अर्जुनधारामा हात्तीलाई छेक्न राखेको तारबाट करेन्ट लाग्दा श्रीमतीको मृत्यु « Yalambar Times
५ जेष्ठ २०८१, शनिबार

अर्जुनधारामा हात्तीलाई छेक्न राखेको तारबाट करेन्ट लाग्दा श्रीमतीको मृत्यु


यलम्वर टाइम्स
१० कार्तिक २०७५, शनिबार ०३:१८

अर्जुनधारा । अर्जुनधारा–४ दहिझोडा स्थित हात्तीलाई छेक्न राखिएको तारबाट करेन्ट लाग्दा २५ वर्षीय एक महिलाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट आक्रान्त दहिझोडावासीहरु हात्तीबाट बच्न घर वरिपरी तार राखी करेन्ट छाड्ने गर्छन् । त्यही करेन्टमा परि स्थानीय अनसा लिम्बूको मृत्यु भएको ईलाका प्रहरी कार्या बिर्तामोडले जनाएको छ ।

उनका श्रीमान भक्तबहादुर शेर्माका अनुसार जंगली हात्तीको आक्रमणबाट बच्न आफ्नो घर वरिपरी करेन्टका तार राखेको थिएँ । विहीबार राति घरबाट बाहिर निस्कने क्रममा श्रीमतीलाई त्यही तारले करेन्ट लागेको थियो । करेन्ट लागेर लडेकी अनुसालाई बचाउन उनकी बहिनी सुस्मिता समेत घाइते भएकी थिइन् ।

दुवै जना घाइते भएपछि उपाचारार्थ बिर्तामोडस्थित बीएण्डसी टिचिङ अस्पतालमा उपचार गर्दा गर्दै अनुसाको मृत्यु भएको थियो । उता बहिनी सुस्मिताको उपचार भने चलिरहेको प्रहरीले जनाएको छ ।

यसरी नै हात्ती छेक्नका लागि करेन्टको तार लगाएर राखीको ठाउँमा केही वर्ष अघि खुदुनाबारीमा एक सुत्केरी महिलाको पनि मृत्यु भएको थियो भने दहिझोडामै दाउरा खोज्न गएका चार जना दाउरेहरुको पनि केही वर्ष अघि हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

भारतको आसामबाट बाहुनडाँगी हुँदै जुकेखाडी र दहिझोडा जंगलको बीचमा रहेको दमारमा उक्त हात्तीको बासस्थान रहने गरेको छ । साँझ परेपछि दमारबाट आहारा खोज्नका लागि खुदुनाबारी, दहिझोडा हुँदै भाङबारीसम्म हात्ती आउने गर्छन् ।

त्यस समयमा अन्न नभेटेपछि घरलाई समेत आक्रमण गरी अन्न खाने गरेको वडा नं. ४का वडाध्यक्ष दुर्गा दाहालले यलम्वर टाइम्सलाई बताए ।

केही महिना अघि मात्र अर्जुनधारामा सञ्चारकर्मी गणेश थापाको घर भत्काएर अन्न खाइदिएको थियो भने अर्जुनधारा–७ स्थित भुजेल थरका एक स्थानीयको घर भत्काएर अन्न खाएको स्थानीयहरुले जानकारी दिए ।

यसरी नै अर्जुनधारा–५ स्थित बैसाबारीमा कही महिना अगाडि भरत भण्डारीको घर भए भत्काई दिनुका साथै स्थानीय किसानहरुको उखुबारी समेत नष्ट गरिदिएको वडाध्यक्ष ध्यानबहादुर भारतीले जानकारी दिए ।