७ महिने छोरा बचाई दिन आग्रह « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

७ महिने छोरा बचाई दिन आग्रह


यलम्वर टाइम्स
५ असार २०७५, मंगलवार १२:५३

[राजन साम्पाङ]

अर्जुनधारा । झापा अर्जुनधारा–७ निवासी गंगा र अमृता गुरागाईको परिवार सात महिना अघि अत्यन्त खुशी देखिन्थ्यो । दोस्रो सन्तानको रुपमा सात महिना अघि छोरा जोसनको जन्म भएपछि उनीहरु खुशी नहुने कुरै थिएन । मजदुरी गरी गंगाले कमाएको थोरै पैसामा गुरागाईं परिवार सन्तुष्टिमै जीवन गुजारा गरिरहेका थिए ।

तर, सात महिने काखे छोराको मुटुमा प्वाल परेको कुरा थाहा भएपछि उनीहरुमा अहिले चिन्ता छाएको छ । छोरा एक्कासी बिरामी भएपछि उनीहरुले दुई महिना अघि निमोनीयको शंकामा बिर्तामोडको विर्ता सिटी हस्पिटल पुर्याएका थिए । विर्ता सिटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पुर्याएका थिए ।

‘त्यहाँ पुर्याएपछि थाहा भयो छोराको मुटुको दायाँ भागमा ७ एमएमको प्वाल रहेछ’ गंगा भावविव्हल हुँदै भन्छन् –‘प्वालको कारण मुटुको बायाँ भाग सुनिएको र तौल पनि घट्दै गएको हुँदा डाक्टरले तत्कालै अप्रेसन गर्नुपर्छ भन्नुभएको छ, तर हामीसँग पैसा छैन ।’

उपचारमा संलग्न डाक्टरको भनाई उधृत गर्दै गंगा भन्छन् –‘अप्रेशनका लागि करिब ७ लाख रुपैयाँ लाग्ने छ ।’ मजदुरी गर्दै जीवनयापन गर्दै आएका गंगाले छोरोको उपचारमा हालसम्म ४० देखि ५० हजार रुपैयाँसम्म खर्च भएको बताएका छन् ।

अर्जुनधारा जेसीजले आयोजना गरेको पत्रकार सम्मेलनमा आमा अमृताले आँसु झार्दै खर्च अभावले छोराको उपचार नहुने हो कि भन्ने चिन्ता लागेको बताउँदै आफ्नो छोरोको जीवन बचाई दिनका लागि सबैसँग आग्रह गरिन् ।

सोही दिन जेसिजका उपाध्यक्ष निर्मल काफ्लेको संयोजकत्वमा पाँच सदस्यीय जोसन बचाउ अभियान समिति गठन गरिएको छ । समितिको सचिव कमल पोखरेल, कोषाध्यक्ष जीवन खनाल र सदस्यहरुमा जेसीजका कार्यकारी उपाध्यक्ष टीकाराम गौतम, कानूनी सल्लाहकार सुरेश थापा रहेका छन् ।

बचाउ अभियानलाई सफल बनाउनका लागि नवगठित समितिसँगै जेसीज संस्थापक अध्यक्ष इन्दिवर खड्काको संयोजकत्वमा वर्ष १४ का अध्यक्ष बसन्त सोमानी, वर्ष १५ का अध्यक्ष दिपीन राई, वर्ष १६ का सार्दूलहाङ ओली र वर्ष १७ का अध्यक्ष प्रल्हाद ढुंगाना सहितको पाँच सदस्य समन्वय समिति गठन गरिएको जनाइएको छ भने जेसीज अध्यक्ष अजय देवको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव देवेन्द्र मैनालीले गरेका थिए ।

पूर्व अध्यक्षहरु समावेश उक्त समन्वय समितिले जोसनको उपचारका लागि खर्च तथा सम्बन्धित निकायमा पहल गर्ने अभियानका संयोजक काफ्लेले बताए ।