सामुदायिक विद्यालय अब अभिभावक र विद्यार्थीको पहिलो रोजाई बनाइने : मन्त्री घिमिरे « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

सामुदायिक विद्यालय अब अभिभावक र विद्यार्थीको पहिलो रोजाई बनाइने : मन्त्री घिमिरे


यलम्वर टाइम्स
८ आश्विन २०७५, सोमबार १२:२८

अर्जुनधारा । प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आगामी ५ वर्षभित्रमा सामुदायिक विद्यालयलाई अभिभावक र विद्यार्थीहरुको पहिलो रोजाईमा पार्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् ।

अर्जुनधारा शिक्षा शाखाको आयोजनामा सञ्चालित १० दिने बाल शिक्षा तालिमको अनुगमन गर्दै मन्त्री घिमिरेले सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि स्थानीय, प्रदेश सरकारको चुनौतिको विषय बनेको बताए ।

‘जनप्रतिनिधिहरु आए पश्चात् सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धि हुँदैछ’ उनले भने, ‘गुणस्तरमा वृद्धि भएकै कारण निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढ्दो छ, यसको उचित व्यवस्थापन चुनौति स्थानीय र प्रदेशको चुनौति हो ।’

तालिमको अनुगमन पश्चात मन्त्री घिमिरेले बालकलाई योग्य नागरिक बनाउन बालशिक्षकहरुले जगको रुपमा भूमिका निर्वाह गरेको बताए ।

राज्यबाट बाल शिक्षकहरुको श्रमको उचित मुल्याङ्कन हुन नसकेको स्वीकार्दै मन्त्री घिमिरे भन्छन्, ‘विगतका शिक्षा नीतिमा भएको त्रुटिका कारण अहिले समस्या भोगिरहनुपरेको छ, यसको समाधानमा प्रदेश, संघीय सरकार लागिपरेको छ ।’

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा ल्याउन आग्रह गरे ।

कार्यक्रममा प्रमुख रानाले बाल शिक्षा कर्मठ नागरिक बनाउने आधार भएको बताउँदै बाल शिक्षकहरुले तन, मनले आफ्नो उत्तरदायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।

प्रमुख रानाले अर्जुनधारा नगर कृषि केन्द्रीत भएको बताउँदै नगरमा कृषि, पशु र प्राविधिक शिक्षामा बजेट छुट्याएर नगर अगाडि बढेको बताए ।

‘नगरमा एउटा सिभिल ईन्जिनीयरिङ विद्यालय छ, इलेक्ट्रिक इन्जिनीयरिङ, कृषि विज्ञान, पशु विज्ञान जस्ता प्राविधिक विषयमा पनि विद्यालयमा पढाइ हुनुपर्छ’ प्रमुख रानाले अगाडि भने, ‘मैले विद्यालयमा ११, १२ ल्याएभन्दा पनि मैले यो प्राविधिक विषय ल्याए भन्ने वातावरण बनाउनु पर्छ ।’

प्रमुख रानाले बाल शिक्षकहरुका समस्यामा विषयमा भने प्रदेश र संघको स्पष्ट शिक्षा नीति आएपछि समाधान भएर जाने बताए ।

उपप्रमुख कमला आचार्यले तालिमबाट लिएको ज्ञानलाई आ–आफ्नो विद्यालयमा गई विद्यार्थीहरुलाई सिकाउनुपर्नेमा जोड दिए ।

प्रमुख रानाको अध्यक्षतामा भएको अनुगमन कार्यक्रममा शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदी, जनता माविका प्रअ जय भण्डारी, सहजकर्ता अर्जुन भट्टलगायतले आ–आफ्नो विचार राखेका थिए ।

कार्यक्रममा प्रदेश सांसद टंक आङ्वो, प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण, वडा नं. १० का अध्यक्ष बलदेवसिंह गोम्देन, अर्जुनधारा उद्योग वाणिज्य संघका सचिव चतुर्भुज काफ्ले, बिर्तामोड नगरपालिकाका शिक्षा प्रमुख युवराज पाण्डे, प्याव्सन अर्जुनधाराका रुद्रप्रसाद सिटौला लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमको सञ्चालन नगर शिक्षा प्रमुख जानुका गुरागाईंले गरेकी थिइन् ।

सोही दिन मन्त्री घिमिरेलाई बाल शिक्षक संयोजक चन्द्रा तामाङले आफ्ना समस्याहरुबारे जानकारी गराउँदै १० बुँदे ज्ञापनपत्र समेत बुझाएकी थिइन् ।