आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट चार पत्रकार पुरस्कृत हुने « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट चार पत्रकार पुरस्कृत हुने


यलम्वर टाइम्स
१६ श्रावण २०७५, बुधबार ०८:१५

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुन लागेका पत्रकारहरु क्रमशः मगर, शेर्पा, चौधरी र आङ्ला ।

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’बाट पुरस्कृत हुने चार पत्रकारको नाम सार्वजनिक गरेको छ ।

पुरस्कार छनौट समितिको २०७५ साउन १४ गते बसेको बैठकले गरेको पुरस्कार छनौट सम्बन्धी निर्णय २०७५ साउन १५ गते बसेको फोनिज सचिवालय बैठकले अनुमोदन गर्दै पुरस्कृत पत्रकारको नाम सार्वजनिक गरेको हो ।

फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकारहरु उजिर मगर (अनलाईन), भैरव आङला (टेलिभिजन), छेटु शेर्पा (छापा) र कमला चौधरी (रेडियो) विधामा पुरस्कृत हुने भएको फोनिजका संगठन सचिव मिलन लिम्बूले जानकारी दिएका छन् ।

जनही ४०,००० (चालिस हजार रुपैयाँ) राशीको पुरस्कार २०७५ साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा आयोजना गरिने ‘१९औं स्थापना दिवस तथा पुरस्कार वितरण समारोह–२०७५’ कार्यक्रममा प्रदान सचिव लिम्बूले जानकारी दिएका हुन् ।

उजिर मगर

२०५२ सालमा हाँक साप्ताहिकबाट पत्रकारिता गरेका उजिर मगरले महिमा साप्ताहिक, कान्तिपुर दैनिक र नागरिक दैनिकमा लामो समय काम गरिसकेका छन् ।

हाल एभरेष्टदैनिक डटकममा कार्यरत मगर नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव हुन भने फोनिजका सल्लाहकार समेत हुन् ।

भैरव आङ्ला

२०५६ सालमा मिराक साप्ताहिकबाट पत्रकारिता सुरु गरेका भैरव आङ्लाले न्यूज टाइम्स साप्ताहिक, मर्निङ पोष्ट दैनिक, खबर पत्रिकार साप्ताहिक, भूगोल साप्ताहिक, धरान टाइम्स दैनिक, सयपत्री दैनिक र सप्ताकोसी एफएममा काम गरिसकेका छन् ।

सुनसरीबाट एबीसी टेलिभिजनमा काम गरिरहनु भएका आङला धरानको विजयपुर एफएमका कार्यक्रम संयोजक पनि हुन । उनले लिम्बू भाषामा रेडियो कार्यक्रम उत्पादन तथा प्रशाणरण गरेर मातृभाषा बिकासमा समेत उनले योगदान पुर्याउँदै आएका छन् ।

छेटु शेर्पा

२०६३ सालदेखि ब्लाष्ट टाइम्स दैनिकबाट पत्रकारिता सुरु गरेका छेटु शेपाले गोरखापत्र दैनिक, सगरमाथा टेलिभिजन र न्यूज २४ टेलिभिजनमा काम गरिसकेका छन् ।

हाल अन्नपूर्ण दैनिकमा कार्यरत शेर्पा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य समेत हुन् ।

कमला चौधरी

२०६२ सालदेखि पत्रकारिता सुरु गरेका कमला चौधरीले रेडियो तुलसीपुर, रेडियो बागेश्वरी लगायतमा काम गरिसकेका छन् ।

हाल बाँकेको नेपालञ्ज स्थित रेडियो सदभावमा कार्यरत चौधरीले पत्रकारिता जीवनको सुरुवातदेखि नै थारु भाषा विकासमा योगदान पुर्याउँदै आएका छन् ।