नाम अनुसारको काम गर्न नगरको सुझाव « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

नाम अनुसारको काम गर्न नगरको सुझाव


यलम्वर टाइम्स
९ भाद्र २०७५, शनिबार ०२:३५

अर्जुनधाराका कृषि सहकारीसँग नगरको अन्तरक्रिया

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले कृषि सहकारी संस्थाहरुलाई नाम अनुसारको काम अगाडि बढाउन सुझाएका छन् ।

नगर कृषि शाखाद्वारा यस क्षेत्रका ४२ वटा कृषिमा उल्लेखित सहकारी संस्थाहरुको उपस्थितिमा गरिएको अन्तरक्रियामा उक्त सुझाव दिएका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद वृख प्रधानले कृषि सहकारीले आर्थिक पाटोलाई मजबुद बनाएर कृषिमा आधारित काम न्यून रुपमा गरेको हुँदा सम्बन्धित सहकारीले त्यसो नगर्न अनुरोध गरेका थिए ।

उनले प्रधानमन्त्री कृषि कार्यक्रम अन्तर्गत कृषि सहकारी र कृषकहरुलाई अगाडि बढाउन र सहयोग गर्न योजना बनाउँदै गरेको हुँदा कृषिमा आधारित सहकारीले कृषि उत्पादनमा ध्यान पुर्याई आर्थिक उन्नतिको पाटोमा कृषकहरुलाई प्रेरणा दिनुपर्ने बताए ।

प्रमुख अतिथि प्रधानले अगाडि भने, ‘आउने वर्षबाट १० हेक्टरभन्दामाथि कृषिमा आधारित भएर काम गर्ने सहकारी तथा कृषकलाई सहयोग गरेर जाने प्रदेशको मनशाय रहेको छ ।’

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले कृषिमा आधारित सहकारीहरुले अग्र्यानिक खेती गरेर कृषकहरुलाई उत्प्रेरणा प्रदान गरिनुपर्ने बताए ।

प्रमुख रानाले अगाडि भने, ‘जन्मदै रोग लिएर आउनु विषादी प्रयोग भएका खानाले हो । त्यसतर्फ कृषि सहकारी सचेत भएर अगाडि बढ्नुपर्छ ।’

उनले बजारमा आएका विषादीयुक्त सब्जीहरुले सारा नेपाली लुला, लङ्गडा, मिर्गौला रोगी, क्यान्सर र मुटु रोग जस्ताले घेरेको हुँदा त्यसतर्फ लाग्न जोड दिए ।

प्रमुख रानाले अगाडि भने, ‘जन्मदै रोग लिएर आउनु विषादी प्रयोग भएका खानाले हो । त्यसतर्फ कृषि सहकारी सचेत भएर अगाडि बढ्नुपर्छ ।’

कृषिमा दर्ता भएर आर्थिक लेनदेनमा मात्र कारोवार गर्ने हो भने कृषि सहकारी नामाकरण नगरी वित्तीय कारोवार गर्ने संस्थाको रुपमा अगाडि बढाउन सकिने प्रमुख रानाले सुझाव दिए ।

कार्यक्रममा कृषि शाखा अधिकृत शालिकराम भट्टराईले कृषि सहकारीले कृषि सम्बन्धि गर्नुपर्ने कामका विषयमा कार्यपत्र प्रस्तुत गर्दै कृषि सहकारीसँग कृषकको सम्बन्ध बारे प्रस्टाएका थिए ।

कार्यक्रममा नगर पशु विकास शाखाका प्रमुख पदमलाल राईले कृषि सहकारीसँग कृषकहरुको सम्बन्ध प्रगाढ बनाउन सके कृषि सहकारीबाट ऋण लिएर पशुपालन गर्ने कृषकहरुका लागि राम्रो हुने बताए ।

राईले अगाडि भने, धेरै कृषकहरु दूध उत्पादनमा उत्साहित भएको हुँदा पशु र कृषक बीचको आत्मीयताले व्यवसायमा सहयोग पुग्नेमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रममा श्रद्धा कृषि सहकारीका अध्यक्ष प्रेमसागर सापकोटाले कृषि सहकारीहरु आर्थिक कारोबारमा मात्र अगाडि छैनन्, कृषिमा पनि हात फैलाएको बताएका छन् ।

पूर्वाध कृषि सहकारीका अध्यक्ष कमल भण्डारीले आफू रहेको संस्था कृषिमा आधारित रहेर आर्थिक कारोवार गर्दै आएको बताउँदै कृषिमा आधारित सहकारीलाई स्थानीय तथा प्रदेश सरकारले मूल्याङ्कन गरेर जानुपर्ने बताए ।

कार्यक्रममा अभियान नेपाल कृषि सहकारी संस्थाका प्रसाद गुरागाई, सुखानी कृषि सहकारी संस्थाका बुद्ध बराईली, महिला नेतृ सरस्वती सिटौला, साना किसान सहकारीका अध्यक्ष भैरव खड्का, बोर्ड सदस्य दिलमाया दास, हरिमाया दाहाल, रमेश त्रिखत्री लगायतले बोलेका थिए ।

कृषि सहकारी संस्थाको योजना तर्जुमा विषयक भएको छलफल कार्यक्रममा उपप्रमुख कमला आचार्य खतिवडा, प्रशासकीय प्रमुख राधाकृष्ण खतिवडा लगायतको उपस्थिति रहेको थियो ।

अन्तरक्रियापछि निचोडमा पुग्नको लागि पुनः सूचिकृत भएका ४२ वटा कृषिमा आधारित सहकारीसँग पुनः छलफल गरिने कृषि शाखा प्रमुख भट्टराईले जानकारी दिए ।