मुख्यमन्त्री राईले गरे अर्जुनधारा नगरपालिकाको चार क्षेत्रमा निरीक्षण « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

मुख्यमन्त्री राईले गरे अर्जुनधारा नगरपालिकाको चार क्षेत्रमा निरीक्षण


यलम्वर टाइम्स
७ असार २०७५, बिहीबार १३:१४

अर्जुनधारा । मुख्यमन्त्री शेरधन राईले विकासको कार्यमा ढिला गरिनु नहुने बताएका छन् । विहीबार अर्जुनधारा नगरपालिकाको दोस्रो नगर सभाको शुभारम्भको अवसरमा सम्बोधन गर्दै अब विकासका हरेक कार्यमा हामीहरुले सुस्ता अपनाइयौं भने संघीयता स्थायीत्व हुन नसक्ने बताए ।

नेपालको समृद्धि २५ वर्षसम्ममा पूर्ण हुने भनिएतापनि मुख्यमन्त्री राईले विकासका आधारमा विश्वासनीयता कायम राख्दै अगाडि बढ्ने हो भने नेपाल १५ वर्षमा समृद्ध राष्ट्र बन्न सक्ने बताए । राष्ट्र, राष्ट्रियता र समृद्ध राष्ट्र हाम्रै पालामा गर्नुपर्ने बताउँदै कुनै पनि काम परिणामुखि र दीर्घकालिन हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले मुलुकले तीनै तहबाट कार्यान्वयन गर्ने पाटो निर्माण भइसकेको हुँदा हरेक कार्यक्रम दीर्घकालिन भए त्यसले विकासमा टेवा पुग्ने बताउँदै आफ्नो ठाउँ र आफ्नो नगरलाई समृद्ध नगर बनाउन बाहिरका मानिसबाट नभई आफ्नो ठाउँ वा नगरवासीहरु लाग्नु पर्नेमा जोड दिए ।

जनप्रतिनिधिहरुले प्रशस्त अधिकार पाएको हुँदा त्यसलाई सही सदुपयोग गरेर अगाडि बढे जनताले दुःख नपाउने बताउँदै प्रदेशबाट समृद्ध नगर बनाउनका लागि सहयोग गर्ने जोड दिए ।

नगर प्रमुख हरिकुमार रानाको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि प्रदेश सांसद बृख प्रधान, जिल्ला समन्वय समितिका सभापति सोम पोर्तेल लगायत नगरपालिकाका निर्वाचित पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री राईले प्राथमिक स्वास्थ्य केन्द्र २४ सैं घण्टा सेवा सुचारु हुने समेत उद्घाटन गरेका थिए । उनले २५ सैय्याको अस्पतालको लागि प्रदेशलाई प्रपोजल पेश गर्न अनुरोध गरेका थिए ।

स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतको अगुवाईमा नगर प्रमुख हरिकुमार रानाको उपस्थितिमा अस्पतालको समस्या र पुर्याउँदै आएको सेवा बारे मुख्यमन्त्री राईलाई दर्शाएका थिए ।

यसरी नै सोही दिन मुख्यमन्त्री शनिश्चरे बहुमुखी क्याम्पसको समेत निरीक्षण भ्रमण भरेका थिए । भ्रमणका क्रममा क्याम्पस प्रमुख मोहन ओलीले क्याम्पसको समस्या र शैक्षिक प्रतिष्ठान निर्माण गर्ने विषयमा आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा मुख्यमन्त्री राईले क्याम्पसको प्रशस्त जग्गा भएतापनि क्याम्पस निर्माण कार्य अधुरै भएको देखिएको हुँदा क्याम्पसलाई आवश्यक प्रपोजल तयार पारी नगरमार्फत प्रदेशमा आए सहयोग गर्ने वचन दिएका थिए ।

क्याम्पसमा भएको अन्तरक्रियामा अध्यक्ष सरोज ओली, उपाध्यक्ष हेमराज खरेलले समेत सहयोग गर्न र शैक्षिक प्रतिष्ठान निर्माण गर्न नगरसँगै प्रदेशको ध्यान केन्द्रीत होस् भनी सुझाएका थिए ।

अन्तरक्रियामा नगर प्रमुख हरिकुमार राना, प्रदेश सांसद बृख प्रधान, वडा नं. १० का अध्यक्ष बलदेव गोम्देन, नेकपा नगर अध्यक्ष प्रेमसागर सापकोटा, महिला नेतृ कुसुम राई लगायतको उपस्थिति थियो ।

सोही दिन मुख्यमन्त्री राईले पूर्व पशुपतिनाथ अर्जुनधारा जलेश्वर धामको समेत दर्शन गरेका थिए । दर्शनका क्रममा राईले धामका उपाध्यक्ष भिमचन्द्र भट्टराईसँग यसका ऐतिहासिक महत्वका विषयमा जानकारी लिएका थिए ।

दर्शनपछि धाम समितिले दोसल्ला ओढाई मुख्यमन्त्री राईलाई सम्मान समेत गरेका थिए । सम्मानसँगै धामको स्तरोन्नतिका लागि धामका उपाध्यक्ष अम्बिका खतिवडाले आग्रह गरेको बताएका थिए ।