अर्जुनधाराको पोखरीमा जल र फलफूल चढाउँदा फुटपोइजन भई माछा मरेको अनुमान « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

अर्जुनधाराको पोखरीमा जल र फलफूल चढाउँदा फुटपोइजन भई माछा मरेको अनुमान


यलम्वर टाइम्स
२९ श्रावण २०७५, मंगलवार ०८:१२

अर्जुनधारा । साउने सोमबार सकिएसँगै अर्जुनधारा जलेश्वरधाम परिषरमा रहेको पोखरीका माछाहरु मृत अवस्थामा फेला परेको छन् ।

जल चढाउन आउने भक्तजनहरुले ल्याएका सामानहरु पोखरीमा हालेपछि फुटपोइजन भई माछाको मृत्यु भएको अनुमान गरिएको छ । यस विषयमा धाम समितिसँग सम्पर्क गर्दा भक्तजनहरुलाई पोखरीमा चढाउन ल्याएको सामाग्री पोखरीमा हालिएका कारण फुटपोइजन भएर माछा मरेको धाम समितिले जनाएको छ ।

‘साउन महिनामा दूध, दहि लगायत अन्य सामग्री अत्याधिक चढाइने हुँदा फुटपोइजन भई माछाहरु मरेको हामीले अनुमान गरेका छौं’ महासचिव विष्णु निरौला भन्छन्, ‘पोखरीमा साना ठूला धेरै प्रकारका माछाहरु छन्, सानाभन्दा ठूला माछाहरुलाई बढी असर परेको छ ।’ महासचिव निरौलाका अनुसार पाईपलाइन लिकेच भएका कारण पनि माछामा फुटपोइजन देखिएको हुन सक्छ ।

धाम समितिका सदस्य शेखर प्रधानले चढाउन ल्याएको फलफुल, दूध, दहि पोखरीमा नहाल्न भनी धाम समितिले अनुरोध गरे पनि पोखरीमा फालिदिएको कारण माछामा फुट पोइजन भएको बताए । प्रधानका अनुसार सोडा र पड्किरीबाट पोखरीको पानी सफा गरिदै आएको आएको छ ।

धाम अध्यक्ष नवीन गट्टानीका अनुसार यस्तो समस्या पहिला पनि आएतापनि यति धेरै माछामा नमरेको बताए । उनले अब यस्ता आउन नदिन पोखरीमा फूलपाति तिल, जौ लगायतका सामान नपस्नेगरी तारजाली लगाउने बताए । उनले आउँदा दिनमा यस्तो समस्या दोहोरिन नदिन माछाको संरक्षण गर्दै जाने बताए ।

पोखरीमा मागुर, रहु, पोटी लगायतका विभिन्न प्रजातीका माछाहरु रहेका छन् । मरेका माछाहरुलाई निश्चित स्थानमा खाडल खनि पुरिने बताइएको छ । पोखरीमा रहेका ठूला साना गरी २ सय ५० को हाराहारीमा माछा मरेको समितिले जनाएको छ ।