अभियान्ता पोखरेल र शिक्षाप्रेमी अध्यक्ष खड्का सम्मानित « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

अभियान्ता पोखरेल र शिक्षाप्रेमी अध्यक्ष खड्का सम्मानित


यलम्वर टाइम्स
२४ आश्विन २०७५, बुधबार ०८:२५

अर्जुनधारा । शिक्षक संगठन अर्जुनधाराले सामाजिक अभियान्ताको रुपमा अगाडि बढ्दै गरेका पत्रकार कमल पोखरेल र शिक्षासेवी वडाध्यक्ष भैरव खड्कालाई बुधबार एक समारोहबीच सम्मान गरिएको छ ।

नगर क्षेत्रका शिक्षकहरुबीच शुभकामना आदन–प्रदान कार्यक्रममा नेपाल शिक्षक महासंघ अर्जुनधाराले ती दुईलाई प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाको बाहुलीबाट सम्मान गरिएको हो ।

अभियान्ताको रुपमा परिचित पत्रकार कमल पोखरेलले विभिन्न दाता महानुभावहरुलाई अर्जुनधारा नगर क्षेत्रका विद्यालयहरुका असाहय विद्यार्थीहरुलाई कपि, कलम, व्याग र विद्यालय पोशाक प्रदान गर्न उल्लेखनीय भूमिका खेलेको भन्दै सम्मान गरिएको थियो ।

महासंघ अध्यक्ष पुण्य सुवेदीले स्थानीय सरकार र शिक्षकहरुले गर्ने काम युवा अभियान्ता कमल पोखरेलले गरेको हुँदा उनलाई सम्मान गरिएको हो ।

त्यसरी नै नगरका अरु वडाहरुमध्ये सबैभन्दा बढी शिक्षामा बजेट विनियोजन गरेर शिक्षामा लगनशिलता र शिक्षा प्रेमी भइदिएको भन्दै वडा नं. ११ का वडाध्यक्ष भैरव खड्कालाई सम्मान गरिएको अध्यक्ष सुवेदीले बताएका थिए ।

शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख अतिथि रानाले शिक्षक नगरकै मेरुदण्ड भएको हुँदा योग्य नागरिक निर्माणमा अह्म भूमिका खेलिनुपर्ने बताए ।

त्यतिमात्र होइन, नगरका सबै प्रअको काँधमा उत्तिकै जिम्मेवारी र लगनशिलता रहेको हुँदा अब आउने बजेटले शिक्षालाई प्राथमिकताका साथ अगाडि लाने बताए ।

प्रमुख अतिथि रानाले अगाडि भने, राज्यले प्रदान गर्ने कार्यमा नगर कन्जुस्याँई गर्ने छैन । तपाई प्रअहरु योग्य नागरिक निर्माण गर्न नचुक्नुस् भन्दै बडादशैंको शुभकामना प्रदान गरेका थिए ।

कार्यक्रममा शिक्षा प्रमुख जानुका गुरागाईं, अनेशिसका जिल्ला अध्यक्ष कपिलदेव तिम्सिना लगायतले शिक्षालाई सहयोगसँगै निगरानीको आवश्यकता रहेको बताए ।

कार्यक्रममा सम्मानित अध्यक्ष खड्का र पोखरेलले आउने दिनका विषयमा अझ सक्रियता रहने बताए ।

कार्यक्रममा प्रअहरु इन्द्रप्रसाद उप्रेती, खड्ग गोले, कृष्णप्रसाद भट्टराई, रामकुमार अछामे, रुपक दाहाल, रुद्रप्रसाद खतिवडा, रञ्जीत परियार, टंक आचार्य, भक्ता खतिवडा, तारा विक, चन्द्र खत्री, विद्यालय–कर्मचारीकातर्फबाट रुद्र पौडेल, टंक बस्नेत, वडा नं. ८ का अध्यक्ष गोपीचन्द्र गौतम, सामाजिक विकास समितिका संयोजक दिलीप गुरुङ लगायतको आतिथ्य रहेको थियो ।

महासंघ अध्यक्ष पुण्य सुवेदीको सभापतित्व र स्वागत उपाध्यक्ष गीता अधिकारीले गरेको सञ्चालक पुण्य बरालले बताए ।