रंगशाला सहित स्मृति पार्क निर्माण गर्ने सहमति भयो । आदिवासी रंगशाला निर्माण गर्न आदिवासी समुदाय, सशस्त्र प्रहरी बल पाथिभरा गण, राजनीतिक दल र नेपाल सरकारका स्थानीय प्रतिनिधिबीच सहमति भएको थियो । त्यसपछि आदिवासी रंगशाला निर्माण प्रारम्भ भयो ।

सरकारले आर्थिक वर्ष २०६७/०६८ मा ‘आदिवासी रंगशाला’ निर्माणकालागि एक करोड बजेट बिनियोजन गर्यो । बजेट बिनियोजन पछि तत्कालिन रक्षामन्त्री तथा वर्तमान महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीले ‘आदिवासी रंगशाला’को शिलान्यास गर्नु भयो । पहिलो पटक आदिवासी रंगशालाकै नाममा बजेट बिनियोजन भएपछि सो क्षेत्रमा रहेको चिहान भत्काउने, मैदान सम्याउने, स्मृति स्तम्भ निर्माण गर्ने लगायतका आधारभूत काम भयो ।

त्यसपछि आर्थिक वर्ष २०७०/०७१ मा डेढ करोड रकम आदिवासी रंगशालाकै नाममा बिनियोजन भयो । त्यसैगरी आर्थिक वर्ष २०७१र०७२ मा ३५ लाख रुपैयाँ बजेट बिनियोजन गरियो । तर, आर्थिक वर्ष २०७२/७३ मा भने ‘मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला’ को नाममा ४० लाख रुपैयाँ बजेट बिनियोजन गर्ने गलत काम भयो ।