जहाँ भए पनि अर्जुनधारालाई बिर्सिन्न : प्रशासकीय प्रमुख खतिवडा « Yalambar Times
६ जेष्ठ २०८१, आईतवार

जहाँ भए पनि अर्जुनधारालाई बिर्सिन्न : प्रशासकीय प्रमुख खतिवडा


यलम्वर टाइम्स
२३ आश्विन २०७५, मंगलवार ०९:०९

अर्जुनधारा । पुर्ननिर्माण मन्त्रालयमा सरुवा भई गएका अर्जुनधारा नगरपालिकाका प्रशासकीय प्रमुख राधाकृष्ण खतिवडाले आफू जहाँ भए पनि अर्जुनधारा नगरको विकास, नगरको साथ, सहयोग कहिल्यै नबिर्सिने बताएका छन् ।

अर्जुनधारा नगरपालिकाले बिदाई भएका प्रशासकीय प्रमुख खतिवडालाई एक समारोहबीच सम्मान गर्दै गर्दा आफ्नो बिदाई मन्तव्यमा प्रमुख खतिवडाले लामो समय अर्जुनधारामा बिताउँदाको क्षण सुनाउँदै नगर विकासको गतिमा लम्कदै गरेको बताए ।

प्रशासकीय प्रमुख खतिवडाले आफू जुनसुकै मन्त्रालयमा रहे पनि अर्जुनधारा नगरपालिकाको विकासमा सहयोग, टेवा दिने बताएका छन् ।

आफ्नो मन्तव्य राख्ने क्रममा खतिवडाले जनप्रतिनिधि नभएको बेला राजनीतिक दल र जनप्रतिनिधि निर्वाचन गराएर नगरलाई अगाडि बढाउने निर्वाचित प्रतिनिधिप्रति धन्यवाद दिँदै लामो समय बस्दा पनि बसाई र काम गराई सुखमय भएको भन्दै नगर प्रमुख र उपप्रमुखप्रति आभार प्रकट गरेका थिए ।

‘हामी कर्मचारी दुई कदम अघि, दुई कदमपछि भएर जनताको सेवा गर्नुपर्ने भएको हुँदा कतिपय काम गर्ने ठाउँमा असहज परिस्थिति भयो भने अन्यथा नठान्दिनु होला’ प्रशासकीय प्रमुख खतिवडाले भने ।

कर्मचारीहरुप्रति लक्षित गर्दै खतिवडाले भने ‘जागिरे जीवन ४ वटा विधिले चलेको हुन्छ । मानिसको उमेर गए जस्तै नियुक्ति, सरुवा, बढुवा र अवकाश । कसै–कसैको ५ वटासम्म हुन्छ, त्यो हो खोसुवा । त्यस्तो अवस्थामा हामी कर्मचारीहरु पुग्नु हुन्न ।’ उनले अगाडि भने, नीति र सच्चा काममा अगाडि बढ्नुहोस् तपाईहरु पनि अवल्लो दर्जामा पुग्न सक्नुहुनेछ ।’

कार्यक्रममा बिदाई भएका अर्का प्रशासन अधिकृत पुण्य दाहालले प्रशासन कमजोर भयो भने नीति बिग्रने बताए । उनले नगरपालिकाको नीति नबिग्रियोस् भनेर केही कडाई गरेका भए त्यसलाई जागिरे जीवनमा भोगेको कर्म ठानिदिन आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रशासन प्रमुख दाहालले भने, ‘सकारात्मक विचारधारा भएका निर्वाचित पदाधिकारी र विकासोन्मुक ठाउँ छ अर्जुनधारा । सबै मिलेर अगाडि बढ्नुहोस् पूर्वको १ नम्वर नगरपालिका बन्नमा दुइमत हुने छैन ।’

कार्यक्रममा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले बिदाई भएका प्रशासकीय प्रमुख र प्रशासन प्रमुखप्रति धन्यवाद दिँदै नगरलाई यहाँसम्म ल्याएकोमा आभार प्रकट गरेका थिए ।

अर्का वक्ता वडा नं. ८ का अध्यक्ष गोपीचन्द्र गौतमले कामप्रति लगनशिलता र जनताको काममा उत्तरदायि भई काम गरेकोमा प्रशासकीय प्रमुखलाई धन्यवाद दिएका थिए ।

कर्मचारीको तर्फबाट शिक्षा प्रमुख जानुका गुरागाईंले प्रशासकीय प्रमुख खतिवडाको कर्मचारीसँगको स्नेहता र काम गर्ने शैली उच्च भएको बताए ।

कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाले बिदाई भएका खतिवडा र दाहाललाई बाँकी दिन उच्च विचार, उच्च भावना बोकेर अगाडि बढ्न अनुरोध गर्दै नगरवासीलाई माया दिएर यसअघि रहेका प्रमुख खतिवडाप्रति सम्मान गर्दै बिदाई गरेका थिए ।

बिदाईको रमानापत्र प्रशासकीय प्रमुख खतिवडालाई प्रमुख रानाले हातमा लगाईदिएपछि दुवैको अनुहार मलिन देखिन्थ्यो । त्यतिकैमा प्रमुख रानाले कामको सिलसिलामा केही तीतामीठा कुराहरु सुनाउँदै यस्ता कार्यलाई बिर्सिदिन अनुरोध गरे ।

प्रमुख रानाले अनुरोध गर्दा प्रशासकीय प्रमुख हल नै थर्किने गरी हाँसेका थिए भने नगर प्रमुख पनि प्रसन्न भएर प्रमुख खतिवडाको प्रशंसा गरेका थिए ।

उपप्रमुख कमला खतिवडा आचार्यले स्वागत गर्दै कामको सिलसिला प्रशासकीय प्रमुखबाट सिक्नुपर्ने बताए । बिदाईको कार्यक्रम भइरहँदा धेरै कर्मचारीहरु स्तब्ध देखिन्थे ।

त्यतिकैमा मायाँको चिनो दुवै कर्मचारीहरुलाई दिएपछि बिदा हुँदै आफ्ना कर्मचारी र अफिस कोठालाई हात हल्लाउँदै खतिवडा राजधानीतर्फ लागेका थिए ।