समावेशी नीति कार्यान्वयन भए मुलुक समृद्ध « Yalambar Times
२९ बैशाख २०८१, शनिबार

समावेशी नीति कार्यान्वयन भए मुलुक समृद्ध


यलम्वर टाइम्स
२७ श्रावण २०७५, आईतवार ११:३६

[राजन साम्पाङ]

अर्जुनधारा । स्व. डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार भिम नेम्वाङलाई प्रदान गरिएको छ ।

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाद्वारा स्थापित स्व. डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट नेम्वाङलाई नगद रु. २५ हजार सहित सम्मानपत्रले सम्मान गरिएको हो ।

विगत ०५२ सालदेखि पत्रकारितामा सक्रिय नेम्वाङ नेपाल टेलिभिजनका झापा सम्वाददाता हुन् । फोनिज झापाले उनीसँगै सूर्योदय टेलिभिजनका रितास्मा मुखिया र समदर्शी सञ्चारकी सविना राईलाई उदयीमान पत्रकारिता पुरस्कारले सम्मान गरेको छ । उनीहरुलाई जनही रु. २ हजार ५ सय र सम्मान पत्र प्रदान गरिएको थियो ।

सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथि फोनिज केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष गजुरधन राई र विशिष्ट अतिथि अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला आचार्यले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

आईतबार शनिश्चरे स्थित सामुदायिक भवनमा आयोजित १९ औं स्थापना दिवसको उद्घाटन गर्दै प्रमुख अतिथि गजुरधन राईले सबै क्षेत्रमा समावेशी नीति कार्यान्वय भए मुलुक समृद्धीको दिशातर्फ अगाडि बढ्ने बताए । राईले अगाडि भने, ‘समृद्ध नेपाल र सुखी नेपाल हुन सबै ठाउँमा समावेशी नीति कार्यान्वय हुनुपर्छ ।’

प्रमुख अतिथि राईले अझै पनि सञ्चार गृहहरुमा एकल जातिको हालिमुहाली भएको बताउँदै सञ्चार समावेशी नीतिमा एक जुट हुनुपर्ने बताए ।

कार्यक्रममा फोनिज केन्द्रय सचिव कमन देवानले अधिकारको प्राप्तिको लागि सरकारलाई झकझकाउने पहिलो माध्यम सञ्चार क्षेत्र भएको बताउँदै सञ्चारमा आदिवासी जनजाति समुदायिको पहूँच बढाउनु पर्ने बताए । प्रदेश नं. १ का इन्चार्ज दिपीन राईले अब साना ठूला सबै सञ्चारमाध्यममा समावेशी नीति लागू गर्नुपर्ने बताए ।

फोनिज झापाका अध्यक्ष विशाल नेम्वाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, गणेश पोखरेल, किरात राई यायोक्खाका अर्जुनधाराका अध्यक्ष क्या. मानबहादुर राई, आदिवासी जनजाति महासंघ अर्जुनधाराका अध्यक्ष जगतबहादुर राना, अर्जुनधारा वडा नं. १० का वडाध्यक्ष बलदेवसिंह गोम्देन, झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङ लगायतले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा प्रेस चौतारीका मुक्ति पौडेल, अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराई, स्व. डिकमान विरहीकी पत्नी पूर्णिमा सुनुवार, अर्जुनधारा उद्योग वाणिज्य संघका सचिव चतुर्भुज काफ्ले, जुकेखाडी सामुदायिक वनका अध्यक्ष दिव्य कट्टेल, प्रेस युनियनका इन्दु पूर्वेली, झापा गोल्डकपका महासचिव गजेन्द्र पौड्याल लगायतको आतिथ्य रहेको थियो ।

महासंघका सचिव अमित खम्बूले सञ्चालन गरेको कार्यक्रममा स्व. डिकमान विरहीको जीवनी महासंघ पूर्व अध्यक्ष रमेश समदर्शी राईले र सम्मानित व्यक्तित्व नेम्वाङको जीवनी पूर्व अध्यक्ष तथा पुरस्कार छनौट समितिका संयोजक गणेशमान मुखियाले प्रस्तुत गरेका थिए ।

स्व. डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि अमृतलाल श्रेष्ठ, नकुल काजी, दिपीन राई, मदन ढकाल, रमेश समदर्शी राई सम्मानित भइसकेका छन् ।