विरही पुरस्कार यो पल्ट पत्रकार समदर्शीलाई « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

विरही पुरस्कार यो पल्ट पत्रकार समदर्शीलाई


यलम्वर टाइम्स
२२ श्रावण २०७३, शनिबार ०९:२४

samadarsiशनिअर्जुन / लामो समयदेखि पत्रकारिता पेशामा आवद्ध रमेश समदर्शी राई नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) झापा शाखाद्धारा स्थापित डिकमान विरही सुनुवार स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष सम्मानित हुने भएका छन् ।

विवेचना, जनचाहना, मुक्ति आवाज, विजयपुर, मेची टाइम्स र नेपाल समाचारपत्र हुँदै प्रतिदिन दैनिकमा कार्यकारी सम्पादक भएर काम गर्दै आएका समदर्शीलाई शुक्रबार फोनिज झापा अध्यक्ष गणेशमान मुखियाको सभापतित्वमा बसेको बैठकले सम्मान गर्ने निर्णय गरेको हो ।

महासंघको आगामी साउन २७ गते विहिबार आयोजना हुने १७औं स्थापना दिवसको अवसरमा उनलाई नगद पुरस्कार १३ हजार १७ रुपैयाँसहित सम्मानपत्रबाट सम्मानित गरिने फोनिजका प्रचारप्रचार संयोजक अमित खम्बूले बताए । पत्रकार समदर्शी खेलकुद पत्रकार संघ झापाका अध्यक्ष समेत भएर काम गर्दै छन् । शनिअर्जुन–२ निवासी समदर्शी फोनिज झापाका पूर्व अध्यक्ष समेत भएर काम गरिसकेका छन् ।

त्यसैगरी सोही दिन यस वर्षको उदीयमान पत्रकारिता पुरस्कारबाट आँगन एफएमकी पुष्पा सुब्बा र सनराइज एफएमकी शारदा खवासलाई जनही १५ सय १७ रुपैयाँसहित प्रोत्साहन पत्रबाट पुरस्कृत गरीने बताइएको छ । त्यस्तै सोही बैठकले नयाँ सदस्यताको लागि आव्हानसँगै फोनिजमा आवद्ध सदस्यहरुको चालु आर्थिक वर्ष ०७३÷०७४को सदस्यता नविकरण आगामी साउन २७ गते भित्र गर्नुपर्ने निर्णय पारित गरेको छ ।

बैठकबाट नयाँ सदस्य आव्हान तथा सदस्यता नविकरण उपसमितिको संयोजक उपाध्यक्ष कृष्ण सिंजाली, अमित खम्बू, र भारती राई चयन भएका छन् । विरही पुरस्कार यस अघि नकुल काजी, दिपीन राई, मदन ढकाल, लगायतले प्राप्त गरिसकेका छन् ।
यसरी नै इन्द्रमान देउमायाँ पत्रकारिता पुरस्कार धरमपुरका अनिलदेव राईलाई प्रदान गरिने भएको यायोक्खा सचिव दिपेनवाला राईले बताए ।