पाँचथरमा १४ दोभाषे « Yalambar Times
२ जेष्ठ २०८१, बुधबार

पाँचथरमा १४ दोभाषे


यलम्वर टाइम्स
२६ श्रावण २०७३, बुधबार ०८:५०

पाँचथर / जिल्ला अदालत पाँचथरले पहिलोपल्ट १४ जना दोभाषे नियुक्त गरेको छ ।
अदालतको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउँन विभिन्न समुदायबाट दोभाषे नियुक्त गरिएको श्रेष्तेदार टिकेन्द्रवीरजंग राणाले बताए ।

अदालतले लिम्बू, राई, मगर, तामाङ, शेर्पा, नेवारी र अंग्रेजी भाषाको लागि दोभाषे नियुक्त गरेको हो । श्रेष्तेदार राणाका अनुसार लिम्बू भाषाको लागि शारदा आङ्देम्बे, चन्द्र कुमार आङ्देम्बे, निशा लोवा, राजन तावा, शान्तिला तुम्बापो र धनकुमार नेम्बाङलाई दोभाषे नियुक्त गरिएको हो ।

त्यस्तै राई भाषाको लागि शान्तिदेवी राई र राजेन्द्र राई, तामाङ भाषाको लागि दिलकुमारी योञ्जन तामाङ, मगर भाषाको लागि रञ्जना ज्ञाङमी र अमृता गुर्मछान दोभाषे नियुक्त भएका छन् । शेर्पा भाषाको लागि लासुङ शेर्पा, नेवारी भाषाको लागि देविका श्रेष्ठ र अंग्रेजी भाषाको लागि जीवन भण्डारी नियुक्त भएका हुन् ।

जिल्ला अदालत पाँचथरले गत महिना सार्वजनिक सूचना आह्वान गरेर दोभाषेको माग गरेको थियो । प्राप्त आवेदकमध्येबाट योग्यता पुगेकालाई छनौंट गरी दोभाषे नियुक्त गरिएको श्रेष्तेदार राणाले बताए । नियुक्त भएका दोभाषेले नेपाली भाषा राम्ररी बुझ्न र बोल्न नसक्नेहरुका लागि आवश्यकता अनुसार सम्बन्धित भाषाबाट नेपालीमा उल्था गर्नुपर्नेछ ।

दोभाषेहरुलाई सर्वोच्च अदालतको नियमानुसार भाषा उल्था गरे बापतको सेवा–सुविधा उपलब्ध गराइनेछ । केही समय अघि नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथर लगायत जिल्लामा क्रियाशील विभिन्न आदिवासीजन्य संघसंस्थाले नेपालको संविधानले व्यवस्था गरे अनुसार कार्यालयहरुमा दोभाषेको व्यवस्था गर्न माग गरेका थिए ।