नगरवासीसँग रहेर नगरको विकास गर्ने: नगर प्रमुख राना « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

नगरवासीसँग रहेर नगरको विकास गर्ने: नगर प्रमुख राना


यलम्वर टाइम्स
४ असार २०७५, सोमबार १३:१४

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले नगरपालिकाको समृद्धिका लागि नगरबासीसँगै रहेर सहकार्य गरी अगाडि बढ्ने बताएका छन् ।

सोमबार शनिश्चरे स्थित आदिवासी जनजाति सामुदायिक भवनमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा ०७४÷०७५ मा सम्पन्न भएका योजना तथा कार्यक्रम र सेवा प्रवाह सम्बन्धी आफ्नो विचार राख्दै यस्तो बताएका हुन् ।

प्रमुख रानाले समृद्धिका लागि नागरिकको सक्रियता आवश्यक हुने बताएका छन् । रानाले भने, –‘हाम्रो नगर राम्रो नगर बनाउन नगरवासीहरुको उपस्थिति जरुरी छ । विकासका कार्यमा नागरिक सहभागी हुन आवश्यक छ ।’

उनले भने –‘नागरिकहरुले अपेक्षा गरेअनुसार सुधार हुन सकेको छैन, तपाईले दिएको जिम्मेवारी पूरा गर्ने चरणमा हामी छौं ।’ उनले थपे– व्यवस्थित बसोबासका लागि पेरुङ्गे खोल्सीको ८ वस्तीलाई स्थान्तरण कार्य अगाडि बढाइएको छ ।’

उनले आफू निर्वाचित भएपछि अर्जुनधारा नगरको विकासमा एक वर्षभित्र गरिएका कार्यहरु १४ बुँदामा प्रस्तुत गरेका थिए ।

प्रमुख रानाले नगर स्तरीय २५ वटा योजना सम्पन्न भएको, नगरस्तरीय ठूला योजना १९ वटा, वडास्तरीयमा ३७१ वटा सम्पन्न भएको समेत बताएका छन् ।

रानाले २९ पटक बोर्ड बैठक बसेको बताउँदै पूर्वाधार निर्माणमा २० करोड ५९ लाख २५ हजार ४४१ रुपैयाँमा त्यसतर्फ खर्च १६ करोड २५ लाख ६२ हजार २५४ रहेको बताए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा पुल नहर, खानेपानी जस्ता कार्यमा अगाडि बढेको, सुशासनमा नगर सचेत भएर लागेको, शिक्षा, स्वास्थ्य, कृषितर्फ पनि नगरको ध्यान त्यतिकै पुगेको बताउँदै आयुर्वेद औषधिलाई उपयोग गर्नका लागि औषधि खरिददेखि लिएर बालमैत्री, वातारणमैत्री, अपाङ्गमैत्री, ज्येष्ठ नागरिकमैत्री जस्ता कार्य गरिएको बताएका थिए ।

खेलकुद, न्यायिक समिति, फोहोरमैला व्यवस्थापन, सिचाईंतर्फ केन्द्रीत हुँदै काम अगाडि बढाइएको बताउँदै पशु विकासतर्फ अनुदान, रेविज रोग नियन्त्रण उन्नत जातका बोका वितरण जस्ता कार्यहरु गरेको समेत बताए ।

सूचना र सञ्चारको पहूँचबाट आम नागरिकलाई पारदर्शी होस् भनी सञ्चारमैत्री नगर बनाएको समते बताए । प्रमुख रानाले स्थानीय सञ्चार माध्यमलाई प्रोत्साहन गर्दै पारदर्शी र जवाफदेहीको लागि विभिन्न सञ्चारमाध्यममा सहकार्य गरेको समेत बताए ।
पर्यटन, प्राकृतिक प्रकोप जस्ता कार्यमा नगरको ध्यान गएको बताउँदै भावि कामहरु पारदर्शी रुपमा अगाडि बढाउने समेत बताए ।

उपप्रमुख कमला आचार्यले स्वागत गरेको कार्यक्रममा विषयमा आधारित सम्बन्धित कार्यालयका प्रमुखहरुलाई पुनम सुवेदी, टेकनाथ अधिकारी, होमा पोखरेल, लिला आचार्य, डीबी चम्लगाई, डम्बर प्रसाई, भिमबहादुर श्रेष्ठ, लक्ष्मी पौडेल, इन्द्रमणि पौडेल, श्याम निरौला, भोलानाथ बराल, विदुर भट्टराई, प्रसाद गुरागाई लगायतले प्रश्न गरेका थिए ।

कार्यक्रममा पशु सेवा विभागका पदमलाल राई, इन्जिनीयर निरज अधिकारी, स्वास्थ्यका मुकुन्द बस्नेत, प्रशासकीय प्रमुख राधाकृष्ण खतिवडा र सम्बन्धित वडाध्यक्षहरुले प्रश्नको जवाफ दिएका थिए ।

विजय तिम्सिनाले सञ्चालन गरेको कार्यक्रममा नगर क्षेत्रका विभिन्न संघसंस्थाहरुको प्रतिनिधित्व रहेको नगर कर्मचारी खगेन्द्र लिङ्देनले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति हेमराज खरेल, एमालेका कुसुम राई, प्रेस क्लब अध्यक्ष कुमार भट्टराई लगायतको आतिथ्य रहेको थियो ।