दीगो विकासका लागि पूर्वमन्त्री र सांसदहरुसँग अर्जुनधारा नगरपालिका « Yalambar Times
१ जेष्ठ २०८१, मंगलवार

दीगो विकासका लागि पूर्वमन्त्री र सांसदहरुसँग अर्जुनधारा नगरपालिका


यलम्वर टाइम्स
१० कार्तिक २०७५, शनिबार ०२:४५

अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले दीगो विकासका लागि पूर्वमन्त्रीहरु र सांसदसँग अन्तरक्रिया गर्दै विकासका गतिविधिमा सहयोग गर्न आग्रह गरेको छ ।

नगर सभाकक्षमा बिहीबार नगर क्षेत्रमा भइरहेका विकासका गतिविधिबारे अवगत गराउँदै नगर प्रमुख हरिकुमार रानाले उक्त छलफल अगाडि बढाएका हुन् ।

उनले नगर गौरवका लागि महानन्द चोकमा अर्जुनधाराको पहिचान रहने गरी प्रवेशद्वार, शनिश्चर बजार भरी स्ल्याब ढलाई गरी सुन्दर सफा बजार बनाउने, दुर्गा मन्दिर नजिक कृष्णले रथ हाकेको अर्जुनको प्रतिमा निर्माण गर्ने, सामुदायिक भवन नजिक परापूर्वक कृषकले गाडागोरु कुदाएको प्रतिमा बनाउने जानकारी गराएका थिए ।

रानाले सुर्ती हट्टीमा गाडी पार्किङ, रेडक्रस नजिक सब्जी बजार, गोसखानमा व्यवस्थित मासु बजार र जलेश्वरधामको बीच पोखरीमा अर्जुनले वाण हानी निकालेको पानी पिउँदै गरेको गाईको प्रतिमा रहने जानकारी गराए ।

उनले अर्जुनधारा–१ सिंहदेवी माविमा कक्षा ९ बाट प्राविधिक पशु शिक्षा, शनिश्चरे माविमा इलेक्ट्रिकल शिक्षा, महारानीगञ्ज मावि सालबारीमा कृषि शिक्षा, कालिस्थान माविमा इलेक्ट्रोनिक शिक्षा, अर्जुनधारा माविमा कृषि शिक्षा, भानु माविमा सिभिल इन्जिनीयरिङ शिक्षा, जनता माविमा पशु शिक्षाको कक्षा सञ्चालन गर्ने योजना गरेको बताएका थिए ।

यी नगरका योजना सम्पन्न गर्नका लागि यस क्षेत्रका अग्रज राजनीतिज्ञ पूर्वमन्त्री, पूर्व सांसदहरुको सहयोग रहने आशा व्यक्त गरेका थिए ।

अन्तरक्रियामा पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले योजना अनुसारको काममा आफ्नो सहयोग रहने बताए । विकासको काममा नगरलाई अगाडि बढाउन आफूलाई अनुरोध गरे आफू सक्रिय हुने समेत जनाए ।

अर्का पूर्व वन मन्त्री बीरमणि ढकालले नगरका हरेक विकासमा जनताको निगरानी हुन जरुरी रहेको बताउँदै दीगो विकास नगरको भविष्यसँग जोडिने भएको हुँदा आफ्नो साथ रहने जानकारी दिए ।

पूर्व सांसद प्रेमबहादुर गिरीले फराकिलो सोच र स्थायीत्व विकासको लागि आफ्नो साथ रहने बताउँदै महानन्द चोकमा राखिने प्रतिमा मध्ये राष्ट्रिय विभूतिलाई बिर्सन नहुने सुझाव दिए ।

सोही दिन शनिश्चरे–खुदुनाबारी सडकको विषयमा समेत अन्तरक्रिया भएको थियो ।

अन्तरक्रियामा शनिश्चरेबाट खुदुनाबारीसम्मको ९ किलोमिटर बाटोको विषयमा गम्भीर छलफल भएको थियो ।

पूर्व सांसद प्रेमबहादुर गिरीको पहलमा बाटो निर्माण योजना परेतापनि चित्त बुझ्दो बाटो बन्नमा शंका उत्पन्न भएको हुँदा जनताको निगरानी जरुरी रहेको अन्तरक्रियामा उठेको थियो ।

अन्तरक्रियामा जिल्लाका प्राविधिक प्रमुख सुशिल श्रेष्ठसँग बाटोको डिजाइन बारे छलफल भएको थियो ।

शहरी विकास बोर्डबाट ठेकेदार फुतेम्बा तामाङले शनिश्चरेबाट ९ किलोमिटर खुदुनाबारीसम्मका लागि १२ करोड ७० लाखमा उक्त ठेक्का लिएका थिए ।

केही महिना अघिबाट काम सुरु भएतापनि भने जस्तो कार्य नभएको हुँदा उपस्थितहरुले अन्तरक्रियामा बाटो निर्माणमा निगरानीको पाटो बलियो बनाउनुपर्नेमा जोड दिएका थिए ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको कार्यक्रममा ठेकेदारबाट काम तिव्र गतिमा भएतापनि सरोकारवालालाई बेवास्ता गरी अगाडि बढाइएको हुँदा लापरवाही भएको खुदुनाबारी वासीले आवाज उठाएका थिए ।

सोही विषयलाई लिएर शुक्रबार भएको छलफलमा खुदुनाबारी निवासी सीएन सापकोटाको संयोजकत्वमा ११ सदस्यीय सडक अनुगमन व्यवस्थापन समिति निर्माण भएको छ ।

समितिको सदस्यमा पूर्व सांसद प्रेमबहादुर गिरी, योगेन्द्र आचार्य, पुण्य ओझा, बाबुराम बुढाथोकी, तुलसी खतिवडा, इश्वर खवास, राजेश जवेगु, सरस्वती सिटौला, मदन बुढाथोकी र उत्सव ढकाल रहेका छन् ।

अन्तरक्रियामा वडाध्यक्ष जीवनकुमार भण्डारी, गजाधर खतिवडा, रघुनाथ खनाल, लोकनाथ गौतम, गोपीचन्द्र गौतम, योगेन्द्र आचार्य, तुलसीप्रसाद खतिवडा, इश्वर खवास, सीएन सापकोटा आदिले आफ्नो भनाई राखेका थिए ।

सोही दिन मदन भण्डारी लोकमार्गको विषयमा पनि छलफल भएको थियो । छलफल कार्यक्रममा चुरे संरक्षण कार्यक्रम चलिरहेको बेला मदन भण्डारी मार्गका विषयमा बाटो बन्दा चुरे क्षेत्र कति संरक्षण हुन सक्ने, कति बिनास हुने विषयमा पूर्व मन्त्री बुढाथोकी र पूर्व वन मन्त्री ढकाल र सांसद गिरीले आ–आफ्नो विचार प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रशासकीय प्रमुख पंकज भुर्तेल लगायत अन्य वडाध्यक्ष, वडा सदस्यहरुको समेत उपस्थिति रहेको थियो । उपस्थितहरुलाई उपप्रमुख कमला आचार्यले स्वागत गरेकी थिइन् ।