धार्मिक क्षेत्रको उज्वल अर्जुनधारा धाम « Yalambar Times
३१ बैशाख २०८१, सोमबार

धार्मिक क्षेत्रको उज्वल अर्जुनधारा धाम


यलम्वर टाइम्स
१४ श्रावण २०७५, सोमबार १०:०१

अर्जुनधारा । श्रावणी महिना, शिवको विषेश महिमा बोकेको महिना भएको हुँदा यस समयमा जलाशायबाट जल लिएर शिव प्रतिस्थापन भएको ठाउँमा जल चढाए मनोकांक्षा पुरा हुने किवदंती छ । त्यसैले होला अधिकांश सनातनी धर्म आवद्ध मानिसहरु यो महिनाभरि शिवालयमा गएर जल चढाउने गर्छन् । साउन महिनाको पहिलो सोमबार अर्जुनधारा जलेश्वरधाममा पहिलो पटक धेरै धर्मावलम्बीहरु जल चढाउन आएको पाइयो ।

पूर्वकै धार्मिक आस्थाको केन्द्र जलेश्वरधाम भएको हुँदा जल लिएर जल चढाउन आउनेहरुको लर्को उल्लेखिय थियो । कोही बोल बम भन्दै आउँथे । कोही हर.. हर… महादेव भन्दै आएर जल चढाएका थिए । अर्जुनधारामा श्रावणी पर्व जल चढाउनेहरुलाई धामका गुरुहरुबाट त्रिकोणात्मक चन्दको टीका ग्रहण गराउथे ।

स्व. गुरु पुष्पलाल निरौलाले आत्मा शान्ति, विश्व शान्ति र पृथ्वी लोकमा भएका सबै शान्ति भनी आशिर्वाद दिँदै त्रिकोणात्मक चन्दन लगाइदिएपछि हाल प्रत्येक श्रावणमा धामका अन्य गुरुहरुले यसरी नै त्रिकोणात्मक चन्दन लगाइदिने चलन चलेको हामी पाउँछौं । जो कोही मानिस साउनमा त्रिकोणात्मक चन्दनको टीका लगाइएको भेटीमा यी मानिस अर्जुनधारा धाम दर्शन गरेर आएका हुन् भन्ने पहिचान समेत उनको निधारको टीकाले दर्शाउने गर्छ ।

साउनभरि यज्ञ, होमादीसँगै रुद्राभिषेक गर्ने चलन छ । रुद्राभिषेक पूजा गरिए शिवजी खुशी भएर इच्छाएको पुग्ने भन्दै दिनहूँ उक्त पूजा भईरहेको धामका सदस्य सुरेन्द्र शाहले बताए ।

पूर्वकै गुरुकूलको रुपमा सुरु भएको जलेश्वरधाममा साउनभरि गुरुकूलका विद्यार्थीहरुले बाहिरबाट आउने धर्मानुरागीहरुलाई पूजा आराधानामा सहयोग गरिरहेको पाउँछौं ।

सोमबारका दिन धामका प्रायः समिति तथा उपसमितिहरु सेवा प्रदान गर्नमा सक्रिय देखिन्छन् । धामका कोषाध्यक्ष मनोज जोशी भन्छन्, ‘आउने प्रत्येक सोमबारमात्र होइन आईतबारबाटै दर्शन गर्न आउने धर्मानुरागीहरुको सेवामा चिया, चिसो पानी र निःशुल्क स्वास्थ्य सेवा समेत प्रदान गरिने छ ।’

धामको मूख्य लक्ष्य धामलाई फराकिलो र सुन्दर बनाउनु हो । त्यतिमात्र होइन पूर्वकै गहना भएको कारण धर्मावलम्बीहरुले प्रदान गरेको दान धामको स्तरोन्नतिका लागि खर्चिएको समेत कोषाध्यक्ष जोशीले बताए ।

धामका अर्का सदस्य शेखर प्रधानका अनुसार साउनको अन्तिम साता विभिन्न कार्यक्रम गरी मनाइने भएको हुँदा त्यस दिन विशेष हुने बताउँदै जलेश्वरधामको अर्को गहनाको रुपमा रहेको पुष्पलाल स्मृति भवन निर्माणमा धामले सबैसँग सहयोगको आह्वान गरेको समेत बताए ।

अर्जुनधारा धाममा दैनिक बिहान योगा भइरहेको हुँदा निःशुल्क योग शिविरका कारण विस्तारै धामबाट आयुर्वेद औषधि उपचारको समेत व्यवस्था मिलाएर लान सकिने योगा गुरु डा. रमेश पोखरेलले जानकारी दिए । योगा गर्नका लागि खुला र फराकिलो स्थान भएको कारण योगा गर्न आउनेहरुको संख्या उल्लेखिय छ ।

साउन महिनाको दोस्रो सोमबार (आज) पनि जल चढाउन आउनेको भक्तजनहरुको संख्या उल्लेखीय रहेको धाम समितिले जनाएको छ ।