सरकारले आदिवासी जनजातिहरुको अधिकारलाई कुण्ठित गरेको छ : अध्यक्ष राई « Yalambar Times
४ जेष्ठ २०८१, शुक्रबार

सरकारले आदिवासी जनजातिहरुको अधिकारलाई कुण्ठित गरेको छ : अध्यक्ष राई


यलम्वर टाइम्स
२४ श्रावण २०७५, बिहीबार १२:५४

[राजन साम्पाङ]

अर्जुनधारा । स्थानीय तह, प्रदेश र केन्द्रीय गरी तीन वटै तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिहरु आएको एक वर्ष बितिसक्दा पनि आदिवासी जनजातिहरुको हक हितमा कुनै काम नभएको भन्दै वक्ताहरुले आक्रोश व्यक्त गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधाराको आयोजनामा शनिश्चरे स्थित देवकोटा चोकमा भएको २४ औं विश्व आदिवासी दिवसमा आक्रोश व्यक्त गरेका हुन् ।

नगरमा रहेका १५ वटा जातीय संस्थाहरुको झाँकी सहित नगर परिक्रमा गरी शुरु गरिएको कार्यक्रममा सम्बोधन गर्दै महासंघ झापाका अध्यक्ष पारसमणि राईले राज्य सरकारले आदिवासी जनजातिहरुको हक अधिकारलाई कुण्ठित गरेको आरोप लगाएका छन् ।

प्रमुख अतिथि समेत रहेका राईले लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ र आत्मसम्मानका लागि आदिवासी जनजातिहरु पटक–पटक राजनीतिक आन्दोलनमा होमिएको बताए । राई आदिवासी जनजाति समुदायिकै योगदान र बलिदानीबाट देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । कार्यक्रममा प्रमुख अतिथि राईले आदिवासी जनजातिको हक हितमा संविधान नबनेको बताए ।

‘राज्यको संविधानले आदिवासी जनजातिलाई अपहेलना छ’ राईले भने, ‘नेपालको संविधान ०७२ले आदिवासी जनजातिको अधिकार अन्तरिम संविधान ०६३ लेभन्दा निष्कृष्ट ढंगले प्रस्तुत गरेको छ ।’ राईले महासंघ संविधान संशोधनको पक्षमा रहेको पनि बताए ।

उनले शान्तिपूर्ण आन्दोलनबाट महासंघले आफ्ना माग सरकार समक्ष राख्दै आएको बताए । कार्यक्रममा राईले अन्तरिम संविधान ०६३ ले दिएको हक अधिकार, बजेट वर्तमान सरकारले कटौती गरेर आदिवासी जनजातिहरुमाथि गरेको विभेदपूर्ण कार्यको विरोध गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका झापा उपसभापति देउमान थेवेले एक्लौटी र मनोमानी पूर्ण ढंगबाट राज्य सञ्चालन भएको हुँदा आदिवासी जनजातिहरुको अधिकार गुम्ने खतरा भएको बताए ।

उनले आदिवासी जनजातिहरुले राज्यले अवहेलना गरेको बताउँदै आफ्ना हक अधिकारका विषयमा सबै राजनीतिक दलहरुसँग महासंघले बहस गर्नुपर्ने बताए ।

कार्यक्रममा अर्का वक्ता नेकपाका अध्यक्ष प्रेमसागर सापकोटाले सबै नेपाली जनताको भावना अनुरुपको संविधान निर्माण भएर आएको बताए । उनले संविधान निर्माण पश्चात राज्यको तीन वटै तहमा निर्वाचन सम्पन्न भई मुलुक समृद्धिको दिशातर्फ अघि बढेको बताए ।

त्यस्तै नेपाली कांग्रेसका नगर सभापति हेमराज खरेलले संविधानमा आदिवासीहरुको अधिकारलाई समेटेर लैजान सबैले दबाब दिनुपर्नेमा जोड दिए ।

सभापति खरेलले केही आदिवासी जनजाति सम्पन्न भए पनि अधिकांश अशिक्षित र गरिबीकै अवस्थामा रहेको हुँदा उनीहरुको स्तरोन्नतिका लागि राज्यबाट विनियोजित हुने बजेटमा सरकारले कटौती गर्नु दुःख लाग्दो भएको बताए । कार्यक्रममा बोल्दै खरेलले आफ्नो हक हितका लागि स्थानीय तहबाटै दबाब दिँदै जानुपर्नेमा जोड दिए ।

वडा नं. १० का वडाध्यक्ष बलदेवसिंह गोम्देनले राज्यबाट सबै वर्ग सम्प्रदायलाई समान अधिकार प्रदान गरेको बताउँदै स्वदेशमा नै प्रतिस्पर्धात्मक रुपमा हरेक क्षेत्रमा अवसर खोज्नु पर्नेमा जोड दिए ।

महासंघ नगर अध्यक्ष जगतबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खाका अध्यक्ष क्या. मानबहादुर राई, वडा नं. ८ का अध्यक्ष गोपीचन्द्र गौतम, चिया बगान श्रमिक संघका दिपक तामाङ, जनप्रतिनिधि देवकुमार राई, महिला नेतृ सरस्वती गोले, देवकला प्रसाई, रेडक्रसका पुण्य भट्टराई लगायतले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा उद्योग वाणिज्य संघका सचिव चतुर्भुज काफ्ले, विभिन्न जातीय संगठनका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
महासंघका सचिव भिमकुमार श्रेष्ठको सञ्चालनमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कर्ण तामाङले गरेका थिए ।

कार्यक्रममा सुनुवार, कुमाल, सन्थाल, मगर, राई समुदाय लगायतको परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।