अर्जुनधारामा अर्जुनलाई छाडेको दिन « Yalambar Times
२३ बैशाख २०८१, आईतवार

अर्जुनधारामा अर्जुनलाई छाडेको दिन


यलम्वर टाइम्स
११ असार २०७५, सोमबार ०९:५७

दिवांगत भएका सशस्त्र प्रहरी बल पकलीका जवान अर्जुन बस्नेत ।

सूर्यप्रसाद धमला विपद् व्यवस्थापन तालिममा आउँदा सशस्त्र प्रहरी बलका सई पदमा थिए । दुई हप्ता पछि आउँदा धमला प्रहरी निरीक्षक पदमा देखिए । काँधमा फूलि बढ्दा प्रहरी प्रशासनमा गौरवको समय मानिन्छ ।

यो वर्ष या महिना उनी र उनको परिवारमा खुशीको समय ठानिन्छ । तर, गत शनिबार विपद् व्यवस्थापनको समापन कार्यक्रममा उनको मन खुशी थिएन । अनुहारमा चमकता पनि देखिएन । डराएको जस्तो, कतै केही हुन्छ कि जस्तो मनस्थितीमा उनी देखिन्थे ।

३ हप्ता अघि अर्जुनधारा नगरपालिकाले नगरबासीलाई विपद्बाट कसरी बचाउँन सकिन्छ भन्ने विषयमा ४ दिन प्रशिक्षण सहित ज्ञान दिँदै गर्दा विपद् व्यवस्थापनमा सहजकर्ताको भूमिका निर्वाह गर्न आएका टिमका एक कुशल प्रशिक्षक अर्जुन बस्नेतको दुःखद् विदारक भएपछि उनीमात्र होइन, उनको टिमको होस् हवास उडेको थियो ।

सशस्त्र प्रहरी बल पकलीका विपद् व्यवस्थापन टिमबाट अर्जुन सहित ११ जना प्रशिक्षकहरु जेठ २१ गते अर्जुनधारा नगरपालिकाले निम्त्याएका थिए । सशस्त्र प्रहरी निरीक्षक उत्तम बस्नेतको टोलीसहित आएको टिमले पहिलो दिन विपद् व्यवस्थापन सम्बन्धि शिक्षा प्रदान गरेका थिए ।

दोस्रो दिन आगोबाट बच्ने, बचाउने उपायको तालिम दिएका थिए । तेस्रो दिन बाढीबाट बच्ने र तटबन्धन कसरी गर्ने भन्ने विषयमा सौहार्द पूर्ण वातावरणमा तालिम भएको थियो । तालिममा नगरभरीका ४० वर्ष मुनिका एक सय २० भन्दा बढीको उपस्थिति थियो ।

तालिम रोचक र उपयोगी भएको हुनाले तालिम भरी कोही सहभागिहरु घटेका थिएनन् । प्रशिक्षकहरुले मिहनतका साथ तालिम प्रदान गरेका थिए । साँझ खाना खाई बिश्राम गर्ने बेलामा अर्जुन खान्की होटलको झ्यालबाट खसेर मृत्यु भएको घटनाले सिङ्गो टिमलाई दुखित बनाएको समापन कार्यक्रममा मन्तव्य राख्दै मधुरो स्वरमा निरीक्षक धमलाले बताए ।

निरीक्षक धमलाले अर्जुनको कलाकौशलको व्याख्या गर्दै भने, ‘विपद्मा फसेका धेरै मानिसको ज्यान जोगाएका छन् अर्जुनले । त्रिशुली नदीमा खसेका उच्च पदाधिकारीदेखि सर्वसाधारण सैयौंको ज्यान निकालेका छन् । खोलामा हराएका सामानहरु भेटाएका छन् । तर, उनलाई बचाउने प्रयास गर्दागर्दै नसक्दा हामी हारेका छौं ।’

अर्जुन सशस्त्र प्रहरी बलका तालिम प्राप्त जवान मात्र होइनन्, विपद् व्यवस्थापन सम्बन्धि दखल राख्ने जवान हुन् अर्थात् गोताखोर (नदी वा समुद्रमा डुबेका मानिस वा सामग्री निकाल्ने मानिस) । अर्जुन ३१ वर्षीय जवान हुन् । उनले केही वर्ष अघिमात्र विवाह गरेका थिए । निरीक्षक धमलाले अर्जुनको विवरण बताउँदै जाँदा उपस्थित सबै प्रशिक्षार्थीहरु भावुक भएर सुनिरहेका थिए ।

अर्जुनको सात महिने छोरा छन् । अनुहार पनि अर्जुनको जस्तै । उनी श्रीमतीसहित आमा बाबुसँगै बस्दै आएका थिए । तर, अर्जुनधारामा अर्जुनलाई छोड्दाको पीडा बिर्सन नसक्ने भएको अनुभव हाम्रो टिममा रहेको निरीक्षक धमलाले सुनाए ।

शनिबार भएको विपद् समापन कार्यक्रममा सशस्त्र प्रहरीलाई प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले सम्मान सहित प्रशंसा पत्र प्रदान गरेका थिए । पकलीबाट आएका सबै जवानहरुको उपस्थिति थियो ।

उद्घोषक नगरपालिकाका योजना अधिकृत हिमराज सेढाईले नाम बोलाउँदै जाँदा अन्तिममा अर्जुनको सम्मानपत्र रहेको थियो । उनको नाम त्यहाँ बोलाइएन । तर, विपद् तालिम दिन आउने जवानहरुमा अर्जुनको नाम छुट्दा अझ दुःख लाग्दो भएको सहभागि एक जवानले व्यक्त गरे ।

विपद् समापनको केही छिन् अघि बिहान ११ बजेबाट २ बजेसम्म श्री नयाँ श्रीनाथ गण चारआलीका क्याप्टेन दिनेश पन्तको नेतृत्वमा आएको टोलीले ४ घण्टा सर्पदंश सम्बन्धि जनचेतना तालिम प्रदान गरेका थिए । यस अघि विपद्मा सहभागि टिमलाई नै उक्त तालिम प्रदान गरिएको थियो । तालिममा ऋषिराज पोखरेल, जीवन बराल आदिले सहजीकरण गरेका थिए ।

तालिमकै समापनमा यस अघि विपद्बाट बच्ने तालिम दिने अर्जुनको दुःखद निधनको घटना सर्पदंश सम्बन्धि जनचेतना प्रदान गर्न आएका क्याप्टेन पन्तले सुनेपछि आफ्नो मन्तव्य क्रममा आफूलाई पनि नरमाइलो भएको बताउँदै यस क्षेत्रमा कुनै पनि विपद् आएपरे श्री नयाँ श्रीनाथ गण हदैव सक्रिय रहने प्रतिक्रिया दिए ।

त्यसो त सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन टोली केही दिनपछि झापामै आएर बस्ने प्रहरी निरीक्षक सूर्यप्रसाद धमलाले जानकारी दिँदै अर्जुनधारा क्षेत्रलाई विपद् आईपरे जस्तोसुकै सहयोग गर्न हाम्रो टोली तयार रहेको बताए ।

झापामा स्थानीय सरकार भएपछि पहिलो पटक अर्जुनधारा नगरपालिकाले विपद् सम्बन्धि तालिम प्रदान गरेर सचेत नगरपालिका हुन सफल भएको छ, अर्जुनधारा नगरपालिकालाई निरीक्षक धमलाले धन्यवाद प्रदान गरेका थिए ।

समापन समयमा नगर प्रमुख रानाले विपद् व्यवस्थापनमा सहजीकरण गर्ने सशस्त्र प्रहरी बल, सर्पदंश सम्बन्धि जनचेतना प्रदान गर्ने श्री नयाँ श्रीनाथ गणका टिमलाई धन्यवाद प्रदान गरेका थिए ।

सर्पदंश सम्बन्धि जनचेतना तालिममा नगरका उपप्रमुख कमला आचार्य, वडाध्यक्ष लगायत सहभागि भएको नगरपालिकाका खगेन्द्र लिङ्देनले जानकारी दिए ।

समापन कार्यक्रम अर्जुनधारा–७ स्थित पितृ भवनमा भएको थियो ।