अर्जुनधाराका वडा सदस्यहरु भन्छन्, ‘कार्यवाहक सम्हाल्दा आत्मासन्तुष्टि’ « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

अर्जुनधाराका वडा सदस्यहरु भन्छन्, ‘कार्यवाहक सम्हाल्दा आत्मासन्तुष्टि’


यलम्वर टाइम्स
१९ श्रावण २०७५, शनिबार ०२:४९

अर्जुनधारा । ऐतराज नेम्वाङ वडा नं. ७ का नगर सदस्य हुन् । व्यवसायले उनी ठेकेदार भएतापनि गत स्थानीय निर्वाचनमा मज्जाले मत प्राप्त गरेर नगर सदस्यमा निर्वाचित भएका हुन् ।

उनी निर्वाचनमा जानु अघि वडाको समस्या र समाधानका विषयमा लाग्ने छु भन्दै जनतासँग मत माग्न पुगेका थिए । आज उनी वडा नं. ७ का कार्यवाहक अध्यक्षको पद सम्हाल्न पुगेका छन् । रातो डटपेनले आधिकारिकताको प्रमाणपत्र प्रमाणित गर्दा साच्चै पो ! जिम्मेवार मान्छे भएको महशुस गरेको बताउँछन् ।

समाचार संकलनको विषयमा यलम्वर टाइम्सको टीम वडा नं. ७ मा पुग्दा नेम्वाङ भकाभक रातो डटपेनले सही गर्दै प्रमाणिकरण गरिरहेका थिए । वडाध्यक्ष नवराम ढुंगाना स्थानीयताको गतिविधिलाई नियाल्न मेची–महाकाली अवलोकन भ्रमणमा निस्कदा ढुंगानाले ऐतराजलाई कार्यवाहक सुम्पिएर गएका थिए ।

यसरी नै वडा नं. ४ मा अध्यक्ष दुर्गाप्रसाद दाहालले वडा सदस्य मोहनप्रसाद खतिवडालाई कार्यवाहक प्रदान गरेको बताए । दाहाल नहुँदा खतिवडाले नागरिकता बाहेक सबै जिम्मा दिएको हुँदा अहिले जनताको काममा व्यस्त भएको महशुस भएको बताए । उनीसँगै वडा सदस्य राधिका जवेगु पनि थिइन् ।

उता वडा नं. ५ का ध्यानबहादुर भारतीले वडा सदस्य खड्गप्रसाद चौहानलाई कार्यवाहक दिएको बताएका छन् । जनताको कामलाई कुनै हालतमा नरोक्नका लागि वडा सदस्य चौहानलाई कार्यवाहक सुम्पिएको हो ।

कार्यवाहक सम्हाल्दै चौहान भन्छन्, ‘अध्यक्ष हुनुको मज्जा नै बेग्लै रहेछ ।’ आफू वडा सदस्य भएतापनि कार्यवाहक पाउँदा आत्मासन्तुष्टि भएको बताए । वडा नं. ५ को कार्यालय पुग्दा कार्यवाहक अध्यक्ष चौहान स्थानीय हरिप्रसाद पौडेललाई ज्येष्ठ नागरिकताको प्रमाणपत्र वितरण गर्दै थिए ।

यसरी नै वडा नं. १ का अध्यक्ष गजाधर खतिवडाले वडा सदस्य माधवप्रसाद आचार्यलाई कार्यवाहक प्रदान गरेका छन् । कार्यवाहक प्राप्त भएपछि आचार्य भन्छन्, ‘बिहान १० बजे आउने गरेको छु । त्यस समयमा वडाका अनगिन्ती समस्यालाई निर्देशिका अनुसार प्रमाणिकरण गर्दा सन्तुष्टि मिल्दो रहेछ । त्यसैले नागरिकता र मुख्य काम बाहेक सानातिना काममा व्यस्त छु ।’

उनी जस्तै वडा नं. ३ का कार्यवाहक सीताराम भट्टराई पनि व्यस्त देखिन्छन् । वडाध्यक्ष जीवन भण्डारीले भट्टराईलाई जनताको काम नरोक्न भनी कार्यवाहक दिएका हुन् । कार्यवाहक पाएपछि भट्टराई भन्छन्, ‘मुख्य त बर्खाको कारणले पनि होला सेवाग्राहीहरु त्यतिधेरै आउनु भएको छैन । सानातिना काम मिलाएर गर्दा वडा सदस्य भएको सन्तुष्टि मिलेको छ ।’

उता वडा नं. २ का अध्यक्ष रघुनाथ खनालले वडा सदस्य राजेन्द्र वाग्लेलाई कार्यवाहक प्रदान गरेका छन् । साविक खुदुनाबारी गाविसमा वडा कार्यालय रहेको हुँदा जनतालाई कठिन आई नपरोस् भनी उनलाई कार्यवाहक दिएको अध्यक्ष खनालले बताए ।

यसरी नै वडा नं. १० का अध्यक्ष बलदेव गोम्देनले वडा सदस्य भोलानाथ गौतमलाई कार्यवाहक दिएको अध्यक्ष गोम्देनले बताए । विभिन्न कार्यक्रम चलिरहेको बेला कार्यवाहक नदिँदा जनताले सास्ती पाउँछन् भनेर गौतमलाई कार्यवाहक सुम्पिएको बताए । उक्त वडामा ठूला कार्यक्रम चलिरहेको हुँदा यो बेला गौतम आफ्नो वडामा व्यस्त भएको देखिन्थे ।

यसरी नै वडा नं. ९ का अध्यक्ष पुष्पकुमार प्रसाईले बोर्ड सदस्य हरिमाया भण्डारीलाई कार्यवाहक प्रदान गरेका छन् । जनताको कामका लागि वडा सधैं जिम्मेवार भएको हुँदा महिला प्रतिनिधि भण्डारीलाई कार्यवाहक जिम्मा दिएका हुन् ।

वडाहरुमा कार्यवाहक पाउने मध्ये भण्डारी एकमात्र महिला कार्यवाहक हुन् । उनी बिहान समयमै कार्यालय आएर सिफारिस गर्ने कार्यमा सक्रिय भएको देखिन्छिन् ।

यसरी नै वडा नं. ६ का अध्यक्ष लोकनाथ गौतमले वडा सचिव धनबहादुर खड्कालाई कार्यवाहक सुम्पिएका छन् भने वडा नं. ८ का वडाध्यक्ष गोपीचन्द्र गौतमले भने कसैलाई कार्यवाहक प्रदान नगरेको बताए ।

अध्यक्ष गौतमका अनुसार वडा सचिव सस्मिता लुईटेल पनि अध्यायन अवलोकन भ्रमणमा संलग्न भएको कारण कार्यवाहक सुम्पिदा पनि कार्यालयका जिम्मेवार कर्मचारी नभएपछि कार्यवाहक दिनुको अर्थ नभएको बताए ।

जनताको काममा केही अवरोध देखिएतापनि सात दिन पछाडि ति कामहरुलाई मिहनतका साथ समाधान गर्ने पाटोमा लाग्ने बताए ।

यसरी नै वडा नं. ११ का अध्यक्ष भैरवबहादुर खड्काले नगर सदस्य मनकुमार योगीलाई कार्यवाहक जिम्मा दिएका छन् ।

जनतालाई आइपर्ने समस्या फुकाउन सजिलो होस् भनी खड्काले योगीलाई कार्यवाहक दिएका हुन् । कार्यवाहक पाएपछि योगीले भने, ‘साच्चैको जिम्मेवारी वहन भएको महशुस गरें ।’

नागरिकता बाहेक अन्यमा सिफारिस गर्दा जिम्मेवार भएर काम गर्नुपछ भन्ने महशुस भएको योगीले बताए ।