तपाई हामीले किन्दै गरेका खशीबाख्रा कतै विरामी त छैनन् ? : हेल्प डेक्स « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

तपाई हामीले किन्दै गरेका खशीबाख्रा कतै विरामी त छैनन् ? : हेल्प डेक्स


यलम्वर टाइम्स
१४ आश्विन २०७५, आईतवार ०७:४६


अर्जुनधारा । महानपर्व बडादशैंको आगमनसँगै झापाकै पुरानो बजारको रुपमा परिचित शनिश्चरेको खशी हट्टीमा भिड बाक्लिन थालेको छ ।

भिड बाक्लिएसँगै खशीबाख्रा पनि अधिक रुपमा बिक्री गर्न ल्याउने गरेका छन् । बजारमा विभिन्न किसिमका खशीबाख्राहरु ल्याइएका हुन्छन् ।

बेच्न ल्याइएका सबै बाख्रा स्वास्थ्य नभई रोगी पनि हुने हुँदा पशुहरुको प्राथमिक उपचारका साथै कृषकहरुलाई उचित परामर्श दिने उद्देश्यले खशी हट्टीमा शनिबारबाट निःशुल्क भेटेनरी हेल्प डेक्स सञ्चालनमा ल्याइएको छ ।

‘भेटेनरी सेवाकर्मी चौतारी, हाम्रो भेटेनरी सेवा सहकारी’ भन्ने मूल नारा लिएर स्थापना गरिएको हाम्रो भेटेनरी सेवा सहकारी बिर्तामोडको आयोजनामा हेल्प डेक्स सञ्चालनमा ल्याइएको हो ।

‘बजारमा बेच्न ल्याएका सबै खशीबाख्रा स्वास्थ्य हुन्छन् भन्ने छैन, आफ्नो बाख्रा बिरामी भएको किसानहरुलाई थाहा नहुन पनि सक्छ’ पशु प्राविधिक घनेन्द्र पराजुलीले भने, ‘किसानहरु ल्याएको खशीबाख्राको स्वास्थ्य जाँचसँगै निःशुल्क औषधि वितरण र उचित परामर्श दिनकै लागि हेल्प डेक्स सञ्चालनमा ल्याएका हौं ।’

प्राविधिक पराजुलीका अनुसार यो सेवा ७ वटा शनिबारसम्म निःशुल्क रुपमा सञ्चालन गरिने छ । हेल्प डेक्सबाट जुका, नाम्ले, टाढाबाट ल्याईका खशीबाख्राको खुट्टामा घाउ हुने हुँदा मल्हम, विभिन्न इन्जेक्सन प्रदान हुँदै आएको छ ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका पशु सेवा शाखाका प्रमुख पदमलाल राईले बजारमा टाढाटाढाबाट खशीबाख्रा बेच्न ल्याउने भएको हुँदा खुट्टा भाचिने, घाउचोट लाग्ने र रोगाउने हुँदा यस्ता खाले हेल्प डेक्सले तत्काल सेवा प्रदान गर्न सक्ने बताउँदै कृषक तथा व्यापारीले नोक्सानी व्यहोर्नु नपर्ने बताए ।

प्रमुख राईले अगाडि भने स्वास्थ्य उपचार पशु अधिकारभित्र पनि पर्ने भएको र प्रत्यक्ष रुपमा जनताले पनि लाभ लिन सक्ने बताउँदै नगरपालिकाले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

हाम्रो भेटेनरी सेवाका अध्यक्ष तथा डा. दिलीप सापकोटाले शनिश्चरे लगायत धुलाबारी, सुरुङ्गा, डाँगीबारीमा भेटेनरी हेल्प डेक्स सञ्चालनमा ल्याएको बताए ।

अध्यक्ष सापकोटाले आगामी दिनमा स्थानीय तहहरुसँग सहकार्य गर्दै हेल्प डेक्सलाई निरन्तरता दिन सकिने बताए ।