यलम्वर टाइम्सको स्तरोन्नति, ‘क’ वर्गमा पर्न सफल « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

यलम्वर टाइम्सको स्तरोन्नति, ‘क’ वर्गमा पर्न सफल


यलम्वर टाइम्स
२५ श्रावण २०७५, शुक्रबार ०५:३४

अर्जुनधारा । ग्रामिण पत्रकारितालाई आत्मासाथ गर्दै आएको यलम्वर टाइम्स साप्ताहिकको स्तरोन्नति हुँदै यो वर्षबाट पत्रिकाको मुल्याङ्कन विधिमा ‘क’ वर्गमा पर्न सफल भएको छ ।

गाउँ वा नगरका सकारात्मक समाचार सम्प्रेषण गर्दै १० वर्ष पूरा गरि ११ वर्ष प्रवेशसँगै प्रेस काउन्सिल नेपालले झापाबाट प्रकाशित यलम्वर टाइम्स समाचारको मुल्याङ्कन गर्दै ‘ख’ वर्गबाट ‘क’ वर्गमा स्तरोन्नति गरेको हो । झापामा ‘क’ वर्गमा पर्ने पत्रिकाहरु मध्ये दैनिकमा लोकतन्त्र पोष्ट, पूर्वाञ्चल, प्रतिदिन र पूर्वसन्देश दैनिक रहेका छन् भने न्यू मेची टाइम्स पनि स्थानीय ‘क’ मा परेको छ ।

यसरी नै जनआन्दोलन साप्ताहिक पनि स्थानीय ‘क’मा स्तरोन्नति भएको छ । झापाबाट प्रकाशित साप्ताहिक अखबारमा सतासी, वरुण, सुपूर्व मालिका, खबर मञ्च, कनकाई, नौलो आवाज, साप्ताहिक समाचार र पुरानो अखबार स्वाधिन सम्वाद पनि स्थानीय ‘ख’ वर्गमा परेको छ ।

दैनिक पत्रिकामा झापा पोष्ट स्थानीय ‘ख’ वर्गमा छ भने विवेचना दैनिक, जनसंसद दैनिक पनि ‘ख’ वर्गमा रहेको छ । यसरी नै मेची खबर क्षेत्रीय ‘ग’, कसार साप्ताहिक स्थानीय ‘घ’ वर्गमा परेको छ भने बिर्ताज्योति साप्ताहिक ‘ग’ वर्गमा पर्न सफल भएको छ ।

पाँचथरबाट प्रकाशित पब्लिक टाइम्स र मिक्लाजुं ‘ग’ वर्गमा परेको छ भने इलाम आवाज ‘ख’, इलाम पोष्ट ‘ग’, चियाबारी र सन्दकपुर दैनिक ‘घ’ वर्गमा परेको छ । लामो समयदेखि आदिवासी जनजातिका कुरा उठाउँदै आएका छहरा साप्ताहिक क्षेत्रीय ‘ग’ वर्गमा परेको प्रेस काउन्सिल नेपालले जनाएको छ ।

वर्गीकरणका लागि आवेदन गर्ने ९५३ वटा पत्रपत्रिका मध्ये ८१६ पत्रिका वर्गीकरणमा समावेश भएका छन् भने हुबहु समाचार सारेको र न्यूनतम् प्रकाशन अंक नपुग भएका कारण १३७ पत्रिका वर्गीकरणमा परेका छैनन् ।