महिला हिंसामा संलग्नलाई उन्मुत्ति मिल्दैन : प्रमुख राना « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

महिला हिंसामा संलग्नलाई उन्मुत्ति मिल्दैन : प्रमुख राना


यलम्वर टाइम्स
३ भाद्र २०७५, आईतवार ०९:०९

अर्जुनधारा–११ मा भएको बलात्कार घटनाका पीडित बालिकाकी फुपु आफ्नो भनाई राख्दै ।

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले बलात्कार घटनामा संलग्न दोषीलाई हदैसम्मको कारवाही गर्न र फरार अभियुक्तलाई तिब्र खोजी गरी कानूनी दायरामा ल्याउन सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

एक साता अघि अर्जुनधारा क्षेत्रमा भएका बलात्कार घटनाहरुलाई नियाल्दै यस्ता अपराधि समाजका कालिपोके र नगरलाई बदनाम गर्ने सैदुवा भएको हुँदा कारवाही गर्नुपर्नेमा जोड दिए । ‘नियम, कानून अनुरुप कसैले उपद्रो मच्चाउछ भने छाडा छाड्नुपर्छ भन्ने छैन’ प्रमुख रानाले भने, ‘अपराधिले समाजमा आतंक मच्चाउने हुँदा राजनीतिक दलहरुले त्यस्ता अपराधिलाई संरक्षण दिनु हुँदैन ।’

कार्यक्रममा रानाले नगरलाई दुर्गन्धित बनाउने, महिला हिंसा मच्चाउने, लागू पदार्थ सेवन गरेर नगरलाई बदनाम गराउने जस्ता क्रियाकलाप संलग्नलाई कारवाहीको माग चारैतिरबाट उठ्नुपर्ने बताए ।

‘अपराधिक क्रियाकलापमा जसको दिमाग जान्छ, त्यसलाई क्षम्य न्याय हुन सक्दैन’ नगर प्रमुख रानाले अगाडि भने, ‘समाजमा भएका घटनालाई डिम्मालाई मिलाएर खाएको कथा जस्तो नबनाऔं, आ–आफ्नो क्षेत्रबाट चनाखो हौं ।’

बृहत रुपमा भएको महिला हिंसा सम्बन्धि अन्तरक्रियामा प्रदेश सांसद बृख प्रधानले अपराधलाई लुकाउनु जघन्य अपराध भएको बताउँदै सालबारीमा भएको घटनाको विषयमा प्रकाश पारेका थिए । प्रदेश सांसद प्रधानले वडा–वडामा महिला हिंसा सम्बन्धि कार्यक्रमहरु बढाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा उपप्रमुख कमला आचार्य खतिवडाले प्रहरी प्रशासन कम भएको अर्जुनधारामा प्रहरी प्रशासनलाई बढाउँदै हिंसा न्यूनिकरण गर्न अर्जुनधारा नगरपालिका पछि नहट्ने बताए । उपप्रमुख आचार्यले खुदुनाबारीमा जनपथ प्रहरी स्थापना गर्ने, शनिश्चरेमा जनपथको संख्या वृद्धि गरेर जाने बताएका थिए ।

कार्यक्रममा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले हिंसा न्यूनिकरण गर्नका लागि विज्ञहरुको छुट्टै टोलीहरुको निर्माण गरी सचेत र सजग गराउन टोलटोलमा खटाउनु पर्ने बताए । वाणिज्य संघका सचिव चतुर्भुज काफ्लेले मानवीय संवेदनशीलताबारे सचेत गराउँदै नगरका संघसंस्था त्यसतर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

अर्जुनधारा–११ मा भएको बलात्कार घटनाका पीडित बालिकाकी फुपु आफ्नो भनाई राख्दै ।

युवा समाजसेवी भक्ति सिटौलाले यौन हिंसाबारे शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय जनमुक्ति पार्टीका दिलीप राईले टोल–टोलमा कमिटी निर्माण गरी जनचेतना छर्नुपर्नेमा जोड दिए ।

कानून व्यवसायी प्रितिका कुमालले आफ्नै घरमा यौन हिंसाको शिकार भएको हुँदा विद्यालय तथा विभिन्न ठाउँमा यौन हिंसा सम्बन्धि ज्ञान छर्नुपर्ने बताए ।

नगर प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडाले सञ्चालन गरेको कार्यक्रममा हचुमासा सामुदायिक वनका अध्यक्ष युवाराज लोहार, नेकपाका नेता चन्द्रप्रकाश काफ्ले, आमा समूहकी राजकुमारी शेर्पा, अधिवक्ता कृष्ण पौडेल, महिला नेतृ देवकला प्रसाई, शान्ति सामुदायिक वनका तुलसी खतिवडा, बेलटार खानेपाीका योगेन्द्र आचार्य, गणेश निमाविका रामकुमार अछामे, महिला नेतृ सरस्वती सिटौला, महारानीगञ्जका प्रअ मनकुमार लिम्बू लगायतले महिला हिंसा संलग्न जो कोहीलाई नातावाद र राजनीतिकवादले छेकथुन गर्न नहुने बताउँदै कडा सजायको व्यवस्था गरिनुपर्ने बताए ।

नगर क्षेत्रका विभिन्न संघसंगठन, राजनीतिक दल, सबै विद्यालयका प्रअहरुको उपस्थिति रहेको कार्यक्रममा प्रत्येक वडाका अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।