अर्जुनधाराले २१ गतेबाट जेसीज सप्ताह शुरु गर्ने « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

अर्जुनधाराले २१ गतेबाट जेसीज सप्ताह शुरु गर्ने


यलम्वर टाइम्स
१७ आश्विन २०७५, बुधबार १२:२५

अर्जुनधारा । अर्जुनधारा जेसीजले यही असोज २१ गतेबाट जेसीज सप्ताह शुरु गर्ने भएको छ ।

जेसीज कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उक्त कार्यक्रम हुने घोषणा गरेका हुन् । जेसीज सप्ताह अन्तर्गत २१ गते आईतबार सन्तलाल–बृजमोहन गट्टानी स्मृति सडक दौड प्रतियोगिता गर्ने भएका छन् ।

उक्त दौड प्रतियोगिता खुदुनाबारीदेखि शनिश्चरे बजारसम्म रहने संयोजक सुरेश थापाले बताए । दौडमा धावकहरुलाई सहभागि हुन समेत अनुरोध गरिएको थियो ।

जेसीज डाइनामिक अध्यक्ष अजयकुमार देवको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष अजयले २२ गते व्याडमिटन प्रतियोगिता र विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता रहेको जनाए । व्याड्मिटनको संयोजक बसन्त बुढाथोकी रहेका छन् भने वक्तृत्वकलाको टीआर गौतम रहेका छन् ।

यसरी नै २३ गते जलेश्वरधाम लगायत स्थानीय मठमन्दिर सरसफाई गर्ने र सोही दिन ज्येष्ठ नागरिक चौतारोमा रक्तदान कार्यक्रम समेत राखिएको जनाइएको छ ।

सरसफाई कार्यक्रममा संयोजक उर्मिला दाहाल र निशा गौतम रहेका छन् भने रक्तदानमा ईशान पौडेल र सुमन राई रहेका छन् ।

यसरी २४ गते खुदुनाबारीको न्यूहोप उच्च मावि मोटिभेसन तालिम रहेको छ भने सोही दिन ३ बजे उता सम्मान तथा पुरस्कार वितरणसहित सांस्कृतिका कार्यक्रम समेत रहेको जनाइएको छ ।

मोटिभेसन तालिमको संयोजक उज्वल खरेल रहेका छन् भने पुरस्कार तथा सांगीतिक कार्यक्रमको विमला भट्टराई रहेको जनाएका छन् ।

भव्य रुपमा गरिने सप्ताह कार्यक्रमको मिडिया पार्टनर यलम्वर टाइम्स राष्ट्रिय साप्ताहिक र मेरो रेडियो १०५ मेगाहर्ज रहेको अध्यक्ष अजयकुमार देवले जानकारी दिए ।

पत्रकार सम्मेलनमा जेसीज सप्ताह सम्पन्न गर्नका लागि वर्ष ०१५ का अध्यक्ष दिपीन राई, जेसीज सप्ताहका संयोजक प्रल्हाद ढुंगाना, प्रेस क्लबका उपाध्यक्ष रमेश राई, पत्रकार अमित खम्बू लगायतले सल्लाह सुझव प्रदान गरेका थिए ।

सप्ताहका कार्यक्रम संयोजक टीआर गौतम, उज्वल खरेल लगायतले सफलताका लागि सबै तह सक्रिय रहेको अवगत गराएका थिए ।

२०१२ मा संस्थापक इन्दिवर खड्काको अगुवाईमा स्थापना भएर ०१५ मा उत्कृष्ट संस्था, ०१६ मा भवन बनाउन सफल भएको जेसीजले आउने दिनमा युवाहरुलाई सचेतना र कुलतबाट बाहिर निस्कने जस्ता मोटिभेसन तालिम प्रदान गर्ने भएको अध्यक्ष देवले जानकारी दिएका थिए ।

कार्यक्रममा महासचिव देवेन्द्र मैनालीले वर्ष ०१८ मा भएका कामका विषयमा अवगत गराउँदै सबै तह र तप्काबाट सप्ताह सफल बनाउन अनुरोध गरेका थिए ।